काठमाडौं – नेपाल आयल निगमले खाना पकाउने ग्यास बाहेक इन्धनको भाउ फेरि बढाएको छ । शनिबार राति १२ बजेबाट लागु हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३–३ रुपैयाँ भाउ बढाएको छ ।
यस्तै, हवाइ इन्धनमा आन्तरिकतर्फ ५ रुपैयाँ र अन्तर्राष्ट्रियमा प्रतिकिलोलिटर ७५ डलर वृद्धि भएको निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिनुभयो । खाना पकाउने एलपीजी ग्यासको मूल्य भने बढेको छैन ।
शनिबार रातिदेखि पेट्रोलको भाउ १ सय १३ रुपैयाँ पुग्नेछ भने डिजेल र मट्टीतेलका लागि भने अब उपभोक्ताले ९५ रुपैयाँ तिनुपर्नेछ । भारतीय आयल निगम (आईओसी) ले नयाँ मूल्यसूची पठाएसँगै नेपाल आयल निगमले मूल्य समायोजन गर्दै आएको हो । आईओसीले १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउने गरेको छ ।
निमगले अझै आफ्नो घाटा मासिक ३७ करोडभन्दा धेरै रहेको प्रवक्ता गोइतले बताउनुभयो । गएको १५ दिनको घाटा नै १८ करोड ६२ लाख पुगेको उहाँले जानकारी दिनुभयो ।
पछिल्लो पटक भारतीय बजारमा अन्य दक्षिण एसियाली राष्ट्रहरुमा भन्दा पेट्रोलियम पदार्थको मूल्य महंगो भएको भन्दै भारतीय जनता पार्टी नेतृत्वको सरकारको आलोचना हुँदै आएको छ । भारतीय बजारमा प्रतिलिटर पेट्रोललाई १२४ नेपाली रुपैयाँ तिनुपर्नेछ । त्यस्तै भारतीय बजारमा डिजेलको मूल्य प्रतिलिटर ११० नेपाली रुपैयाँ रहेको छ ।