अहिले नेपाली बजारमा पहेला, लोभ लाग्दा अनि देख्दा मुख रसाउने आँप बिक्रिवितरण हुन सुरु भएको छ । नेपालमा सर्बाधिक रुचाइएको मालदह आँप पनि अहिले बजारमा छ्यापछ्याप्ती पाइन्छ । तर मालदह आँपको सिजन सुरु हुन अथवा मालदह आँप पाक्न अझै २-३ हप्ता जति बाकी छ ।
व्यापारिक अंकगणित प्रयोग गर्दा यदि १ महिना अगाडी मालदह आँप बजारमा निकाल्न सके प्रशस्त मुनाफा आउनेमा कुनै शंका छैन । यहि मुनाफाको हिसाब-किताबबाट आँप बगानका मालिकहरूले व्यापारीसँग मिलेर पाक्ने बेला नभएको आँपमा रसायन प्रयोग गरी राता-रात हरियो आँप पहेलो बनाएर बजारमा ओरालेका छन् । उपभोक्ताको मननै जित्ने कृतिम प्रविधि प्रयोग गरि पकाईएका रहरलाग्दा आँप धेरै उपभोक्ता हरुको भान्छाकोठामा पुगेको छ ।
फल-फुलहरु प्राकृतिक तरिकाबाट कसरी पाक्छ ?
प्राकृतिक तरिकाबाट पाकेका पहेला फलफुलहरु मानब स्वास्थ्यको लागि सर्बोतम फुड हो । फलफुलहरुमा प्रशस्त एन्टी(अक्शीडेन्ट, फाइबर, मिनरल्स अनि भाईटामिन हुने भएकोले यो स्वास्थ्यको लागि बरदान नै साबित भएको छ । जब फलफुल परिपक्क (अथवा पाक्ने समय) हुन्छ अनि यसले ईथिलिन (अथवा ईथिन) ग्यास उत्पादन गर्छ । वनस्पती बिज्ञानमा यो ग्यासलाई प्लान्ट हर्मोन भनिन्छ । ईथिलिन ग्यासको एक ओटा अणुमा दुई ओटा कार्बन र चार ओटा हाईड्रोजन हुन्छ ।
यो ग्यासले फलफुलमा भएको क्लोरोफिल (हरितकण) सग रासायनिक प्रतिक्रिया गर्छ अनि फलफुल हरियोबाट पहेलोमा परिबर्तन हुन्छ । ईथिलिनले फलफुलमा भएको एसिड सग रासायनिक प्रतिक्रिया गर्छ र एसिडलाई निस्कृय बनाईदिन्छ । एसिड निस्कृय भएपछि फलफुलबाट अमिलोपन हराउछ । यसैगरी ईथिलिनले फलफुलमा भएको स्टार्चलाई सुगरमा परिबर्तन गरिदिन्छ त्यसैले पाकेको फुलफुल गुलियो हुन्छ । ईथिलिनले फलफुलमा भएको कडा पेक्टिनको अणुलाई टुक्रा गरेर नरम बनाउछ र ठूला जैविक अणुहरु लाई टुक्रा गरेर सानो सुगन्धित अणुमा परिबर्तन गरिदिन्छ अनि फलफूल बाट सुगन्ध आउछ र यो अवस्थालाई फलफूल पाकेको भनिन्छ ।
फलफूल पकाउने कृतिम तरिका भनेको के हो?
कृतिम तरिकाले संश्लेषण गरिएको ईथिलिन ग्यासलाई सिमित मापदण्ड र बैज्ञानिक प्रबिधि सहि तरिकाले उपयोग गरेर परिपक्क हुन लागेको फलफुलको भौतिक र रासायनिक गुण परिबर्तन गर्ने प्रणालीनै फलफुल पकाउने कृतिम तरिका हो ।
अहिले बजारमा आएको आँप ईथिलिन ग्यास राखेर पाकेका हुन्?
होइन । नेपालमा अधिक मात्रा फलफूलमा (बिशेष आँप र केरा) प्रयोग गरिने रसायन क्याल्सियम कार्बाइड हो । क्याल्सियम कार्बाइड कल कारखानामा एसिटालिन ग्यास उत्पादन गर्न प्रयोग हुन्छ । क्याल्सियम कार्बाइड ग्यास वेल्डिङ गर्न र धातुहरु काट्न प्रयोग गरिन्छ । क्याल्सियम कार्बाइडमा आर्सेनिक, फस्फोरस, नाईट्राइड, सल्फाइड, सिलीकोन जस्ता हानिकारक रसायन पनि मिसिएको हुन्छ ।
क्याल्सियम कार्बाइड नेपालका हार्डओएर पसलमा सजिलै सस्तो मूल्यमा किन्न पाइन्छ । ग्राहकले किन्न जादा क्याल्सियम कार्बाइड दिनु भनेर माग्दैनन किन कि उनि हरुलाई यसको नाम प्राय थाहा हुदैन । त्यसैले ग्राहकले केरा पकाउने औषधि दिनुहोस् भन्छन अनि पसलेले क्याल्सियम कार्बाइड पोको पारेर चिसो बाट जोगाउनु भन्दै दिन्छ ।
क्याल्सियम कार्बाइडले आँप अथवा केरा कसरी पाक्छ?
क्याल्सियम कार्बाइड अत्यधिक सकृय रसायन हो । यो पानि सग अति संवेदनशील हुन्छ अथवा क्याल्सियम कार्बाइडलाई पानिमा राखीदिने हो भने अत्याधिक छिटो रासायनिक प्रतिक्रिया हुन्छ र एसिटालिन ग्यास उत्पादन गर्छ । अब मुख्य बुज्नु पर्ने कुरो आयो । यदि क्याल्सियम कार्बाइडलाई काचो केरा अथवा आँपमा राखिदिने हो भने काचो केरा अथवा आँपमा भएको पानिको मात्र सग यसले तुरुन्त रासायनिक प्रतिक्रिया गर्छ र एसिटालिन ग्यास निस्कन्छ । यहि एसिटालिन ग्यासले केरा अथवा आँपको भौतिक र रासायनिक गुण परिबर्तन गराईदिन्छ र आप अथवा केरा पाकेको अवस्थामा पुग्छ ।
उसो भए ईथिलिन ग्यास र एसिटालिन ग्यासमा के फरक छ त भनेर प्रस्न उठ्न सक्छ । माथि पड्नु भयो होला ईथाईलिन ग्यासको एक ओटा अणुमा दुई ओटा कार्बन र चार ओटा हाईड्रोजन हुन्छ तर एसिटालिन ग्यासको एक ओटा अणुमा दुई ओटा कार्बन र दुई ओटा हाईड्रोजन हुन्छ । फरक भनेको एसिटालिनमा ईथिलिन ग्यासमा भन्दा दुई ओटा हाईड्रोजन कम हुन्छ । यहि दुई ओटा हाईड्रोजन कम भएको हुदा एसिटालिन ईथिलिन भन्दा धेरै सक्रिय हुन्छ । एक लाईनमा लेख्नु पर्दा क्याल्सियम कार्बाइडले आप अथवा केरा पकाउने होइन । यसबाट निस्कने ग्यास एसिटालिनले हो फलफुल पकाउने ।
क्याल्सियम कार्बाइड प्रयोग गरेर पाकेका फलफूल खादा स्वास्थ्यलाई के असर गर्छ?
क्याल्सियम कार्बाइड प्रयोगगर्दा एसिटालिन ग्यास निस्कन्छ र यहि ग्यास ले फलफुल पाक्ने हो, यो थाहा पाउनु भो । अनि एसिटालिन ग्यास धेरै सक्रिय ग्यास हो यो पनि थाहा पाउनुभयो । तपाईहरुलाई थाहा होला फलफूलमा मिनरल्स हुन्छ । एसिटालिन सक्रिय ग्यास भएकोले यसले मिनरल्ससग रासायनिक प्रतिक्रिया गरेर एसिटालाइड बनाउछ । एसिटालाइड मानब स्वास्थ्यको लागि निकै हानिकारक रसायन हो । त्यतीमात्र होइन एसिटालिन ग्यासले मानब शरीरको स्नायु प्रणालीको तन्तुमा अक्सिजनको आपूर्ति कम गराउछ र मस्तिस्कमा हाईपोक्सिया हुन्छ । क्याल्सियम कार्बाइड क्यान्सर रोग उत्पन्न गराउने रसायन हो ।
यो प्रयोग गरेर पाकेका फलफुलमा फस्फोरस, नाईट्राइड, सल्फाइड, सिलीकोन, आर्सेनिक, एसिटालाइड जस्ता हानिकारक केमिकलको अस्तित्व रहीरहन्छ । यस्ता फलफुल खादा बान्ता हुने, छाती दुखने, घाटीमा घाऊ आउने, पेट पोल्ने, तिर्खा लाग्ने, निल्न गारो हुने, आखा पोल्ने, आखामा दिर्घकालिन क्षती हुने, अल्सर हुने, श्वासफेर्न गारो हुने जस्ता अनगिन्ति समस्याहरु देखा पर्छन । यदि अत्याधिक मात्रामा क्याल्सियम कार्बाइड प्रयोग गरेको फलफुल खाने हो भने फोक्शोमा तरल वा झोल पदार्थ जम्मा हुन्छ जसले गर्दा श्वास प्रश्वासमा ठुलो अबरोध श्रीजना गर्छ र मानब स्वास्थ्य जोखिममा पर्छ ।
लेखक :-
-डा. रघु नाथ (ओसिस) धिताल
-बैज्ञानिक (रसायनशास्त्र)
-ग्रीन शुस्मउत्प्रेरक अनुसन्धान केन्द्र, रिकेन, जापान