शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

काठमाडाैं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घन्टा सञ्चालन गर्न रन वे मर्मतका लागि साढे आठ करोड रुपैयाँ विनियोजन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारको अध्यक्षतामा एक साताअघि बसेको क्यानको बोर्ड बैठकले आठ करोड ५० लाख रुपैयाँ बजेट स्वीकृति गरेको प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए ।

त्रिभुवन विमानस्थल २१ घन्टा सञ्चालनका लागि रन वे तत्काल सुधार गर्नुपर्ने ठहर गर्दै रकम विनियोजन गरिएको गौतम बताउँछन् । ‘विमानस्थल इन्जिनियरिङ महाशाखालाई ‘रन वे’ को अति संवेदनशील ठाउँको पहिचान गरी त्यस्ता ठाउँको मर्मत तथा सुधार गर्न बोर्ड बैठकले निर्देशन दिएको छ’, महानिर्देशक गौतमले भने, ‘ विमानस्थलको रन वे मर्मतमा रकम अभाव भएको गुनासो आएपछि आवश्यक बजेट विनियोजन गरेका हौं ।’ विमानस्थलको बढ्दो ट्राफिक जाम न्यूनीकरण गर्न मन्त्री अधिकारीले २१ घन्टा विमानस्थल सञ्चालन गर्ने घोषणा गरेको थिए ।

‘बोर्डले विनियोजन गरेको रकम नियमित भइरहेको मर्मतभन्दा पनि अति संवेदनशील ठाउँको पहिचान गरी सुधारका लागि हो’, गौतमले भने । तर, विमानस्थल इन्जिनियरिङ माहाशाखाले भने २१ घन्टा विमानस्थल सञ्चालन गर्न असहज रहेको बताउँदै आएको छ। माहाशाखाका अनुसार रन वे मर्मतका लागि अहिले दैनिक राति साढे १ बजेदेखि विहान साढे ५ बजेसम्म काम गर्नुपर्ने अवस्था छ ।

झन्डै पाँच घन्टाभन्दा बढी रन वे मर्मतको काम गर्नुपर्ने अवस्थामा २१ घन्टा विमानस्थल सञ्चालन गर्न असम्भव रहेको माहाशाखाको ठहर छ । प्राधिकरणले भने रनवेमा देखिएका समस्याका कारण कहिले, कति सयम, कति जहाज आकाशमा होल्डिङ गर्नु परेको छ त्यसको विवरण पेस गर्ने समेत माहाशाखालाई निर्देशन दिएको छ । मन्त्रीले २१ घन्टा नै विमानस्थल सञ्चालन गर्ने भने पनि तत्कालको अवस्थामा २१ घन्टाको नै तालिका आउने हैन। समर स्लट (उडान तालिका) स्वीकृति भइसकेको छ। अब जाडो समयको उडान तालिमा केही हेरफेर हुने हो । फेरि, हामीले २१ घन्टा नै विमानस्थल सञ्चालन गछौं भन्ने वित्तिकै नयाँ एयरलाइन्स कम्पनी आइहाल्ने अवस्था छैन ।

तपाईको प्रतिक्रिया