शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

काठमाडौं – एक सय १४ वर्ष पुरानो ऐतिहासिक महत्त्वको सिंहदरबार भत्काउन फेरि चलखेल सुरु भएको छ । भूकम्पले पश्चिमतिरको भागमा क्षति पुर्‍याएको सिंहदरबार भत्काउने या नभत्काउने दुवै पक्षमा ‘लबिइङ’ हुँदै आएको छ ।

पुनर्निर्माण प्राधिकरणले सिंहदरबार रेट्रोफिटिङ (प्रबलीकरण) का लागि गत १८ गते खुला गरेको टेन्डर फेरि स्थगन गरेको सूचना जारी गरेको छ । यसले भत्काउने पक्षमा फेरि चलखेल बढेको खुलेको हो ।

सिंहदरबारको बनोट र निर्माण विधिअनुसार भत्काउनु नपर्ने भन्दै पुरातत्वविदको सुझावमा प्राधिकरणले तीन महिनाअघि रेट्रोफिटिङ गर्ने निर्णय गरेको थियो । रेट्रोफिटिङपछि प्रयोग हुनै नसके पनि ऐतिहासिक महत्वको भएकाले जस्तो हालतमा छ, जोगाउनुपर्ने पुरातत्त्वविदको सुझाव छ ।

करिब एक वर्षअघि पनि सिंहदरबार भत्काउने कि नभत्काउने विषयमा मतभेद भएको थियो । प्राधिकरणले रेट्रोफिटिङ गरेर प्रयोग गर्न सकिने भन्दै त्यसका लागि प्राधिकरणका सदस्य हरेराम पराजुली संयोजकत्वमा पुरातत्वविद्हरूसमेत सम्मिलित कार्यदल बनाएको थियो ।

प्राधिकरण स्रोतका अनुसार रेट्रोफिटिङका लागि केही प्रस्तावसमेत परिसकेको थियो । अर्को सूचना नआएसम्म उक्त प्रस्ताव स्थगन भएको सूचना दुई दिनअघि प्राधिकरणले जारी गरेको थियो ।

तपाईको प्रतिक्रिया