बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

भैरेलाई नेपालमै के नपुग्दो थियो र ? बाबु भारतीय सेनाका सुबेदारी पेन्सनर त्यसमाथि प्रशस्त जमिनजग्गा, गाउँमा सबैले जानेमानेको खानदानीको छोरा । दुवै दाजुहरु बेलायती गोरखा सैनिकमा । गाउँमै उसको फुर्तीफार्ती कसैको भन्दा कमी थिएन, आफुले कमाउन नपरे पनि उसको जीवनमा अभाव भनेको के हो कहिलै अनुभूति गर्नुपरेको थिएन ।

गाउँका दौतरीहरु धमाधम जापानी भाषा पढ्न विद्यार्थी भएर जापान लागेपछि उसलाई पनि गाउँ बिरानो लाग्न थालिसकेको थियो । उसलाई पनि एकदिन जापान आउने भुत चढ्यो । झोलाझिम्टी बोकेर उ राजधानी छिरयो, ६, ८ महिना जापानी भाषा सिकेपछि उसले पनि जापान आउनेमा नाम निकाल्यो । समय भएपछि उ जापान आईपुग्यो । नारिता बिमानस्थलबाट बाहिरिदैं गर्दा उसले जापानको अत्याधुनिक बिकास, समृद्धि र चिटिक्क मिलेका भवनहरु, ब्यवस्थित सफा सहर, त्यस्तै अनुशासित एवं सभ्य यहाँका मानिसहरु अवलोकन गर्दै गन्तब्यसम्म आईपुग्यो । नेपालमा छँदा सुनेको जापान र आफ्नै आँखाले देखेको जापानमा उसले आकाश पातालको फरक पायो । बिकास भनेको यस्तोलाई पो भनिदोंरहेछ उसले लख काट्यो ।

कलेज भर्ना, कोठाको बन्दोबस्ती, नयाँ पुराना साथीभाइबिच चिनाजानीमै उसको एक दुई हप्ता बित्यो । अब कामको खोजीमा उसको ध्यान केन्द्रित भयो । चिनेजानेका साथीभाइ मार्फत उसले कामको खोजीलाई तिब्र पार्यो । जता सोधे पनि भाषाकै कारण काममा अयोग्य हुनुपरेको अनुभूति गर्दै गयो । नेपालमा ६, ८ महिना पढेको भाषाले जापानमा काम पाउनका लागि खासै नपुग्ने रहेछ भन्ने उसले अनुभव गर्यो । मुश्किलले उसले यामातो (डेलिभरि कम्पनी) मा काम त पायो, तर सानैदेखि काम भनेपछि फिटिक्कै नगरेको बानी, अहिलेसम्म कसैको हप्कीदप्की खान नपरेको छोरो, बाबुको बिरासतमा पुलपुलिएर धानिएको अल्लारे जोवान उसलाई आफुलाई लाइनमा ल्याउन निकै गाह्रो हुँदै गयो । एकातिर कामको बोझ, अर्कोतिर कलेजको पढाई, त्यसमाथि आफैले जोहो गर्नुपर्ने सम्पूर्ण आर्थिक भार, जति नै गरे पनि समयको ब्यवस्थापनमा देखिने जटिलता आदिका कारणले उसको मनोबल गिर्दै जान थाल्यो । जसोतसो उसले ६, ७ महिना त गुजारा चलायो, तर उसका संगतका साथीहरुका कारण दुई वर्षसम्म भाषा पढेर थप दुई वर्ष सेन्मोन (भोकेशनल कोर्स) पढेपछि मात्र फुलटाईम काम गर्न पाउने लामो यात्रादेखि हरेस खाँदै गयो र यो चक्कर उसलाई मनमनै बेकार लाग्न थाल्यो । ठिक यस्तै बेला उसका सम्पर्कका साथीहरुले आफु जस्तै फाष्ट ट्रयाक समाउन सुझाव दिन्थे । जापान आउनुको उद्देश्य जसरी भएपनि पनि कमाउनु नै हो, न त २८ घण्टाको सीमित समयमा खुम्चिनुपर्ने, न कलेज धाउनको टण्टा, न टाउकै दुख्ने जापानी भाषा पढिरहनुको लण्ठा, न त कलेजको शुल्क नै तिर्नुपर्ने जस्ता सल्लाह दिन्थे । दिनदिनै एउटै कुरा सुन्दै गएपछि गलत सल्लाह पनि उसलाई ठिकैजस्तो लाग्दै जान थाल्यो र जे नहुनुपर्ने थियो उसले पनि एकदिन त्यही गलत निर्णय गर्न पुग्यो र उसले पनि आफुलाई शरणार्थीको लामबन्दीमा उभ्यायो । त्यसपछि उसको जीवनले नयाँ मोड लियो र उसको दैनिकी पुरै परिवर्तन भई कलेज जान छोडेर फरक धारमा हिड्न सुरु गरयो ।

तर उसलाई जापानको सम्बन्धित निकायले काम गर्न पाउने अनुमति भने दिईसकेको थिएन, उसको निवेदनउपर आवश्यक छानबिन र क्रमशः प्रक्रिया हुन बाँकी नै थियो, यद्यपि संगतकै कारण उसले लुकिछिपी काम गर्न थाल्यो । काम गर्ने क्रममा एकदिन उ सम्बन्धित निकायको निगरानीमा पर्न गयो । जापान सरकारको नियम कानुन उल्लङ्घन गरेर बिना अनुमति काम गरेको आरोपमा उसलाई हिरासतमा लिईनुका साथै नेपाल फिर्ता पठाउने तयारी भयो । जापान पाईला टेकेको वर्षदिन नपुग्दै जस्ताको तस्तै उसलाई एकदिन नेपाल फर्काइयो । जापान आउँदा बाबुले लगानी गरेको करीव १० लाखभन्दा बढि रुपैंया पनि गुमायो र जापानमा देखेको भविष्यका सारा अधुरा सपना बोकेर एक साँझ टुप्लुक्क घरमा पुग्यो । लामो सुस्केरा हाल्दै हतारमा गरिएको गलत निर्णयका कारण यस्तो नियती भोग्नुपरेकोमा पश्चाताप मान्दै त्यसबाट आफुले गतिलो पाठ सिकेको अनुभव अरुलाई सुनाएर चित्त बुझायो । जुन उद्देश्यका साथ जापान आएको थियो त्यो पुरा गर्नका लागि केही वर्ष संघर्ष गर्ने हिम्मत गर्न नसकेर गलत बाटो समाउनु नै आफ्नो गम्भीर गल्ती भएको निश्कर्षमा त पुग्यो तर ’लगनपछिको पोते’ भनिएझैं पहिलै आउनुपर्ने बुद्धि पछि आएकोमा भने भैरेले आफैलाई धिक्कार्दै यस्तो गम खायो – ’ढिलै हिडेको भए बरु लक्षमा पुगिदोंरहेछ हतारमा दौडन खोज्दा बिचैमा ठेस लागेर लड्न परयो, यस्तो गलत बाटो अरुले भुलेर पनि समाउन नपरोस।’ ***

तपाईको प्रतिक्रिया