शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

टोकियो – नजिकको छिमेकी राष्ट्र भारतका नागरिकहरु नेपाली भन्दा पहिलै जापान आउन थालेका हुन् । जापानमा करी बिजनेश अर्थात नान करीको रेष्टुरेन्ट भारतीयहरुले नै भित्र्याएका हुन् । पछि गएर नेपालीहरुले उनैको सिको गरेका हुन् । नेपालीहरु इण्डियन रेष्टुरेन्ट ब्यवसायतर्फ आकर्षित हुनुको कारण भारतीयहरुको प्रभाव नै प्रमुख हो । जापानमा रहेका नेपाली र भारतीयहरुको अवस्था, सँस्कार, भिन्नता, ब्यवसायिक सोच र चिन्तन बारे विगत ३८ वर्षदेखि जापानमा बस्दै आउनुभएका र निरन्तर सामिप्यतामा रहेर नेपालीहरुको बारेमा जानकार राख्ने ब्यवसायी रञ्जन दाससंग समुद्रपारि डट कमका लागि तिलक मल्लले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ । दास विगत २७ वर्षदेखि हवाई टिकेटिङको ब्यवसायमा क्रियाशील नम्वर वन ट्राभल कम्पनीका कार्यकारी प्रमुख पनि हुन् ।

सुरुमा जापान कहिले आउनुभयो र जापानको के कुराले आकर्षित गर्‍यो ?
म सन् १९७९ मा अर्थात ३८ वर्ष अगाडि विद्यार्थीकारुपमा जापान आएको थिएँ । म कलकत्ताको मान्छे हुँ । मेरो घर नजिकै एउटा बुद्धको गुम्बा थियो, त्यहाँ आउने जाने गुरु तथा भत्तजनहरुमा जापानीहरु पनि हुन्थे । उनीहरुलाई मैले नजिकैबाट नियाल्ने अवसर पाएको थिएँ । उनीहरु असाध्यै नम्र, अनुशासित, शिष्ट भएको पाएँ । यस्ता मान्छेहरु भएको देश कस्तो होला भनेर कौतुहुल्ता जाग्नु स्वभाविकै हो । यही कुराले मलाई जापान आउन हुटहुटी जगाएको हो । यसैको प्रभावबाट युनिभर्सिटी कोर्समा पनि जापानी भाषा ऐच्छिक बिषय लिएर पढे । युनिभर्सिटीको ग्य्राजुयशनपछि म थप अध्ययन गर्न जापान आएको हुँ ।

त्यतिबेलाको जापान र अहिलेको जापानलाई कसरी तुलना गर्नुहुन्छ ?
आकाश जमिनको फरक छ । विदेशीहरु खासै थिएनन् । अहिलेका जस्ता आधुनिक भौतिक संरचनाहरु बनिसकेका थिएनन् । अहिले जस्तो सार्बजनिक स्थानहरुमा अंग्रेजीमा लेखिएका जानकारीमुलक सूचनाहरु केही हुन्थेन । विदेशीहरुका लागि त्यतिबेलाको जापानमा साँच्चिकै निकै गाह्रो थियो ।

सुरुमा आउँदा यति लामो बस्ने योजनासहित आउनुभएको हो त ?
पक्कै होईन । बस्दै जाँदा यहाँको जीवनशैलीमा भिजिसकेपछि उताको भन्दा यताको जीवनयापन सहज हुँदै गयो । जसले गर्दा बसाई लम्बिदै गएको हो । ब्यवसायमा संलग्न भएपछि झन लम्बिदै गएको हो ।

लामो समय जापान बसाईका असल पक्ष र खराव पक्ष के हुन् जस्तो लाग्छ ?
लामो समयसम्म यहाँ बस्दा जापानको जीवनशैली बानी पर्न जाने हुँदा आफ्नो मुलुकमा जाँदा उताको जीवनशैलीमा बानी पर्न गाह्रो हुन्छ । त्यसो हुँदा विदेशमै पलायन हुने खतरा बढेर जान्छ यसले राष्ट्र र स्वयम ब्यक्तिलाई पनि फाईदा गर्दैन । राम्रो पक्ष भनेको लामो समयसम्म रहँदा बस्दा यहाँको कुनै एउटा ब्यवसायिक क्षेत्रमा दखलता हासिल गर्न सकिन्छ, त्यसलाई आफ्नो देशमा भित्र्याउन सकेमा राष्ट्र र स्वयमलाई पनि फाईदा हुन्छ ।

ब्यवसायिक जीवन कसरी सुरु भयो ?
आफ्नै देशमा पनि भाषा सिकेर आएको थिएँ, यहाँ आएर पनि भाषाको लेभल थप राम्रो बनाउने मिहिनेत गरे । जापानको पढाई सकिएपछि रोजगारी खोज्नेक्रममा विदेशीहरुसंग ब्यवहार हुने अर्थात अंग्रेजी भाषा प्रयोग हुने कम्पनी नै रोजे । जसअनुसार जापानको एक प्रतिष्ठित ट्राभल कम्पनी एचआईएसमा करिव ५ वर्ष काम गरेपछि त्यहाँबाट मैले सिकेको अनुभवले आफ्नै ब्यवसाय सुरु गर्न हौसायो । जसअनुसार सन् १९९० मा नम्वर वन ट्राभल सुरु गरेको हुँ । ५ वर्ष जापानीहरुसंग मिलेर काम गर्दा मैलै धेरै कुरा सिक्ने मौका पाएँ । खासगरी जापानीहरुमा अनुशासनका साथै कामप्रतिको श्रद्धा, इमान्दारिता, जबाफदेहिता र बफादारिता उच्चकोटीको रहेको पाएँ । जुन कुराले मलाई छोएन मात्रै, निकै प्रभावित बनायो । जीवनभरिका लागि मार्गदर्शन बन्न पुग्यो ।

जापानबाट विदेशीहरुले सिक्नैपर्ने राम्रा कुराहरु के हुन् जस्तो लाग्छ ?
जापान त्यतिकै जापान बनेको होईन रहेछ । घरपरिवार होस् या कार्यक्षेत्रमा अनुशासित भएर आफ्नो कर्त्तब्य पुरा गर्न उनीहरु लागिरहन्छन् । अनुशासन, समयको महत्व, जिम्मेवारीप्रतिको सचेतता, आफ्ना कारणले अरुलाई कुनै पनि खालको बाधा पुर्‍याउन हुँदैन भन्ने मानसिकता हाम्रो लागि अनुकरणीय छन् । वास्तवमै जापानीहरुको काम प्रतिको इमान्दारिता बुझ्न उनीहरुसंग २, ४ वर्ष संगै काम गर्ने हो भने जीवनभरिलाई पुग्ने धेरै ब्यवहारिक कुराहरु सिक्न सकिन्छ ।

ब्यवसायिक यात्राको क्रममा नेपालीहरुसंग कसरी नजिकिन पुग्नुभयो ?
छिमेकी मुलुक हुनुको नाताले नेपाल र नेपालीको बारेमा म आफै धेरैथोरै जानकार थिएँ । किनकी कलकत्तामा पनि नेपालीहरु प्रशस्त थिए । उनीहरुको जीवनशैली भारतीयहरुको भन्दा कुनै फरक थिएन । मेरा हजुर बुवा गाडिको ब्यापार गर्नुहुन्थ्यो, म किशोर अवस्था हुंदा उहाँसंग कलकत्ता बन्दरगाहबाट गाडिहरु लिएर एकहप्ता लगाएर एकचोटी नेपाल पनि गएको छु । नेपालको सौन्दर्यता र त्यहाँका कोमल हृदय भएका नेपालीहरु नजिकबाट नियाल्ने अवसर त्यतिबेलै पाएको थिएँ । त्यसमाथि दक्षिण एशियाली मुलुकका नागरिकहरु हाम्रो ब्यवसायको लक्षित क्षेत्रभित्र नपर्ने कुरै भएन । नेपाली ग्राहकहरु बढ्दै गएपछि तिनै ग्राहकसंग संवाद गर्न सजिलो होस् भनेर पछि स्टाफ पनि नेपाली राख्न थालियो । जुनक्रम अहिले पनि निरन्तर जारी छ ।

नेपालीहरु कस्तो पाउनुभयो, लामो संगतले के भन्छ ?
नेपालीहरु प्रायः मिहिनेती, नम्र र मिलनसार स्वभावको पाएको छु ।

उनीहरुलाई के सुझाव छ ?
कार्यक्षेत्रको हकमा उहांहरुले कम्पनीको समय र आफ्नो प्राईभेट समय क्लियरसंग छुट्याउन जरुरी छ । कम्पनीको समयमा प्राईभेट कामकुरो र प्राईभेट समयमा कम्पनीको तनाव लिनुभएन । कम्पनीको एक सेकेण्ड समय पनि निजी प्रयोजनका लागि वा फजुलमा खर्चिनु अपराध हो । यसैगरी अन्य सार्बजनिक यातायातका साधनहरुका साथै ट्रेन चढ्ने र ओर्लने बेलामा जापानीहरुको सिको गर्न जरुरी छ । पालो नमिचिकन लामबद्ध भएर चढ्ने वा ओर्लने गरेमा सबैको नजरमा कार्टुन बन्नुपर्दैन । यसैगरी सार्बजनिक ठाउँमा अरु कसैको प्रवाह नगरी ठूलो ठूलो स्वरले फोनमा कुरा गर्ने गर्दा हाम्रो सभ्यताको पहिचान झल्काउँछ । सुन्दा सामान्य लागे पनि निकै महत्व राख्ने यस्ता कुरामा नेपालीहरुले अलि ध्यान नदिएकै हो या उनीहरु प्रशिक्षित स्कुल कलेजले त्यस्तै सिकाएको हो भन्ने बुझाई जापानी समुदायमा पनि ब्याप्त छ । यसका साथै आफ्नो घर परिवेश वरिपरि आफैले सफासुग्घर राख्ने बानी बसाल्न सके जापानीहरुको नजरमा हामीलाई खोट लगाउने ठाउँ हुने थिएन । सबैभन्दा महत्वपूर्ण कुरो जहाँ रहे पनि आफ्नो राष्ट्रियता र पहिचान गुमाउन हुँदैन । जापानबाट कुनै एक बिशेष क्षेत्रको सीप तथा ज्ञान हासिल गरी स्वदेश फर्केर हरेकले सदुपयोग गरेमा मुलुकको लागि त्यो भन्दा ठूलो योगदान अरु हुन सक्दैन । राज्यले पनि देश बनाउने युवा जति विदेश पठाएर नेपालको विकास संभव छैन । देशमा बाँकी रहेका बृद्धा र बालबालिकाहरुबाट उद्योगधन्दा कलकारखाना तथा रोजगारीको अवसर सिर्जना हुन सक्दैन । यस्ता बिषयमा विदेशमा रहेका पढेलेखेका सचेत नेपालीहरुको ध्यान जानुपर्ने देखिन्छ ।

तपाईको विचारमा जापानीहरु कस्ता स्वभावका हुन्छन् ?
सबै जापानीहरुलाई एउटै टोकरीमा राख्न त नसकिएला, यद्यपी कामका सम्बन्धमा जापानीहरु मेशीन नै हुन् । उनीहरुको शरिर, मन, मस्तिष्क र भित्री अन्तहृदय सबै मेशिन जस्तै भईसकेको हुन्छ । उनीहरु आफ्नो कामको बिषयभन्दा दायाँबायाँ अरु कुराको मतलव राख्दैनन् । हाम्रो समाजमा जस्तो अरुको कुरा काटेर हिड्ने त उनीहरुको कल्पना समेत गर्न सकिदैन । हामी विदेशीहरु जापानीहरुको मन भित्रैसम्म पुग्न भने धेरै गाह्रो हुन्छ । उनीहरु हतपती विदेशीसंग नजिकिन गाह्रो मान्छन् तर आत्मीयता बढिसकेपछि भने उनीहरुसंगको सम्बन्ध धेरै बलियो हुन्छ ।

जापानमा रहेका भारतीयहरुको अवस्था के कस्तो छ ?
जापानमा हाल करिव २५ हजार भारतीयहरु छन् । यो हाल आएर बढेको संख्या हो । उनीहरु प्रायः आइटी, रेष्टुरेन्ट क्षेत्रमा रोजगारीका साथै धेरै कमले बिभिन्न क्षेत्रमा ब्यवसाय गर्दै आईरहेका छन् । जापान भारतीयहरुको प्रमुख रोजाईमा पर्दैन । प्रायको रोजाई अमेरिका, अष्ट्रेलिया हुने गरेको पाईन्छ ।

जापानमा नान करीको बिजनेश त भारतीयहरुले नै भित्र्याएका हैनन् र ?
हो । म आउने बेलातिर जापानभरिमा करिव ५ वटा जति नाम चलेका भारतीय रेष्टुरेन्ट थिए । बिस्तारै यो संख्या बढ्दै गए पनि कालान्तरमा उनीहरु कोही जापानबाट सिफ्ट भएर अन्यत्र गए भने कोहीले ब्यवसायको क्षेत्र नै परिवर्तन गरे । पहिलेको तुलनामा भारतीयहरु अहिले रेष्टुरेन्ट ब्यवसायप्रति त्यति आकर्षित देखिदैनन् ।

जापानमा रहेका भारतीयहरु नेपालीहरु जस्तो संघसंस्थामा गोलबन्द हुने, कार्यक्रम गर्ने प्रचलन छ कि छैन ?
चेम्बर अफ कमर्श, ज्वयलर्स बिजनेश एशोसियशन, एशोसियशन अफ इन्डियन रेष्टुरेन्ट ओनर्स, इन्डष्ट्री एशोसियशन जस्ता ब्यवसायिक संगठन गरी बढिमा १० भन्दा बढि संघसंस्था छैनन् । विदेशमा बस्ने भारतीयहरु आफुलाई एनआरआई ठान्छन् तर संस्था बनाएर आफु आफुमा नेता हुने चलन छैन । जापानमा मात्र नभएर जहाँ गए पनि भारतीयहरु त्यतिधेरै ग्रुप बनाएर हिडेको पाईदैन ।

जापानमा भारतीयहरुको कुनै छापा तथा अनलाईन पत्रिका, वा म्यागजिन प्रकाशन हुन्छ कि हुँदैन ?
हुँदैन । भारतीयहरुको यतातिर ध्यान गएको देखिदैन । आवश्यकता महशुस नभएर पनि हुन सक्छ ।

बिजनेशमा सफल हुन आवश्यक पर्ने आधारभुत सुत्रहरु के के हुन् ?
बिजनेशको अर्को नाम च्यालेन्ज हो, जोखिम हो । बिजनेश सुरु गर्नुअघि पर्याप्त अध्ययन हुनु जरुरी छ । यहाँको संस्कार र सँस्कृतिको पनि ख्याल राख्दै बिषयवस्तुका बारेमा राम्रो ज्ञान हासिल गरी फूल्ली कन्फिडेन्स र आवश्यक पूर्व तैयारीका साथ बिजनेश सुरु गर्ने हो भने सफल्ता टाढा छैन । यद्यपी ब्यवसाय सबैले गर्न सक्छन् भन्ने छैन । आफुलाई म्याच नगर्ने ब्यवसाय गर्दा सफलता हात पार्न सकिदैंन । आफुमा भएको रुची र क्षमताको आधारमा कुन क्षेत्रको ब्यवसाय गर्ने भन्ने आफुले योजना बनाउने हो ।

तपाईको कम्पनीमा कुन कुन राष्ट्रका नागरिकहरु कार्यरत छन् ?
नेपाल, भारत, जापान, फिलिपिन्स, वर्मा, म्यान्मा, भियतनाम र अफ्रिकाका नागरिकहरु गरी हाल २० जना कार्यरत छन् ।

तपाईको कम्पनीबाट हालसम्म नेपालीहरुका लागि लक्षित गरेर के कस्ता स्कीम या सहयोगहरु गर्दै आउनुभएको छ ?
नेपालमा गएको महाभूकम्पका बेला राहत सहयोग, गत नेपाल फेष्टिबलका बेला स्पोन्सर स्वरुप जापानबाट नेपाल र जापानबाट कोरियाका लागि दुईतर्फी निःशुल्क हवाईटिकट उपलब्ध गराएका थियौं । यसबाहेक नयाँ वर्ष तथा दसैंतिहार जस्ता बिशेष अवसरमा उपहार योजना बजारमा ल्याउने गरिएको छ । यी सबै नेपाली लक्षित स्किमहरु हुन् ।

तपाईको बुझाईमा विदेशीका लागि जापान कस्तो मुलुक हो ?
जापानले धेरै कुरा सिकाएको छ । यो अवसरै अवसरको मुलुक हो । तर त्यसलाई ग्रहण गर्न सक्नुपर्दछ । त्यसका लागि आफुलाई भाषागत लगायत अन्य हिसाबले दखल बनाउन सक्नुपर्दछ । अवसरको उपयोग गर्न नसक्ने हो भने जापानको बसाई लम्ब्याउनु बुद्धिमानी हुँदैन । बरु आफ्नै देशमा गएर केही गर्नु उपयुक्त हुन्छ ।

रिटार्यर्ड लाईफ बारे के सोच्नुभएको छ ? स्वदेश फर्कने योजना छ कि ?
रिटार्यर्ड लाइफ बारे अहिलै केही पनि सोचेको छैन । किनभने काम गर्न सकुञ्जेल काम गर्ने सँस्कार जापानले सिकाएको छ । जापानीहरु सकेसम्म लामो सक्रिय जीवन बाँच्न चाहान्छन्, त्यसको प्रभाव हामीलाई पनि परेको छ । जापानको लामो बसाईमा धेरै तीता मीठा अनुभवहरु रहे । सँधै रमाईला र खुशीका क्षणहरु मात्र रहेनन्, नरमाईला र पीडाका पलहरु पनि अवश्य थिए । यद्यपी जापानको बसाई लामो हुँदै गएपछि यताको बसाई सहज हुँदै जाने उता आफ्नो देशमा फर्केर बरु असहज हुने कुरो सत्य हो । यसकारण जीवनको उत्तर्रार्द्धतिर पनि स्वदेश फर्कने संभावना क्षीण हुँदै गएको हो कि भन्ने महशुस हुन थालेको छ ।

अन्तमा, केही भन्नु छ कि ?
देश बिदेशमा रहेका नेपालीहरु बिच लोकप्रिय अनलाईन समुद्रपारि डट कम मार्फत आफ्ना केही अनुभवहरु बाँड्ने अवसर दिनुभएकोमा धन्यबाद । लामो समयदेखि जापानमा प्रकाशित हुंदै आएको एक मात्र नेपाली पत्रिकाको नियमित ग्राहकको नाताले पत्रिकाको उत्तरोत्तर प्रगतिको कामना गर्दछु । यसै अवसरमा नम्बर वनबाट टिकट लिई नेपाल जाने नेपाली समाचारका ग्राहकहरुका लागि विमानस्थलबाट गन्तब्यसम्म यातायातको ब्यवस्था गरिदिने घोषणा गर्दछु । अन्तमा, अंग्रेजी नयाँ वर्ष २०१८ को पावन अवसरमा जापान लगायत स्वदेश तथा बिदेशमा रहनुहुने सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना ब्यक्त गर्न चाहान्छु ।***

तपाईको प्रतिक्रिया