बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

काठमाडौं  – संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथिको प्रतिबन्ध थप कडा बनाउने भएको छ । उत्तर कोरियाले पछिल्लो समय गरेको ब्यालेस्टिक मिसाइल परीक्षणको प्रतिक्रिया स्वरुप संयुक्त राष्ट्रसंघले उसमाथिको प्रतिबन्ध थप कडा बनाउने भएको हो ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा उत्तर कोरियामाथिको प्रतिबन्ध थप कडा बनाउने सम्बन्धी प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको छ । अमेरिकाले प्रस्तुत गरेको प्रस्तावको पक्षमा सुरक्षा परिषदका सबै सदस्य राष्ट्र उभिएका हुन् । नयाँ प्रतिबन्ध अनुसार उत्तर कोरियामा हुँदै आएको तेल तथा पेट्रोलिय पदार्थको आयात कम गरिने छ ।

पेट्रोलको आयात ९० प्रतिशत भन्दा बढीले घटाउने पारित प्रस्तावमा उल्लेख छ । उत्तर कोरियाको प्रमुख व्यावसायिक साझेदारको रुपमा रहँदै आएका चीन तथा रुसले पनि प्रस्तावको पक्षमा मत दिएका छन् ।

ब्यालेस्टिक मिसाइल परीक्षण तथा परमाणु कार्यक्रमका कारण उत्तर कोरियामाथि यसअघि नै अमेरिका, संयुक्त राष्ट्रसंघ तथा युरोपेली युनियन (इयु) ले प्रतिबन्ध लगाउँदै आएका थिए ।

राष्ट्रसंघले लगाउने नयाँ प्रतिबन्धले उत्तर कोरिया समस्यामा पर्ने र उसले परमाणु कार्यक्रम रोक्ने अपेक्षा गरिएको छ । नयाँ प्रतिबन्ध अनुसार तेल तथा पेट्रोलको आयात कम गर्नुका साथै विदेशमा कार्यरत उत्तर कोरियाका कामदारलाई आउँदो दुई वर्ष भित्र स्वदेश फिर्ता पठाउने तथा उत्तर कोरियाली सामानको निर्यात पनि रोक्ने उल्लेख छ । पारित प्रतिबन्ध प्रस्ताव उत्तर कोरियाको लाइफ लाइनमा केन्द्रित भएको छ ।

तपाईको प्रतिक्रिया