Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – सरसफाइको कमी, दूषित खानाले पेटमा परजीवीले प्रवेश गर्छ । धेरै बालबालिकाको पेटमा जुका पर्नुको कारण पनि यही हो । तर, कहिलेकाहीँ सरसफाइको अभावमा ठूलै मानिसको पेटमा पनि जुका पर्न सक्छ । त्यसैले जुका जोसुकैलाई पर्न सक्छ ।

जुकाका प्रकार
– पेटमा विभिन्न प्रकारका जुका पर्छन् । जस्तो कि– राउन्ड वर्म, थ्रेडवर्म, टेपवर्म, पिनवर्म, हुकवर्म, जिआर्डिया आदि । जुकाले बिरामीले खाएको खानाको पोषण खाइदिन्छ । जसले गर्दा मानिसले जति खाना खाए पनि दुब्लो र कमजोर हुन्छ ।
– यस्तो रोगको लामो समयसम्म उपचार नगरे एनिमिया, कुपोषण, एलर्जी तथा छारे रोगको अधिक सम्भावना हुन्छ ।

यसरी पर्छ
जुकाहरू सानो आन्द्रामा बस्छन् । फर्टिलाइजेसन (गर्भाधान) गरेपछि पोथी जुकाले लाखौँको संख्यामा फुल पार्छन् । जुन फुल मानिसको दिसाबाट बाहिर आउँछ । दुईदेखि तीन सातासम्ममा यी फुल सक्रिय लार्भा बनिसक्छन् । मानिसले जुकाको फुल खाएपछि उसमा समस्या हुन्छ । जुका पेटभित्र पर्ने होइन, बाहिरी खानाको माध्यमबाट पेटसम्म पुग्ने हो । जुकाका फुल सानो आन्द्रामा विकसित हुन्छन् र गतिशील लार्भामा परिणत हुन्छन् । सानो आन्द्राको भित्तालाई छेडेर रगतको नलीमा पस्छन् र दाहिनेपट्टिको मुटुमा पुग्छन् । त्यसपछि पुनः फोक्सो हुँदै घाँटीमा आइपुग्छन् । त्यसपछि अन्ननली र अमासय हुँदै पुनः सानो आन्द्रामा पुग्छन् । यसरी जुकाको जीवनचक्र चलिरहन्छ ।

के खाने ?
स्वच्छ सफा र पौष्टिक खाना खानुपर्छ ।
तरकारी र फलमा करेला, परवल, लौका, काँचो मेवाको तरकारी, बेथुको साग, पुदिना, प्याज, गोलभेंडा, गाजर, अमला, स्याउ, पाकेको अम्बा, आलुबखडा, केरा, भुइँकटहर, काँचो नरिवल र नरिवलको पानीको बढी प्रयोग गर्नुपर्छ ।

के नखाने ?
तारेको र भुटेको परिकारको सकेसम्म प्रयोग गर्नु हुँदैन ।
बासी खाना पनि खानु हुँदैन ।
बेसनबाट बनेका परिकार मिठाई, चकलेट, चिनी नखाँदा राम्रो हुन्छ ।
कारण
नङ टोक्ने, हात राम्रोसँग सफा नगरी खाने, भुइँमा झरेको टिपेर सफा नगरी खाने, सलादलाई नपखाली खाने गरे जुका पर्छ ।
त्यस्तै, नाक कोट्याउने, औँला मुखमा हालिराख्ने, माटो खाने, मासुलाई राम्रोसँग नपकाई खाने, बढी गुलियोको प्रयोग गर्ने बानीले पनि जुका पर्ने सम्भावना हुन्छ ।

लक्षण
पेट दुख्नु
पखाला लाग्नु
अपच हुनु
वाकवाक लाग्नु, बान्ता हुनु
ज्वरो आउनु, खोकी लाग्नु
टाउको दुखिरहनु
तौल घट्नु, दुब्लाउँदै जानु
अनुहार पहेंलो देखिनु
मलद्वार चिलाउनु
आँखा वरिपरि कालो घेरा हुनु
अत्यधिक भोक लाग्नु
पेट ठूलो र कडा हुनु
निद्रामा दाँत किटकिटाउनु
ओछ्यानमा पिसाब गर्नु, पिसाब सेतो भएर जम्नु
जिउ भारी हुनु, हातखुट्टा चिसो हुनु
स–साना कुरामा रुनु कराउनु

रोकथाम
– फोहोर तथा दूषित माटोमा खेल्दा बालबालिकाको हातमा जुकाको फुल टाँसिन्छ र पछि मुखमा औँला राख्दा भित्र जान्छ । त्यसैले घरमा बालबालिकालाई सफासुग्घर राख्ने गर्नुपर्छ ।
– खाना खानुअघि साबुन–पानीले हात राम्रोसँग धुने गर्नुपर्छ ।
– सकेसम्म भुइँमा झरेको खाना खानु हुँदैन । खाइहाले पनि राम्रोसँग सफा गर्नुपर्छ ।
– नियमित रूपमा हातको नङ काट्ने गर्नुपर्छ । ताकि नङमा फोहोर जम्मा हुन नपाओस् ।
– जहाँ पायो त्यहीँ दिसा–पिसाब गर्नुहुँदैन ।
– जहिले पनि पानीलाई उमालेर र फिल्टर गरेर मात्र प्रयोग गर्नुपर्छ ।
– भान्छाकोठाको सफाइमा विशेष ध्यान पु¥याउनुपर्छ ।
– खाद्य तथा पेयपदार्थलाई झिँगाबाट बचाउनुपर्छ ।
– परिवारमा कसैलाई जुका परेमा सबैको उपचार गर्नुपर्छ ।
– पेट सफा राख्नुका साथै कब्जियत हुन दिनु हुँदैन ।
– जुका हेर्दा सामान्य लागे पनि कहिलेकाहीँ यसले घातक रोग निम्त्याउन सक्ने भएकाले यसबाट सबै सजग हुन आवश्यक छ ।
– समय–समयमा दिसाको परीक्षण गर्दा पनि यसबाट बच्न सकिन्छ ।

तपाईको प्रतिक्रिया