बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

टोकियो – गैरआवासीय नेपाली संघ (NRNA) को यहि जुन १६ र १७ मा विज्ञ सम्मेलन हुने भएको छ ।

अमेरिकाको सान फ्रान्सिस्कोमा हुन लागेको दुई दिवसीय विज्ञ सम्मेलनमा सहभागी हुन संघका अध्यक्ष भवन भट्ट लगायतको टोली शुक्रवार जापानबाट त्यस तर्फ प्रस्थान गरेको छ । टोलीमा संघका प्रवक्ता भूषण घिमिरे, आइसीसी सदस्यद्वय ओम गुरुङ र महेश श्रेष्ठ रहेका छन् ।

गैरआवासीय नेपाली संघले विदेशमा बस्ने नेपालीहरुको ज्ञान, सीप र अनुभवलाई नेपालको विकास एवं समृध्दिका लागि राष्ट्रहितमा प्रयोग गर्ने क्षेत्र र विधिको पहिचान गर्ने उद्देश्यले आगामी अक्टोबर १२ र १३ मा एनआरएन दिवसको अवसर पारेर नेपालमा हुन गईरहेको विज्ञ सम्मेलनको पूर्वतयारी स्वरुप सान फ्रान्सिस्को सम्मेलन हुन लागेको प्रवक्ता घिमिरेले समुद्रपारिलाई बताए ।

एनआरएन अमेरिकाको साधारण सभा सहित हुने विज्ञ सम्मेलनमा नेपाल सरकारका सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको प्रमुख अतिथिको रुपमा सहभागिता रहने बताईएको छ । यसैगरी सो सम्मेलनमा पूर्व अर्थ तथा परराष्ट्र मन्त्री डा. प्रकाशचन्द्र लोहनी तथा पूर्व पर्यटन राज्यमन्त्री रेवतीप्रसाद भूसालको पनि विशेष अतिथिका रुपमा सहभागिता रहने भएको छ । सम्मेलनमा एनआरएनएका अध्यक्ष भट्टसहित पूर्व अध्यक्ष तथा संरक्षक जीवा लामिछाने, उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्य, महासचिव डा. बद्रि केसी, नेपाल विज्ञ सम्मेलनका संयोजक डा. हेमराज शर्मा, आईसीसीका अन्य पदाधिकारीहरु लगायत विभिन्न देशका एनआरएनएका पदाधिकारीहरुको उपस्थिति रहने भएको छ । यसका साथै अमेरिकास्थित नेपाल सरकारका राजदूत, अवैतनिक तथा वाणिज्यदूतहरु र अमेरिका क्षेत्रका ख्याति प्राप्त व्यवसायी र बौद्धिक व्यक्तित्वहरूसहित करिब ५ सय जनाको सहभागिता रहने एनआरएन स्रोतले जनाएको छ ।

सम्मेलनमा विभिन्न मुलकमा कार्यरत नेपाली वैज्ञानिक, प्राविधिक, समाजसेवी, अनुसन्धानकर्ता, प्राध्यापक, विद्यार्थी, व्यवसायी र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरू सहभागी भएर नेपालको विकासका संभावना र चुनौतीका बारेमा छलफल गरिने कार्यक्रम छ ।

सम्मेलनले राष्ट्र निर्माणमा एनआरएनहरु साझेदार बन्नका लागि एक महत्वपूर्ण सेतुको रुपमा भूमिका निर्वाह गर्ने र मुलुकमा आर्थिक लगानी सँगै बौद्धिक लगानीको बाटो खोल्नेमा संघ विश्वस्त रहेको अध्यक्ष भट्टले बताए ।***

तपाईको प्रतिक्रिया