बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

राजनैतिक स्थिरता र आर्थिक समृद्धिको आकर्षक नारामा दुई तिहाई बहुमत हासिल गरेको सरकारले नीति तथा कार्यक्रम संगै आगामी आर्थिक वर्षको बजेट घोषणा गरिसकेको छ । बजेटका बारेमा विभिन्न कोणबाट थरिथरिका टिप्पणी भईरहेता पनि मुलतः आर्थिक समृद्धिलाई केन्द्रमा राखेर यो बजेट आएको देखिन्छ । देशभित्रै प्रशस्त रोजगारीका अवसर सिर्जना गरेर दैनिक सरदर दुई हजारका दरले बिदेश जाने नेपाली युवाहरुलाई देशभित्रै आकर्षित गर्न ब्यवहारिकरुपमै सरकार के कति सफल हुन्छ त्यो भने हेर्न बाँकी छ ।

जबसम्म समृद्धिलाई युवाहरुसंग जोड्न सकिदैन तबसम्म समृद्धि कागजमा मात्र सीमित रहन्छ । सुरक्षित रोजगारी, सहुलियत ब्याज दरमा ऋण, वैज्ञानिक कृषि जस्ता क्षेत्रमा युवाहरुलाई आकर्षित गर्न सके उनीहरुको उद्यमशिलतासंगै थप रोजगारीका अवसर सिर्जना हुन सक्दछन् । कुल अर्थतन्त्रको २९ प्रतिशत हिस्सा ओगट्ने रेमिट्यान्सले मुलुक धानिएको दृष्टान्तसंगै युवापुस्ता देशमै रोकिए मुलुकमा संकट आउन सक्ने मनोविज्ञान एकथरि मानिसहरुमा ब्याप्त देखिन्छ ।

समृद्धिको आधारशिला निर्माण गर्न देशमा रोजगारीको बजारलाई बिस्तार गर्न र युवाहरुमा उद्यमशिलता बढाउन अत्यन्त जरुरी छ । त्यसका लागि ऐतिहासिक अवसर प्राप्त सरकारको बजेटबाट आशातित सम्बोधन हुन नसके पनि केही आशाका किरणहरु भने अवतरित भएका छन् । मानसिक रूपमै विरक्तिएका युवापुस्तालाई देशमै अड्याउनु अहिलेको सरकारको प्रमुख कार्यभार हो । गाउँ गाउँमा युवाहरुलाई उत्पादनसंग जोडेर बिकासे अभियानमा संलग्न बनाउन राज्यको एक पटकको मात्र नीति तथा कार्यक्रमले पर्याप्त हुँदैन । यति हुँदाहुँदै पनि विदेशबाट फर्केका केही युवाहरुले आफ्नै लगानीमा कुनै न कुनै रुपमा उद्यमशिलताको जाँतो घुमाउन शुरु गरिसकेका छन् र झिनो आशाको सञ्चार प्रवाह गरेका छन् । यसै मेसोमा देशमै कुनै उद्यमको खाका कोर्न सक्ने जाँगरिला युवाहरुले राज्यबाट ऋण लिएरै भए पनि विदेशिन नपर्ने अवस्थाको सुरुवात गर्न सक्नुपर्दछ ।

उसो त वैदेशिक रोगजारीमा जानेको संख्यामा ३९ दशमलव २० प्रतिशत गिरावट आएको पछिल्लो सरकारी तथ्याङ्कले स्थिर सरकारसंग केही आशा र अपेक्षा बढाएको छ । सरकारले ल्याएको कार्यक्रममा शैक्षिक प्रमाणपत्रका आधारमा ऋण, कृषिमा उद्यम गर्न चाहनेलाई विभिन्न शीर्षकमा अनुदान सहयोग जस्ता कार्यक्रम परेका छन् । यतिले मात्रै बिदेश मोहमा लालायित नेपाली सँस्कारमा हुर्केका युवाहरुलाई तत्कालका लागि देशभित्रै आकर्षित गर्न सक्दैन ।
नेपालले वार्षिक १० अर्ब रुपियाँको त फलफूल मात्रै आयात गर्ने गरेको सरकारी आंकडा छ । त्यसैले नेपालको हावापानी र माटो सुहाँउदो जमिनमा फलफूल मात्र उत्पादन गर्न सकियो भने पनि बर्षेनी अर्बौ रुपियाँ बाहिर जान पाउँदैन । कृषिमा तरकारी खेती, फलफूल खेती, पशुपालन जस्ता क्षेत्रमा जबर्जस्त ब्यवसायिकरण तथा आधुनिकीकरण गर्न आवश्यक छ । यसका लागि युवाहरुलाई प्रोत्साहित र प्रशिक्षित गर्न सके विदेशमा रहेका युवाहरु पनि क्रमशः स्वदेश फर्कने लहर चल्न सक्दछ । समृद्धिलाई युवासंग जोड्न राज्यको आक्रामक नीति सर्बत्र अपेक्षित थियो ।

स्थिर सरकारले युवा पुस्तालाई स्वदेशमै बसुँ बसुँ लाग्ने बनाउन भाषण र नारा अनि कागजी घोषणापत्रले मात्रै पुग्दैन, तत्काल जनतामा डेलिभरी गर्न सक्नुपर्दछ । यस सम्बन्धमा हनिमुन पिरियड गुजारीसकेको सरकारले अनुभूत हुने गरी केही संकेत र आभास दिलाउन सक्नुपर्दथ्यो । देशका पचासौ लाख बलियाबाङ्गा जोश र जाँगर भएका युवा बिदेश निर्यात गरेर देशभित्र समृद्धि खोजेर अब हुँदैन । विदेशमा भएका नेपालीहरुमा पनि आफ्नो देश आफैले बनाउनुपर्छ भन्ने भावनाको बिकास हुनु जरुरी छ । राज्यलाई मात्र दोष दिएर मुलुक समृद्ध भएपछि मात्र स्वदेश फर्कने मानसिकतामा परिवर्तन आउन जरुरी छ । राज्यसंगै हातेमालो गरेर हरेक नेपालीको थोपा थोपा योगदानबाट मात्र समृद्धि संभव छ ।***

तपाईको प्रतिक्रिया