आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – पछिल्लो समय युवा पनि मुटुरोगको सिकार भएका छन् । यसको कारण अव्यवस्थित जीवनशैली र यसका रिस्क फ्याक्टर मात्र जिम्मेवार छैनन् । तनाव र नकारात्मक विचार पनि यसको मुख्य कारण हो । नकारात्मक विचारले कसरी मुटुरोगको सिकार बनाउँछ त ? एक सामग्री :

नकारात्मक सोचले मुटुरोग

सकारात्मक सोच भएका व्यक्तिमा हृदयाघातको सम्भावना १३ प्रतिशत मात्र हुन्छ । जस्तोसुकै परिस्थितिमा पनि आफ्नो सोचाइलाई पोजेटिभ राख्न सकेमा स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ ।

यस्तो बानीले मुटुरोग लाग्ने सम्भावनालाई २५ प्रतिशतले कम गर्छ । विभिन्न अनुसन्धानले पुष्टि गरिसकेको छ कि नकारात्मक सोच्नेभन्दा सकारात्मक सोच्ने मानिसमा हृदयाघात र अन्य मुटुरोगको सम्भावना अत्यन्तै कम हुन्छ ।

कुनै पनि घटना भएमा मानिसले त्यसप्रति प्रतिक्रिया देखाउन थाल्छ । कतिपय घटना शरीरमा नकारात्मक भावना उत्पन्न गर्ने खालका हुन्छन् । यस्तो भावना उत्पन्न भएमा मानिसमा तनावको वातावरण सिर्जना हुन्छ । यही कारण मानिस निराश हुँदै डिप्रेसनमा समेत जान सक्छ ।

यस्तो परिस्थितिमा मानिसले बाहिर नबोले पनि मनमा नकारात्मक विचार खेलाउन थाल्छ, जसले नकारात्मक सोचको विकास गर्छ । यसले गर्दा मस्तिष्कको न्युरोमा विभिन्न रसायन उत्पन्न हुन्छ । जसमध्ये एड्रिनलिन हर्मोन मुख्य हो ।

जसले मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल हुनुका साथै रक्तसञ्चारमा अवरोध, मुटुको नलीमा ब्लकेजलगायतका अल्पकालीन तथा दीर्घकालीन समस्या निम्तिने गर्छ । मानिस अत्यधिक रिसाएको अवस्थामा हृदयाघात हुने सम्भावना पनि उत्तिकै हुन्छ ।

रिस्क फ्याक्टर

हृदयाघातको रिस्क फ्याक्टर भनेर मधुमेह, उच्च कोलेस्ट्रोल, मोटोपन, उच्च रक्तचाप आदिलाई लिइन्छ । मुटुरोग लागेर हस्पिटल पुग्ने ९५ प्रतिशतमा यस्ता रिस्क फ्याक्टरको कारण हुन्छ । र, ५ देखि १० प्रतिशतमा नदेखिने कारण हुन्छन् । तर, पछिल्लो समय यस्ता नदेखिने कारणको प्रतिशत बढ्दै गएको छ । र, नकारात्मक विचार, तनाव रिस्क फ्याक्टरको पनि हजुरबा हो ।

नकारात्मक विचारपछि

जो मानिसमा भावनात्मक समस्या छ, उसले धूम्रपान, मद्यपानको मात्रा बढाउन सक्छ । जसले गर्दा मधुमेह र ब्याड कालेस्ट्रोल पनि बढेर जान्छ । यस्ता मानिसले बढी खान थाल्छ ।

काममा जाँगर नचल्ने भएकाले शारीरिक निष्क्रियता हुन्छ । र, यसले मुटुरोगका रिस्क फ्याक्टरलाई पनि बढाउँदै लैजान्छ । त्यसैले नकारात्मक विचारबाट टाढा रहन आवश्यक हुन्छ ।

अवस्था

पछिल्लो समय प्रत्येक दिन हस्पिटलमा करिब १५ जना युवा मुटुको समस्या लिएर आउँछन् । उनीहरूको उमेर ३५ वर्षभन्दा कम हुन्छ । जसलाई उच्च रक्तचाप, कोलेस्ट्रोल, मुटुरोगको औषधि खानैपर्ने बाध्यता छ ।

कतिपयले चुरोट, मदिरा केही नखाने बताउँछन् । जीवनशैली पनि सन्तुलित राखेको उल्लेख गर्छन् । तर, यसमा केही डिफेक्ट फ्याक्टर छन् । त्यसमध्ये नकारात्मक सोच पनि प्रमुख हो ।

सल्लाह

युवाहरू नकारात्मक विचारको बढी सिकार हुन्छन् । आफ्नो कारणभन्दा पनि हाम्रो सामाजिक, पारिवारिक, पेसागत वातावरण हुन सक्छ । जस्तो कि सडकमा निस्कँदा कसैले ट्राफिक नियम उल्लंघन गरेमा नराम्रो सोच पलाउन सक्छ । तर, त्यतिवेला रिसाउँदा असर आफूलाई नै पर्छ ।

हामीले प्रत्येक कुरालाई नकारात्मक सोचले हेर्ने बानीमा परिवर्तन गर्नुपर्छ र सकारात्मक विचारको विकास गर्दै जानुपर्छ ।

एउटा भनाइ छ, ‘अरूलाई परिवर्तन गर्न जति गाह्रो छ, आफूलाई परिवर्तन गर्न त्यति नै सजिलो ।’ त्यसैले अरूको गल्तीको पछि दौडनु हुँदैन । सुधारको सुरुवात आफैँबाट गर्नुपर्छ ।

कहिलेकाहीँ मानिसले आफूलाई सत्य साबित गर्नका लागि कैयौँ तनाव लिइरहको हुन्छ । मानिस कहिल्यै पनि पर्फेक्ट हुँदैन । त्यसैले मानिसले अरू राम्रो छैन भन्दै नकारात्मक तरिकाले हेर्ने पनि गर्छ । तर, नेगेटिभ कुरामा पनि पोजेटिभ कुराको खोजी गर्नुपर्छ या अरूले गरेको गल्तीबाट पनि सिक्नुपर्छ ।

तपाईको प्रतिक्रिया