बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

न्यूयोर्क – जोसेफ क्राउली अमेरिकी सांसद हुन् । न्यूयोर्कको क्षेत्र नम्बर १४ लाई प्रतिनिधित्व गर्ने क्राउली अमेरिकी संसदमा डेमोक्रेटिक ककसका अध्यक्ष पनि हुन् । अन्तर्राष्ट्रिय मामिलामा दखल राख्ने सांसद क्राउलीसंग समुद्रपारिका लागि पत्रकार किरण मरहठ्ठाले राष्ट्रपति ट्रम्पको शासन, नेपाललाई दिईएको टिपिएस सुविधा र नेपाल अमेरिका सम्बन्धबारे रोचक कुराकानी गरेका छन्, प्रस्तुत छ सो अन्तरवार्ताको सम्पादित अंश । हृवाइट हाउसमा ट्रम्पको आगमन भएपछि तपाईहरु त पूर्णतयाः रक्षात्मक अवस्थामा पुग्नुभयो नि ?
मलाई लाग्छ तपाईको कुरा सत्य हो । हामी राष्ट्रपतिय निर्वाचनमा पराजित भयौं र सदनमा पनि अल्पमतमा छौं । त्यसैले रिपब्लिकनहरुले कार्यकारी र व्यवस्थापिका दूबैमा पूर्णरुपले कब्जा जमाएको स्थिति छ । त्यसैले हाम्रो असहमतिको बावजुद पनि आप्रवासन, कर र ओवामा केयरको बारेमा हृवाइट हाउसबाट ज्यादै अनपयुक्त कदमहरु धेरै चालिएका छन् । ओबामा प्रशासनको महत्वपूर्ण उपलब्धिहरुलाई निमिट्यान्न पार्ने प्रयासहरु भैरहेका छन् । त्यसले यहाँको आप्रबासी र मध्यम तथा निम्न आय भएका मानिसहरुलाई ठुलो असर पार्नेछ ।

ट्रम्प प्रशासनको आरम्भका दिनहरुमा तपाईहरु निकै आक्रामक देखिनुहुन्थ्यो, तर आजकल जनताले तपाईहरुको आवाज मलिनो भएको टिप्पणी गर्दैछन्, रसियाको संलग्नता माथि आशंका लगायतका विषयहरु आजपनि उत्तिकै पेचिला छन्, गतबर्षखि नै उठिरहेका यी विषयहरुको अन्य कसरी होला ?
हामीले आफ्नो आवाज बुलन्द नै पारिरहेका छौं । हेर्नुस, राष्ट्रपति ज्यादै अभद्र देखिए र उनि ट्वीटरमार्फत विभिन्न हंगामा मच्चाईरहन्छन् । उनि अलिक गैर जिम्मेवार ढंगले शासन सञ्चालन गरिरहेका छन् । रसियाको मामिलामा एफबिआईका निर्देशक कौमेलाई पदच्युत गरेर राष्ट्रपतिले थप शंका गर्ने ठाउँ दिएका छन् । यो अनुसन्धान जारी छ । हामी प्रमाणहरु पर्खिरहेका छौं । यो बिषयको अन्त्य कसरी होला म भन्न सक्दिन तर यसले देशलाई भने बर्वाद पारिरहेको छ । बिषय कहिलेकाँहिं भन्ने गरेजस्तो महाअभियोगसम्मै त नजाला तर म के कुरा चाहिँ भन्न चाहान्छु भने यी राष्ट्रपति अमेरिकालाई शासन गर्न योग्य भने होइनन् ।

हालै सदनले पारित गरेको करनीतिलाई तपाईहरुले त्यत्रो विरोध किन गर्नुपरेको ?
मलाई लाग्छ हाम्रो विरोध जायज थियो । यो करनीति जनमैत्रि छैन । यसले ८२ मिलियन मध्यम आय भएका परिवारहरुलाई ठुलो मार पार्नेछ । ७० प्रतिशत निम्न आय भएकाहरुलाई करबृदिको मारमा पार्नेछ । रिपब्लिकनहरुले यो करनीति गरिब तथा निम्नआय भएका अमेरिकनहरुलाई संकटमै पार्दै धनि तथा व्यवसायिक घरानाहरु पोस्ने उद्देश्यले ल्याईएको छ । यसको परिणामहरु धेरै भयावह हुनेछन् ।

अमेरिका अहिले बाहृय भन्दा आन्तरिक मामिलामै बढी व्यस्त देखिन्छ र राष्ट्रपतिले पनि यसैलाई प्राथामिकता दिएका छन्, यसको मतलब अमेरिकाले विश्व महाशक्तिको रुपमा आफ्नो भूमिका र दायित्वहरु कटौती गर्न खोजिरहेको हो ?
यदि बर्तमान राष्ट्रपतिले त्यो चाहेका हुन् भने अमेरिकाको लागि त्यो दुःखद हुनेछ । इतिहासमा हामीले अमेरिका र एलाइ पावरको संलग्नतामा दोस्रो विश्वयुद्धताका यूरोप र एशियाका कैयौं मुद्दाहरुलाई समाधान गरेका छौं त्यसैकारण आजको विश्व शक्ति सन्तुलनलाई जन्म दिन हामी सफल भएका हौं । तर ट्रम्पले यी कुराहरु विर्सिएर आन्तरिक मामिलामा मात्र ध्यान दिएका छन् । यसले हाम्रो भलो गर्दैन । यहाँ एकथरि मानिसहरु अमेरिकाले संसारमा के भैरहेको भनेर चासो लिएर के पायो भन्ने तर्क गर्छन, राष्ट्रपति तिनै मानिसको मनोविज्ञानमाथि खेलिरहेका छन् ।

गत चुनावमा तपाईहरुले सहरी क्षेत्रमा जित्नुभयो तर ग्रामिण इलाकाहरुमा तपाईहरुको प्रभाव ज्यादै निराशाजनक देखियो, के आगामी बर्षको संसदीय चुनावमा डेमोक्र्याटको बहुमत आउला त ?
यो ज्यादै रोचक कुरा गर्नुभयो, मलाई लाग्छ हामी बहुमत ल्याउने छौं । राष्ट्रपति ट्रम्पले चुनावताका गरेका बाचाहरु धेरै पुरा गर्न सकेन्, त्यो हाम्रो लागि ठुलो अवसर हो । हामीले रोजगारी सिर्जना र गुणस्तरिय जीवनको बारेमा हाम्रो पार्टीले विगत देखि दिदैआएका योगदानहरुको बारेमा थप प्रकाश पार्नेछौं । हामीले राष्ट्रपति विल क्लिन्टनले हृवाइट हाउस छोड्दा देशको ढुकुटी कति धेरै नाफामा थियो भन्ने बारेमा फेरि सम्झाउने छौं । बुसको पालामा तहसनहस भएको अर्थतन्त्रलाई कसरी ओबामाले ज्यान दिए र बेरोजगारी घटाए भन्ने कुरा बुझाउने छौं । यी सबै सकारात्मक तथ्यहरुको विचमा हामी रिपब्लिकनले बाचा गरे अनुरुप काम गर्न नसकेको तथ्यलाई पनि छुटाउन हुँदैन उनिहरु वर्तमान सरकारसंग खुशी छैनन्, तसर्थ जनताले यस पटक हामीलाई विश्वास गर्नेछन् ।

मलाई विषयान्तरको अनुमति दिनुहोस, तपाईको पार्टी संधै आप्रवासी मैत्री पार्टी भनेर दावी गर्नुहुन्छ, तर तपाईहरु सरकारमा हुँदा पनि आप्रवासन नीतिमा व्यापक सुधार त केहि गर्नुभएन, यो भोटका लागि गरिएका बाचाहरु हुन् भन्दा के फरक पर्ला त ?
त्यो दाबी होइन बरु सत्य हो । हामी आप्रवासनमैत्री पार्टी हौं । म स्वयं पनि आप्रवासी हुँ । हाम्रो पार्टीमा आप्रवासीको पहिलो या दोस्रो पुस्ताका नेताहरुको बाहुल्यता छ । हामी विविध भाषा, सँस्कृतिको मूल्य र मान्यताहरुलाई महसुस गर्न सक्छौं । हामी त्यहि आवाज बोलिरहेका छौं । आप्रवासीहरुले यो देशलाई उत्कृष्ट बनाउन धेरै योगदान दिएका छन् । उनिहरुले समान अवसर उपभोग गरिरहेका छन् । बर्तमान राष्ट्रपतिले केहि आप्रबासन नीति परिमार्जन गर्न खोजिरहेका छन् तर उनले ओबामाको कार्यकाल सम्झनुपर्छ । रोनाल्ड रेगनको पालामा रिपब्लिकन र डेमोक्र्याट पार्टीको सहमतीमा नयाँ करनीति र आप्रवासन सुधारनीति पारित गरियो । त्यसपछि जब बाराक ओबामाले बृहत सुधारको प्रयास गरे उनलाई सदनबाट सहयोग भएन । स्मरण रहोस आप्रवासन सुधार र नयाँ करनीति ओबामाको दोस्रो कार्यकालका एजेण्डाहरु थिए तर त्यहाँ उनलाई काम गर्नै दिईएन । हामीले त्यो अवसर चाँही गुमाएका हौं । तर पनि ओबामाले डाका, डापा, टिपिएस जस्ता कार्यक्रम मार्फत लाखौं आप्रवासीको समस्या समाधान गरेका थिए । तर अहिलेको राष्ट्रपतिले के गरे ? उनि हात धोएर आप्रवासीको पछि लागिरहेका छन् ।

म अव तपाईको ध्यान टिपिएसतर्फ मोड्न चाहन्छु, जुन नेपालीको लागि सबैभन्दा सरोकारको विषय हो । आगामी जुनमा नेपाललाई दिइएको टिपिएस सुविधा समाप्त हुन्छ, के यो नविकरण होला ?
यो ज्यादै महत्वको कुरा गर्नुभयो, यो एकपटक फेरि आप्रवासीको बारेमा ऐक्यवद्धता जनाउने बिषय हो जुन हामीले विगतमा गरेका थियौं । विशेषगरी राजनीतिक र प्राकृतिक विपत्तिको शिकारमा परेकाहरुलाई यो अझ जरुरी छ । अहिले प्रशासनले अवस्था जटिल बनाईरहेको छ । हेर्नुस, निकारागुवा र हैटीको टिपिएस सुविधा निलम्बन गरिएको छ । तर मलाई शंका छ र म निश्चयपूर्वक यो भन्न त सक्दिन की नेपालको टिपिएसको भविष्य के हुनेछ । तर फेरि पनि यो कस्तो सरकार छ, राष्ट्रपति र उनको पार्टी प्रवासीको समस्याप्रति कत्तिको गम्भिर छ भन्ने कुरामा भर पर्दछ । मलाई लाग्छ, डापा, डाका र नेपालको महाभूकम्प पश्चात राष्ट्रपति ओबामाले टिपिएस सुविधा दिएर गरेका मानविय कार्यको विरुद्धमा कोही पनि जानु राम्रो होइन तर डापा र डाकालाई खारेजीमा लगियो ।

तपाई एक विधायकको हैसियतले नेपाली समुदायलाई केही विश्वास दिलाउन सक्नुहुन्छ ?
म विगतमा पनि टिपिएस सुविधाको लबिङ गर्ने मध्यमा पर्दछु । विगतमा मैले जे गरे नविकरणको लागि पनि त्यहि स्तरमा लाग्ने प्रतिवद्धता जनाउने छु । मैले २०१५ मा पनि नेपाललाई टिपिएस सुविधा दिनुपर्छ भनेर ६५ जना संसदको समुह बनाएर पहल गरेको हुँ । तर फेरि पनि यो राष्ट्रपतिको विवेकमा भरपर्ने कुरा हो । हामी सदनमा पनि निर्णायक अवस्थामा छैनौं ।

अब म तपाईको ध्यान नेपालतर्फ मोड्न चाहान्छु जसले लामो राजनीतिक संक्रमणकाल भोगेर हालै चुनाव सम्पन्न गरेको छ, नेपाल अमेरिका सम्बन्धको हामीले ७१ औं बर्षगांठ मनाईरहेका छौं तर अझ पनि नेपाल अमेरिकाको प्राथमिकताको सूचीमा किन पर्न सकेन ?
मलाई लाग्छ कि आजको विश्व रंगमंचमा नेपालले आफ्नो महत्व उचों बनाईरहेको छ । नेपालले पनि भारतले जस्तै परिपक्व लोकतन्त्रको अभ्यासमा लागिरहेको छ । त्यसभेगका अन्य मुलुकहरु जस्तै म्यानमार, बंगलादेश, पाकिस्तान र अफगानिस्तानले पनि लोकतन्त्रको अभ्यास गरुन् भन्ने कामना गरौं । नेपालले भारत, चिन, रसिया जस्ता मुलुकसंग सौहार्द्र सम्बन्ध राख्न सफल छ । हामी नेपालको लोकतान्त्रिक अभ्यासको सम्मान गर्नेछौं । अमेरिकाले नेपाललाई महत्व नदिएको जस्तो मलाई लाग्दैन । नेपाल भविष्यमा पनि हाम्रो असल मित्रशक्तिको रुपमा रहिरहने छ ।

तपाईहरु चिन, भारत जस्ता विश्व महाशक्ति बन्दै गरेका मुलुकहरुसंग बढि इगेंज भएर नेपाललाई कम महत्व दिनुभएको हो कि ?
कहिलेकाहिँ हामी आफ्नो अन्तर्राष्ट्रिय क्षमताका कारण मारमा चाहिं पर्नेरहेछौं जस्तो कि आयरल्याण्डले पनि ब्रिटेन र अमेरिकाको सम्बन्धमा उस्तै मार खेपिरहेको छ ।

नेपालमा एक ज्यादै दु:खद भनाई के छ भने अमेरिकाले सँधै नेपाललाई भारतीय आखाँले हेर्ने गर्छ तपाईहरु किन त्यसो गर्नुहुन्छ ?
निश्चयनै हाम्रो भारत, पाकिस्तान, नेपालसंग सम्बन्ध छ । हामी त्यस क्षेत्रमा क्षेत्रीय मेलमिलाप र सद्भाव विकसित होस् भन्ने चाहान्छौं । यो कुनै सजिलो काम होईन । मानिसहरु भन्छन् कि हामीले मध्यपूर्व वा संसारका अन्य समस्याहरुको हल गर्न सकिरहेका छैनौ तर यो बुझ्नु अति जरुरी छ कि यो समान्य काम होईन र यसका लागि समय चाहिन्छ । हामी हाम्रो तर्फबाट सबैभन्दा राम्रो के गर्न सकिन्छ गरिरहेका छौं । नेपालको मामिलामा भारतीय आँखाले हेर्ने भन्ने कुरो पनि गलत हो ।***

तपाईको प्रतिक्रिया