काठमाडौं – हरेक आमा बुवाले आफ्नो शिशुको उत्कृष्ट हेरबिचार गरियोस् भन्ने चाहना राख्छन् । शिशुको स्वास्थ्यबारे अत्यधिक सचेत पनि हुन्छन् । यता परिवारका अन्य सदस्यद्वारा शिशुको हेरबिचारमा वर्षौं पुरानो तरिका अपनाउन खोजिन्छ । जो व्यक्ति पहिलो पटक आमाबुवा बनेका छन्, उनीहरुले शिशुसम्बन्धि विभिन्न भ्रम पालेका हुन्छन् । मानिसहरुको विभिन्न टिप्पणीका कारण पनि यस्तो भ्रम पैदा हुने गर्दछ । यी भ्रमका कारण उनीहरु शिशुहरुको इशारा वा उनीहरुको स्वास्थ्यलाई बुझ्न सक्दैनन् जसका कारण गल्ती हुने गर्दछ । यस्तोमा हरेक आमाबुवाले शिशुबारे यी ७ भ्रम र यसको वास्तविकता बारे थाहा पाउन अत्यावश्यक छ ।
भ्रम एकः
नवजात शिशुलाई आजकालको मौसममा स्तनपानबाहेक पानी खुवाइराख्नु पर्छ । यसो गर्दा उनीहरुको ओठ मुख सुक्दैन ।
वास्तविकताः
शिशुका लागि स्तनपान एक सम्पूर्ण आहार हो । जन्मेदेखि ६ महिनासम्म शिशुलाई चाहिने सम्पूर्ण पोषण आमाको दुधबाट पाइन्छ । यसमा ८५ देखि ९० प्रतिशतसम्म पानी हुने गर्दछ । त्यसकारण शिशुलाई पानी दिन आवश्यक छैन । ६ महिनासम्म बच्चालाई आमाको दुधबाहेक अन्य कुनै पनि वस्तु खुवाउनबाट बच्नुहोस् ।
भ्रम दुईः
नवजात शिशु दुध पिउनेबित्तिकै पिसाब फेर्ने गर्छन् । पिसाब फेरेलगत्तै उनीहरुलाई भोक लाग्छ त्यसकारण रोइरहन्छन् । त्यसैले हरेक आधा घण्टामा दुध पिलाउन आवश्यक छ ।
वास्तविकताः
दुध पिउनेबित्तिकै पिसाब फेर्नु एक सामान्य कुरा हो जसलाई ‘ग्यास्ट्रोलिक रिफ्लेक्स’ भनिन्छ । यसले बच्चालाई भोक लाग्दैन । बच्चा रुँदा भोक लागेको हो भनेर मात्र नबुझ्नुहोस् । हरेक आधा घण्टामा दुध पिलाउनु अनावश्यक हो । स्तनपानका लागि डेढदेखि दुई घण्टाको अन्तराल राख्नुहोस् । त्यसपछि शिशुलाई डकार लिन सहयोग गर्नुहोस् ।
भ्रम तीनः
शिशुलाई जन्डिस हुँदा आमाले बेसार खानुहुँदैन र पहेंलो कपडा लगाउनु हुँदैन । आमाले खानपिनमा अत्यधिक सावधानी अपनाउनुपर्छ ।
वास्तविकताः
जन्डिस धेरैजसो नवजात शिशुलाई लाग्ने गर्दछ । यसमा आमाले बेसार खान नहुने वा पहेंलो लगाउन नहुने भन्ने हुँदैन । वास्तवमा बच्चालाई चाँडो निको र रुष्ट पुष्ट बनाउन आमाले थप पौष्टिक आहार खानुपर्छ । जन्डिस धेरै भए बालरोग विशेषज्ञको सल्लाह अवश्य लिनुपर्छ ।
भ्रम चारः
गर्मी मौसममा बच्चालाई केरा, भारत, दही खुवाउँदा रुघा–खोकी वा निमोनिया हुनसक्छ ।
वास्तविकताः
रुघा–खोकी वा निमोनियाजस्तो रोग भाइरल वा ब्याक्टेरियल संक्रमणबाट हुन्छ । नेपाललगायत संसारका विभिन्न देशमा मानिसहरु वर्षैभरी भात खान्छन्, उनीहरु स्वस्थ नै रहन्छन् । त्यसकारण आफ्नो शिशुलाई पर्याप्त पौष्टिक तत्व खुवाउनुहोस् ।
भ्रम पाँचः
मौसम परिवर्तन हुँदा बच्चालाई नुहाउनु हुँदैन ।
वास्तविकताः
बच्चालाई रुघा खोकी संक्रमणका कारण नै लाग्ने गर्दछ जुन सफाईको कमी हुँदा अत्यधिक हुन्छ । नुहाउँदा र सफासुग्घर राख्दा बच्चा संक्रमितरहित र स्वस्थ रहन्छन् । त्यसकारण नुहाउन नरोक्नुहोस् ।
भ्रम ६ः
बच्चालाई रुघा, खोकी र ज्वरो आउँदा सूई लगाउनु हुँदैन ।
वास्तविकताः
यस्तो अवस्थामा सूई लगाउँदा कुनै हानी हुँदैन । कुनै गम्भीर रोग लागेको अवस्थामा मात्र स्वस्थ्यकर्मीको सल्लाहमा सूई लगाउने वा नलगाउने भन्नेबारे निर्णय लिनुहोस् ।
भ्रम ७ः
आमालाई रुघा खोकी लाग्दा शिशुलाई स्तनपान गराउनु हुँदैन ।
वास्तविकताः
आमाको संक्रमित सासले शिशुलाई संक्रमण हुनसक्छ तर दुधबाट होइन । त्यसकारण आमाले आफ्नो उपचार अवश्य गर्नुहोस् । बच्चालाई बोक्नु अघि साबुन पानीले हात धुनुहोस् । स्वस्थ नहुञ्जेल मास्क लगाएर आफ्नो नाक मुख ढाक्नुहोस् । तर स्तनपान गराउन नरोक्नुहोस् ।