टोकियो – प्रविधिको समुचित बिकास नभएसम्म देशको यथोचित विकास नहुने मान्यता सहित राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गरेर महत्वाकाँक्षी अभियानमा लागेका डा. महावीर पुनले हालै ड्रोनको सफल परिक्षण गरिसकेका छन् ।
कर्णालीका कालीकोट, हुम्ला, जुम्ला जस्ता विकट भौगोलिक स्थितिमा रहेका जनताहरुलाई समयमै औषधीमुलोको अभावमा कसैको पनि ज्यान जोखिममा नपरोस् भन्ने ध्येयका साथ उनले ड्रोन मार्फत औषधी ओसार पसार गरी आकस्मिक स्वास्थ्य सेवा पुर्याउन सकिने लक्ष लिएका छन् ।
५० करोडको लक्ष रहेको राष्ट्रिय आविष्कार केन्द्रमा अहिलेसम्म ६ करोड रुपैंया जम्मा भएको डा. पुनले बताए । जसमा डेढ करोड रुपैंया मुद्दती खातामा राखिएको र त्यसबाट आउने वार्षिक १३ प्रतिशत ब्याजले साधारण खर्च चलाउने गरिएको उनले बताए । अरु रकम भने चल्ती खातामा रहेको उनले जानकारी दिए ।
म्याग्दीको विकट गाउँ नाँगीमा जन्मेर अमेरिका जस्तो विकसित मुलुकमा उच्चशिक्षा हासिल गरेका डा. पुनले सुखसयलको जीवन छोडेर आफु जन्मेको गाउँ ठाउँ र समाजको लागि केही गर्ने सोचका साथ स्वदेश फर्केका हुन् । सपनाको देश अमेरिका भन्दा मरिहत्ते गर्ने नेपाली समाजमा ती सबै चटक्कै छोडेर उदारहण बनेका डा. पुनले इन्टर्नेटको बिकास र बिस्तारमा ठुलो योगदान पुर्याउँदै आएका छन् । दोस्रो नोवेल पुरस्कार मानिने म्यागासेसे पुरस्कार विजेता डा. पुन साधारण र सादगी जीवन मन पराउने असाधारण ब्यक्तित्व मानिन्छन् ।
एक पृथक समाजसेवीको परिचय बनाएका अभियान्ता डा. पुन अर्को महिना एक कार्यक्रमका लागि जापान आउने भएका छन् । डा. महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्रका लागि सरकारले अहिलेसम्म १ पैसा पनि सहयोग नगरेको बताए । राष्ट्रिय आविष्कार केन्द्र स्थापनार्थ सरकारलाई सहयोगका लागि अनुरोध गर्न विगत ४ वर्षदेखि लगातार हजारौं पटक सिंहदरबार धाएको स्मरण गर्दै उनले भने – ’पटक पटक फेरिरहने सरकारका प्रधानमन्त्री, अर्थमन्त्री, उद्योगमन्त्री सबैलाई मैले अनुरोध गरेको छु, आश्वाश्वन त सबैबाट पाएँ तर काम अहिलेसम्म कसैबाट हुन सकेको छैन ।’
डा. पुनका अनुसार सुशील कोइराला सरकारको पालामा तत्कालिन अर्थमन्त्री डा. रामशरण महतले राष्ट्रिय आविष्कार केन्द्रका लागि ५० करोड रुपैंयाँको फण्ड जम्मा गरिदिने वचन दिएका थिए तर त्यो फण्ड पछि निर्माण हुन सकेन । त्यसपछि केपी ओलीको सरकारका अर्थमन्त्री विष्णु पौडेलले आविष्कार केन्द्रको लागि बजेटमै पारिदिने आश्वासन दिए बजेटमा पारिएन, तर ४, ५ करोड रुपैंयाँ सहयोग गर्ने वचन दिएका थिए, तर त्यो पनि वचनमै सीमित भयो । लगत्तै ओली सरकार अविश्वासको प्रस्तावबाट ढल्यो । त्यसपछि बनेको पुष्पकमल दाहाल प्रचण्डको सरकार आएपछि अर्थमन्त्री बनेका कृष्णबहादुर महराले तत्काललाई डेढ करोड रुपैंयाँ सहयोग उपलब्ध गराउने प्रतिबद्धता जाहेर गर्दै पत्रकार सम्मेलन नै गरियो, तर त्यो रकम पनि उपलब्ध हुन सकेन । सरकारबाट बाहिरिनु एक हप्ता अगाडि पत्रकार सम्मेलन नै गरेर दिईएको आश्वासन पनि कार्यान्वयन भएन । लगत्तै शेरबहादुर देउवाको सरकार आयो । ’तर सरकारले दिएको ५० करोड रुपैंयाँ महावीर पुन घमण्डी भएर लिएन भन्ने बाहिर बजारमा हल्ला आयो, वास्तविकता नबुझिकन गरिएका हल्लाप्रति मेरो केही टिप्पणी छैन’ – उनले भने ।
राष्ट्रिय आविष्कार केन्द्रको दिगो विकासका लागि नेपाल सरकारले यसको स्वामित्व लिनुपर्ने डा. पुन बताउँछन् । जसअनुसार स्वास्थ्य मन्त्रालयसंग एमओयु (समझदारी) भईसकेको भए पनि जसअनुसार सरकारले चासो नदेखाएको उनको भनाई छ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले क्याबिनेटबाटै पास गराएर सहयोग गर्ने वचन दिनुभएकै हो, फेरि उहाँनै प्रधानमन्त्री हुनुभएको छ, यो विषयलाई फेरि उठाइने छ, सकेसम्म केन्द्रीय सरकार नभए प्रदेश सरकार त्यो पनि नभए स्थानीय सरकारले आविष्कार केन्द्रको स्वामित्व लिनुपर्नेमा उनले जोड दिए । ’यद्यपि लामो समयसम्म सरकारको मुख ताकेर धाउँदा पनि केही हात नलागेकोले यो अभियानलाई जनता समक्ष लगिएको हो – उनले भने ।
आविष्कार केन्द्रले करिव २० लाखको लगानीमा ४ महिना लगाएर हालै ड्रोनको सफल परिक्षण उडान गरिसकेको छ । अब यसलाई थप परिमार्जनसहित आवश्यकता अनुसार छोटो दुरी र लामो दुरी क्षमताका ड्रोनहरु बनाईने बताए । छोटो दुरीका ड्रोन ८ देखि १० किलोमीटरसम्मको हुने र लामो दुरीका ३० देखि ३५ किलोमीटर क्षमताको हुने उनले जानकारी दिए ।
आविष्कार केन्द्रलाई दिगो बनाउन र यसको आफ्नै स्थायी आयस्रोत जुटाउन हाइड्रो पावर, सोलर पावर, बायोग्यास प्रोजेक्टमा पनि छलफल भईरहेको डा. पुनले बताए । हाल आविष्कार केन्द्रले तराईमा सञ्चालनमा रहेका ब्याट्रीबाट चल्ने रिक्सामा प्रयोग हुने ब्याट्रीको मेन्टेन गर्ने उपकरणको निर्माण, पिउने पानी प्रशोधन यन्त्र, यार्सागुम्बाबाट औषधी निर्माण सम्बन्धि ल्याव जस्ता कार्यहरु गर्दै आईरहेको छ । यसबाहेक आविष्कार केन्द्रले अन्य थुप्रै अनुसन्धानका कार्यहरु गर्दै आईरहेको उनले बताए ।
उनी भन्छन – देशमा आर्थिक समृद्धिको नारा चर्कोरुपमा उठेको छ, प्रविधिको विकास बिना देश बिकास संभव छैन । समृद्धि भनेको आर्थिक बिकास हो । देशमा रोजगारी, उत्पादन, ब्यापार र प्रविधिलाई संगसंगै लैजान सक्नुपर्दछ । हामीले मलेसिया, दक्षिण कोरिया, सिंगापुरबाट सिक्ने बेला आएको छ । देशको बिकासका लागि प्रविधिको बिकास पहिलो सर्त हो । नेपालमा संभव हुने जति प्रविधिको बिकास नेपालमै गर्नुपर्दछ । त्यसको लागि आविष्कार केन्द्र हो । नसकेको अवस्थामा मात्र बाहिरको प्रविधि प्रयोग गर्न सकिन्छ । लगानी मात्र भित्र्याएर हुँदैन, काम गर्न सक्ने प्रतिभालाई देशमै राख्न सक्नुपर्दछ । पलायन भएका नेपाली प्रतिभालाई नेपालमै बस्ने वातावरण बनाउनुपर्दछ । ***
(नेपाल आजमा भएको कुराकानीमा आधारित)