शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडौं – कार्यालयमा काम गर्ने कर्मचारी मानसिक रूपमा पूर्ण स्वस्थ हुनुपर्छ । मानसिक अवस्था सबल भएन भने काममा ह्रास आउँछ र आर्थिक रूपमा पनि घाटा पुग्न सक्छ । त्यसैले अफिसमा काम गर्ने कर्मचारीको मानसिक स्वास्थ्यमा सबैभन्दा ठूलो लगानी आवश्यक पर्छ । विश्व मानसिक स्वास्थ्य संघका अनुसार कुनै पनि कार्यालयमा काम गर्ने पाँचजनामध्ये एकजनालाई कुनै न कुनै मानसिक समस्या हुने गरेको पाइएको छ । रोजगारीमा रहेका धेरै व्यक्तिलाई हुने मानसिक स्वास्थ्य समस्या भनेको तनाव, एन्जाइटी र उदासीनता नै हो । तैपनि कामदारमा देखिएको मानसिक समस्याको उपचार ५० प्रतिशत मात्र हुने गरेको देखिन्छ ।

मानसिक असर पर्ने कारण
जीवनको लामो समय कर्मचारीले कार्यालयमा बिताउने गर्दछन् । त्यसैले कार्यालयहरू कर्मचारीमैत्री हुन आवश्यक हुन्छ । कार्यस्थलमा मानसिक तनाव बढ्नु तथा मानसिक स्वास्थ्य समस्या देखा पर्नुका पछाडि धेरै कारक तत्व हुन सक्छन् ।

जस्तो, व्यवस्थापनले गर्ने नराम्रो व्यवहार, शारीरिक–मानसिक हेरेसमेन्ट, महिला र पुरुषमा हुने विभेद, काम र तलबमा विभेद, महिला कर्मचारीहरूमा हुने यौन दुव्र्यवहार, आर्थिक शोषण, सेवा सुविधामा कमी, कामप्रतिको उत्प्रेरणा नहुनु, नयाँ प्रविधिको प्रयोग नहुनु, तलबले आफ्नो आधारभूत आवश्यकता पूरा नहुनु, मनोरञ्जनको अभावलगायतका कारणले मानसिक रूपमा कमजाेर हुनु हुक्छन् ।

यस्तै कामको अनुभव नहुनु, कामको ग्यारेन्टी नहुनु, कर्मचारीको रुचिविपरीतको काम लगाउनु, कर्मचारीका लागि उत्प्रेरणा नहुनु, कर्मचारीले व्यक्तित्व विकासको अवसर नपाउनु, बिदा नपाउनु, ठूलो पद र सानो पदका कर्मचारीबीच भेदभाव हुनुु, काममा निरुत्साहित बनाउनु, प्रमोसन नहुनु, चाकडी तथा चाप्लुसी प्रथा, नातावाद–कृपावाद, काममा समानता नहुँदा व्यक्तिको मानसिक स्वास्थ्यमा असर  पुग्ने गर्दछ ।

काममा यसको असर

कर्मचारी मानसिक रूपमा स्वस्थ छैन भने तुरुन्त काम नगर्ने, राम्रोसँग नबोल्ने, रुखो व्यवहार गर्ने, समयमा अफिस नआउने, लगातार बिरामी भइरहने, काममा बहाना बनाउने हुन सक्छ । त्यसैले कर्मचारीको मानसिक स्वास्थ्यका लागि कार्यालय, कम्पनीले विशेष ध्यान दिनुपर्छ ।

कर्मचारीको मानसिक स्वास्थ्य सबल नभएकै कारण गत वर्ष विश्वभर एक सय अर्ब अमेरिकी डलर नोक्सान भएको तथ्यांक सार्वजनिक भएको थियो । उत्पादकत्व घटेर सोबराबरको नोक्सानी भएको थियो ।

यसैगरी, मानसिक स्वास्थ्यमा एक अमेरिकी डलरबराबरको लगानीले चार अमेरिकी डलरबराबरको प्रतिफल दिन सक्ने पनि अर्को एक अध्ययनले देखाएको छ । यसकारण मानसिक स्वास्थ्यमा लगानी गर्नु, आफ्नो कर्मचारी, कामदारको मानसिक स्वास्थ्य अवस्थाको ख्याल गर्नु, मानसिक स्वास्थ्य समस्या देखिएमा वेलैमा उपचारको पहल गर्नु, उपचारको खोजी गर्न उत्प्रेरित गर्नु र यसलाई सबैको सरोकारको विषय बनाउनु आवश्यक छ ।

वैदेशिक रोजगारीमा गएका धेरै प्रभावित

वैदेशिक रोजगारीमा गएका नेपालीहरू मानसिक समस्याबाट झनै बढी प्रभावित हुने गरेका छन् । कामको प्रकृति, साहुको दुव्र्यवहार, मानसिक टर्चर, शारीरिक एवं यौन शोषण, कार्यस्थलको वातावरणजस्ता कारणबाट कामदारहरू मानसिक समस्यामा पर्ने गरेका छन् ।

जसका कारण आत्महत्या गरेका घटना तथा विभिन्न दुर्घटनाका समाचार सार्वजनिक हुने गरेका छन् । वैदेशिक रोजगारीमा गएर नेपाल फर्केका महिलामा गरिएको एक अध्ययनअनुसार झन्डै ६८ प्रतिशत महिलामा कुनै न कुनै किसिमको मानसिक स्वास्थ्य समस्या भएको पाइएको छ ।

मानसिक रूपमा सबल बनाउन के गर्ने ?

राम्रो प्रतिफलका लागि कर्मचारीको समग्र व्यक्तित्वमा लगानी गर्नुपर्ने हुन्छ । आइएलओले कामदारले ८ घन्टा काम, ८ घन्टा आराम र ८ घन्टा मनोरञ्जन पाउनुपर्ने बताएको छ । कार्यालयले कर्मचारीलाई काम लगाउने मात्रै हैन, उनीहरूको सबै कुरामा ध्यान दिनुपर्छ । कर्मचारीहरू खुसी, सन्तुष्ट र मानसिक रूपमा स्वस्थ भए मात्र राम्रोसँग काम गर्न सक्छन् र काममा (उत्पादन) पनि राम्रो परिणाम आउँछ ।

आइएलओले कामदारले ८ घन्टा काम, ८ घन्टा आराम र ८ घन्टा मनोरञ्जन पाउनुपर्ने बताएको छ ।  कार्यालयले कर्मचारीलाई काम लगाउने मात्रै हैन, उनीहरूको सबै कुरामा ध्यान दिनुपर्छ । कर्मचारीहरू खुसी, सन्तुष्ट र मानसिक रूपमा स्वस्थ भए मात्र राम्रोसँग काम गर्न सक्छन् र काममा (उत्पादन) पनि राम्रो परिणाम आउँछ ।

 

कार्यालयमा कामदार र व्यवस्थापकबीचको सम्बन्ध राम्रो हुनुपर्दछ । पारिवारिक वातावरण हुनुपर्छ, निर्णय प्रक्रियामा कर्मचारी, मजदुरहरूलाई समेत सहभागी गराउने, स्वास्थ्य बिमाको व्यवस्था गर्ने, वेलावेलामा कर्मचारीलाई सम्मान र पुरस्कृत गर्ने, उनीहरूको व्यक्तित्व विकासका तालिमहरू सञ्चालन गर्ने, भ्रमण तथा पिकनिक लैजाने, तनाव व्यवस्थापनको तालिम दिने, सेवा सुविधा बढाउने, प्रविधिको प्रयोग गरेर कामको बोझलाई घटाउने आदि कार्य गरेर मजदुर, कर्मचारीको तनाव घटाउन सकिन्छ ।

यसरी नै उनीहरूको मानसिक स्वास्थ्य अवस्थामा सुधार ल्याउन सकिन्छ । पश्चिमा देशहरूमा कर्मचारीको मानसिक विकासका लागि कार्यालय, कम्पनीले समय–समयमा घुम्न पठाउने गर्दछन् । नेपालमा पनि यस्तो पद्धतिको विकास गरेर कर्मचारीको क्रिएटिभिटी बढाउन सकिन्छ । साथै, मानसिक रूपमा पनि स्वस्थ राख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया