आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – म्याग्दी प्रवासी नेपाली संघ (मोना) को अन्तर्राष्ट्रिय कार्यसमितिको तेस्रो साधारण सभा पोर्चुगलमा हुने भएको छ ।

आगामी अक्टुबरको २१ र २२ तारिख पोर्चुगलको लिसबोन सहरको साना लिसबोआ होटलमा हुने साधारण सभाका लागि मोनाका उपाध्यक्ष योगकुमार फगामीको संयोजकत्वमा साधारण सभा मुल आयोजक समिति गठन गरिएको छ । आन्तरिक तैयारीका लागि भने मोना पोर्चुगललाई जिम्मेवारी दिईएको छ ।

साधारण सभामा पाँचै महादेशबाट म्याग्देलीहरुको उत्साहजनक सहभागिता रहने बताईएको छ । साधारण सभाको तैयारीलाई विभिन्न ढंगले तिब्र पारिएको संयोजक फगामीले समुद्रपारिलाई बताउनुभयो ।

साधारण सभाका लागि जापान, कोरिया, हङकङ, मकाउ लगायतका एशिएन मुलुकहरुबाट समेत उल्लेख्य प्रतिनिधिहरुको सहभागिता हुन गईरहेको मोनाका एशिया प्यासिफिक संयोजक ददिवल खड्काले जानकारी दिनुभयो ।

साधारण सभामा जिल्लाबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसद तथा मन्त्रीहरु, उद्योग वाणिज्य संघका पदाधिकारी, राष्ट्रिय जीवनमा ख्यातीप्राप्त जिल्लाका बुद्धिजीवी, समाजसेवीहरुलाई अतिथिकारुपमा बोलाईने भएको छ भने जिल्लाका पत्रकारहरुका साथै प्रतिभावान कलाकारहरुलाई समेत सो साधारण सभामा साँगीतिक कार्यक्रमका लागि निम्त्याईने भएको छ ।

तुलनात्मकरुपमा म्याग्देलीहरुको संख्या युरोपमा बढि भएकोले पोर्चुगलमा साधारण सभा गर्न लागेको अध्यक्ष चक्रबहादुर थापाले बताउनुभयो । अन्य वर्षहरुमा पनि अनुकुलता हेरी विभिन्न मुलुकमा साधारण सभाको आयोजना गरिने मोनाले नीति लिएको छ, महाधिवेशन भने जिल्लामै गरिने बताईएको छ ।

गत वर्षको अक्टोबरमा म्याग्दीको दरबाङ बजारमा भएको दोस्रो महाधिवेशनले न्युजिल्याण्डमा ब्यवसायरत थापाको नेतृत्वमा मोनाको अन्तर्राष्ट्रिय कार्यसमिति गठन गरेको हो ।***

तपाईको प्रतिक्रिया