Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – के हो बुत्थान ?
दक्षिण एसियाको परम्परागत ध्यान र मार्सल आर्टस्को विकसित स्वरूप हो, बुत्थान । आत्मरक्षा, लडाइँको अन्त्य र निर्माण यसको लक्ष्य हो । गहन अनुशासनको माध्यमबाट शारीरिक, मानसिक र आध्यात्मिक सन्तुलन कायम राख्दै आफ्नो व्यक्तित्व निर्माण गर्न यसले सघाउ पुर्‍याउँछ । आधुनिक बुत्थानका संस्थापक बंगलादेशी ग्रान्डमास्टर आचार्य युरी बज्रमुनीका अनुसार मनोवैज्ञानिक शक्ति, आत्मबल, स्वस्थ जीवनशैली र सफल जीवन यसको लक्ष्य हो ।

४० भन्दा बढी मार्सल आर्टस्को ट्रेनिङ गरिसकेपछि दक्षिण एसियाको परम्परागत मार्सल आर्टस्लाई व्युँताउने उद्देश्यले बज्रमुनीले बुत्थानलाई नयाँ स्वरूप दिएका थिए । यो खेलले अहिले बंगलादेशको राष्ट्रिय खेलकुद परिषद्बाट मान्यता पाएको छ र उक्त देशमा विभिन्न प्रतिस्पर्धासमेत सञ्चालन भइरहेको छ ।

आधुनिक बुत्थान खेलमा बर्मा कलाई, बान्डो, बज्रमुस्ती, तिब्बतियन तथा चिनियाँ केम्पो, मिङ जिङ, कलारीपायाटु, लाठी–खेलालगायतका पूर्वी तथा दक्षिण एसियाका परम्परागत खेलका कौशल समावेश गरिएको छ । भारतीय, बर्मेली तथा तिब्बतियन हतियार कला पनि यसमा सिकाइन्छ ।

यद्यपि, यो सबै आत्मरक्षाका लागि हो । ‘बुत्थानको मुख्य उद्देश्य लडाइँ अन्त्य गर्दै शान्ति स्थापना गर्नु हो । आत्मरक्षा र शारीरिक तन्दुरुस्तीका लागि विशिष्ट कला र कौशलको परीक्षा दिनुपर्छ ,’ संस्थापक ब्रज्रमुनी भन्छन् ।

बुत्थान अभियानको लक्ष्य दिमागको शक्तिले शरीरमाथि नियन्त्रण राख्नु हो । यस्तो अवस्थामा जीवनमा आउने चुनौतीलाई पार लगाउनका लागि सबै सधैँ अनुशासित तवरले तयार रहन्छन् । यसका लागि साधकले कडा परिश्रम र गहिरो ध्यान गरेका हुन्छन् ।

त्यसैले यो खेल मात्रै नभएर एउटा अभियान हो । अन्य प्रतिस्पर्धात्मक मार्सल आर्टस्का विधाले प्रतिस्पर्धा र पदकमा जोड दिन्छन् भने यसले आध्यात्मिक पक्षलाई प्राथमिकतामा राख्छ । बुत्थान मार्सल आर्टस्को प्रशिक्षणले मानिसको शरीरको चक्र, शक्ति केन्द्र र सप्तधातुको सन्तुलनमा जोड दिन्छ । प्लाज्मा, ब्लड, मसल्स, फ्याट, बोन, बोनम्यारो र वीर्यलाई सन्तुलनमा राखेर ‘प्राण’ अर्थात् जीवन जगाउने भारतीय आध्यात्मिक कलामा यस अभियानले जोड दिन्छ ।

जब मानिसको शरीरको भित्री क्षमताले तनाव सहन सक्दैन, त्यतिवेला मानिसको शरीरको प्रतिरोध क्षमता कमजोर बन्छ । बिस्तारै सिस्टम कमजोर हुँदै जाँदा मानिस बिरामी पर्छ र विभिन्न रोग देखिन्छन् । बुत्थान मार्सल आर्टस्ले कसरी तनाव कम गर्ने, दिमागलाई शान्त गर्ने र सचेत राख्ने भन्ने विषयमा प्रशिक्षण दिन्छ ।

सही रक्तसञ्चारले शरीरका अंगहरूले प्रभावकारी ढंगले काम गर्छन् । जसका कारण शरीरलाई कीटाणुरहित बनाएर मानिसको आन्तरिक, शारीरिक तथा मानसिक क्षमतालाई बलियो बनाउन सकिन्छ । बुत्थान सिस्टमको एडभान्स ट्रेनिङमा प्रेसर प्वाइन्ट किलिङ र हिलिङसम्बन्धी ज्ञान दिइन्छ । यसको उद्देश्य आफ्नो मस्तिष्कलाई कसरी नियन्त्रणमा राख्ने भन्ने हो ।

इमानदारीको विकास
मानिसलाई कसरी इमानदार बनाउन सकिन्छ भन्ने विषयमा पनि यस अभियानले जोड दिन्छ । अनुशासन, नैतिक मूल्य मान्यता, मानसिक शारीरिक फिटनेस, प्रतिबद्धता र ध्यानको माध्यमले युवा शक्तिलाई इमानदार बनाउँदै ड्रग्स, अल्कोहल तथा अनैतिक क्रियाकलाप न्यूनीकरण गर्ने र शान्त समाज निर्माण गर्ने यसको लक्ष्य हो ।

महत्वपूर्ण पक्ष

बुत्थानले आफ्नो लक्ष्यप्राप्तिका लागि तीन कुरामा जोड दिन्छ – खेल, आत्मरक्षा र सफल जीवन । यसका लागि ५ प्रकारको प्रशिक्षण हुन्छ :

१. ध्यान
यसमा तपस्या र मिन जिनमार्फत मानसिक र आध्यात्मिक विकासमा जोड दिइन्छ ।

२. आत्मरक्षा
यसमा शारीरिक पक्ष र हतियारको अनुशासित प्रयोगलाई ध्यान दिइन्छ । लाठी, तरबार र रस्सी कला
यसअन्तर्गत पर्छन् ।

३. शास्त्र
सिद्ध औषधि र चोटहरूको कसरी उपचार गर्ने भन्ने विषय यसअन्तर्गत पर्छ ।

४. शरीर चक्र
स्ट्रेच र योगामार्फत शरीरको लचकता तथा मसल्सको क्षमता बढाउने कुरामा जोड दिइन्छ ।

५. कौशल विद्या
यस विद्याअन्तर्गत लक्ष्यप्राप्तिमा ध्यान केन्द्रित गर्न र त्यसलाई हासिल गर्न मस्तिष्कलाई कसरी तयार गर्ने भन्ने सिकाइन्छ ।

तपाईको प्रतिक्रिया