टोकियो – गायिका तिर्सना घर्ती मगर र गायक कुमार पुनले परम्परागत लोकभाकामा आधारित ’यानीमाया’ को म्युजिक भिडियो सार्बजनिक गरेका छन् ।
धेरैजसो नेपाली लोकभाकाहरुका उदगम स्थल मानिने म्याग्दी र बागलुङ जिल्लाका दुरदराजहरुमा घन्किदैं आएको तर करिव लोपोन्मुख अवस्थामा पुगेको ’यानीमाया’ लोकभाका पहिलोचोटी संग्रहित गर्दै उनीहरुले बजारमा ल्याएका हुन् ।
मेला, पर्व, जात्रामात्रा, शुभ-अशुभ कार्यमा गाउँभरिका पाका महिला-पुरुषहरु जम्मा भएर लामो भाकामा लय हालेर गाइने यानीमाया तन्नेरी पुस्तामा खासै हस्तान्तरण हुन नसकिरहेको अवस्थामा गायिका तिर्सना र गायक कुमारको आवाजमा युट्युवमार्फत हालै बजारमा आएको हो ।
एक पटक पहिलो लाइन र अर्को पटक दोस्रो लाइन भनेर दोहोरी गाईने यानीमाया भाका ठाउँ र परिवेश अनुसार केही भिन्नता पाईए पनि सारमा करिव उस्तै हुने जानकारहरु बताउँछन् । तथापि यो भाका म्याग्दी, बागलुङ, रुकुम, रोल्पा जिल्लातिर बढी प्रचलित छ ।
रस बस्दै गएपछि सात दिन सात रातसम्म लगातार यानीमाया भाकामा दोहोरी गाउने पुराना पुस्ताका बुढापाकाहरु अझै यदाकदा भेटिए पनि तन्नेरी पुस्ताले यसको बिंडो थाम्ने कहीं कतै चासो नभईरहेको बेला पुरानो भाका यानीमायाले बजार पाएको हो ।
लामो स्वर तानेर बिस्तारै गाईने भएकोले निकै समय लिने यस सँस्कृति समय, परिस्थिति, ब्यस्तता, ब्यवसायीकरण जस्ता हरेक दृष्टिले करिव २२ मिनेटमा कैद गरिएको ’यानीमाया’ मा गाउँबस्ती, परिवेश र जनजीवनको मौलिक चित्रण पाईन्छ ।
गायिका तिर्सना घर्ती मगरको लय तथा शब्दमा तयार भएको यानीमायामा पछिल्ला समयका उम्दा गायक कुमार पुनले साथ दिएका हुन् । गायक कुमारका ’हैन अरुको….’, ’लाछा डोरी ऊनको…….’, ’बामरी……’ पछि हालै मात्र ’माकुरी……’ गीतले बजारमा चर्चा पाईरहेको बेला अर्को सिर्जना यानीमाया लिएर कुमारले साँगीतिक सक्रियतालाई थप निरन्तरता दिएका छन् । जनजिब्रोमा झुण्डिने खालका एकपछि अर्को सरल र लोकलयमा आधारित टिपिकल भाकामा स्वर भर्दै आएका गायक कुमार देश बिदेशमा थप लोकप्रिय मात्रै बनेका छैनन् उनको ब्यस्तता पनि उत्तिकै बढ्दो छ ।
यसैगरी गायिका तिर्सनाको ‘आँखा लोभी, मन पापी…..’ कौडा, तीज लगायत आधा दर्जन जति दोहोरी गीतका म्युजिक भिडियो बजारमा आईसकेका छन् ।गोविन्द पुन मगरको निर्देशनमा तयार पारिएको यानीमाया दानबहादुर श्रीष मगरले सम्पादन तथा छायाङ्कन गरेका हुन् ।
बागलुङ ढोरपाटनकी तिर्सना र म्याग्दी देविस्थानका कुमारले यानीमाया सँस्कृतिलाई संरक्षण गर्ने नयाँ पुस्तामा आएको जिम्मेवारीलाई थोरै भए पनि पुरा गर्न पाएकोमा खुशी ब्यक्त गरे । रिलिज भएको अत्यन्त कम समयमै यानीमाया सुनेर मन पराई देशविदेशका दर्शक स्रोताहरुबाट सकारात्मक प्रतिक्रिया आईरहेको गायिका तिर्सनाले समुद्रपारिलाई बताईन् । ’पुस्तौ-पुस्तादेखि अग्रजहरुले जोगाउँदै ल्याएको साँकृतिक धरोहर मानिने यानीमाया हाम्रो पुस्तामा आएर लोप भएर जाने खतरा बढिरहेको बेला यो हाम्रो पहिलोचोटी गरिएको सानो प्रयास हो, यो मात्रै पर्याप्त हुन सक्दैन’ – गायक कुमारले थपे ।
आशिष अविरलको एरेञ्जमा तयार पारिएको यानीमायालाई टाईगर्स फिल्मस् प्रा. लि. ले निर्माण गरेको हो ।
नितान्त मौलिक र परम्परागत सँस्कृतिलाई पछ्याउने प्रयासका रुपमा बजारमा आएको यस यानीमायाले धेरै भन्दा धेरै दर्शक स्रोताको मन जित्न सक्ने अपेक्षा गरिएको बताईएको छ ।***