शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

चितवन –  अण्डाको मूल्य नपाएको भन्दै लामो समयदेखि चिन्तित बनेका चितवनका किसानमा पछिल्लो समयमा भने केही खुसियाली छाएको छ । केही हप्तासम्म सुस्ताएको अण्डाको मूल्यमा अहिले वृद्धि भएपछि किसानमा केही खुसियाली छाएको हो ।

अहिलेको मूल्य वृद्धि सन्तोषजनक अवस्था रहेको नेपाल पोल्ट्री व्यवसायी मञ्च चितवनका कार्यकारी निर्देशक शिवप्रसाद बरालले बताउनुभयो । अहिले किसानका हातमा प्रतिक्रेट अण्डाको मूल्य ३३० रुपियाँ आउने गरेको छ । किसानले प्रतिगोटा ११ रुपियाँ पाउने गरेका छन् ।

यसअघि प्रतिक्रेट ३१५ रुपियाँ रहेको थियो । किसानदेखि उपभोक्ताको हातसम्म पुग्दा चार चरणको तह पार गर्दै जाँदा मूल्य बढेर प्रतिगोटा १४ रुपियाँ पुगेको छ ।

किसानदेखि उपभोक्ताको हातसम्म पुग्दा विभिन्न चरण पार गर्नुपर्ने भएकाले मूल्यमा केही भिन्नता देखिएको कार्यकारी निर्देशक बरालले बताउनुभयो । उहाँले भन्नुभयो, भाडा, होलसेल, सहायक होलसेल, साना व्यापारी यी चरण पार गर्दा मूल्यमा निकै वृद्धि भइसक्छ ।

गएको एक वर्ष अगाडि यही समयमा उच्च मूल्य पाएपछि अण्डा उत्पादक किसानले राम्रै नाफा कमाएका थिए । गएको वैशाख, जेठ गरी दुई महिना प्रतिक्रेट ३६५ रुपियाँमा बिक्री भएको थियो दुई वर्षदेखि किसानले उचित मूल्य पाएका थिएनन् ।

मञ्चका अनुसार गत वर्ष २०७३ साउनदेखि असोजसम्म प्रतिक्रेट २८० रुपियाँ थियो । यो दर वृद्धि भएर कात्तिकमा आउँदा ३२५ रुपियाँ, मङ्सिरमा ३४० रुपियाँ, चैतको सुरुवातमा ३२० रुपियाँ र चैतको दोस्रो हप्ताबाट लगातार ३६५ रुपियाँमा बिक्री भएको थियो । यस वर्ष पनि एक महिना अगाडिसम्म प्रतिक्रेट ३१५ रुपियाँमा किसानले बिक्री गरेका थिए ।

किसानका अनुसार जिल्लामा उत्पादन भएका सबै अण्डा खपत भएको छ । व्यवसायीका अनुसार किसानले प्रतिक्रेट दुई सय ८० रुपियाँ पाएमा घाटा लाग्दैन । उपभोक्ताले खुद्रा मूल्यमा प्रतिगोटा १४ रुपियाँमा खरिद गर्न सक्ने अवस्था अपेक्षा गरिएको छ ।

अण्डाको माग विस्तारै वृद्धि भएकाले बिक्रीमा समस्या नभएको नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलले बताउनुभयो । अध्यक्ष कँडेलले भन्नुभयो, अण्डा उत्पादन गर्ने किसानलाई अहिले राम्रो मुनाफा भएको छ । यस्तै अवस्था भइरहेमा यस क्षेत्रमा लागेकाहरूको राम्रो आम्दानी हुनेछ ।

अहिले नेपालमा दैनिक ३० लाख अण्डा उत्पादन हुने गरेको बताइएको छ । चितवन जिल्लामा मात्रै प्रतिदिन दस लाख अण्डा बजारमा निस्कने गर्दछ । जिल्लामा उत्पादन भएको अण्डा २० प्रतिशत मात्रै स्थानीय बजारमा बिक्री हुने गरेको छ । बाँकी ८० प्रतिशत अण्डा काठमाडौँ, पोखरालगायतका ठूला बजारमा जाने गर्दछ ।

तपाईको प्रतिक्रिया