बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

टोकियो – जापानमा रहेका नेपालीहरुका बारेमा जापानीहरुको धारणा के कस्तो रहेको छ भन्ने जानकारी हामी नेपालीहरुका लागि निकै चासोको बिषय हो । जापानमा बस्दै आएका नेपालीहरुप्रति आम जापानीहरुको दृष्टिकोण कस्तो रहेको छ, उनीहरु हामीबाट कस्तो ब्यवहार चाहन्छन् र के सुझाव दिन चाहन्छन् लगायतका बिषयमा जानकारी लिने उद्देश्यले सोफिया विश्वविद्यालयकी प्राध्यापक डा. तानाका मासाकोसंग समुद्रपारिका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ । ११ वर्ष नेपालमै बसेर नेपाल र नेपाली समुदायलाई नजिकैबाट बुझेकी प्रा. डा. तानाकाले नेपालमा मानव बेचबिखन (हयुमन ट्राफिकिङ इन नेपाल) बिषयमा विद्यावारिधी गरेकीछिन् । विगतमा नेपालस्थित जापानी दूतावास, जाइका, जापानी रेडक्रस लगायतका संघसंस्थामा आबद्ध भई दक्षिण एशियाली तथा अफ्रिकी मुलुकहरुमा रहेर काम गरेको अनुभव समेत बटुलेकी प्रा. डा. तानाकाले जापानमा नेपाली माइग्रेशनका बारेमा रिसर्च पनि गरिसकेकी छिन् ।

जापानमा रहेका नेपालीहरु कस्तो पाउनुभएको छ ?
बैदेशिक रोजगारी होस् या अध्ययनका लागि नेपाली युवाहरुमा विदेश जाने लहर तिब्र देखिन्छ । उनीहरुको पहिलो रोजाई अमेरिका, अष्ट्रेलिया, बेलायत लगायतका अंग्रेजी भाषा चल्ने मुलुकहरु पर्दछन् त्यसपछि बल्ल जापान, कोरिया अनि खाडी मुलुक र मलेसिया पर्दछन् । त्यसो भएकोले जापान आउने औसत नेपालीहरुको शैक्षिक र आर्थिक हैसियत पनि निम्न मध्यमस्तरिय भएको अध्ययनले देखाउँछ । विद्यार्थी, कुक, ब्यवसायी र उनीहरुमा आश्रित परिवारहरुले नै जापानको नेपाली समुदाय बनेको छ । मान्छे जापानमा भए पनि उनीहरु मध्य धेरैजसोको माइण्ड सेट नेपालमै रहेको पाईन्छ । जापानी सोसाइटीसंग अपेक्षित घुलमिल हुन नसकेको, जापानी सोसाइटीका विविध गतिबिधीमा सहभागिता हुने नगरेको जस्ता उदाहरणहरु एकातिर छन् भने जापान आईसकेपछि यहाँको लाइफ स्टायलमा कसरी भिज्ने भन्ने बारेमा त्यति ध्यान नदिएको पाईन्छ । अधिकाँश नेपालीहरुमा म के का लागि जापानमा छु र कहिले सम्म ? भन्ने क्लियर भिजन देखिदैन । यसो हुनुको कारण आफ्नो जीवनको गोल र गन्तब्य (डेष्टिनेशन) सेटीङ छैन अर्थात प्लानिङ छैन । जसले गर्दा अन्यौलता बिचको दैनिकीले विभिन्न खालका जटिलताहरु उत्पन्न हुने गरेको पाईन्छ ।

जापानमा रहेका नेपालीहरुले के कस्ता समस्या झेलिरहेको पाउनुभएको छ ?
जापानको बारेमा राम्रोसंग बुझेर नआउँदा अपेक्षित सफलता र उपलब्धी हासिल गर्न सकिदैन अनि हिनताबोधले सताउन थाल्छ, समस्या यहीँबाट शुरु हुन्छ । मिलेर बस्ने सँस्कारको पनि बिकास हुन सकेको छैन । विभिन्न खालका थुप्रै संघसंस्थाहरु भए पनि उनीहरुको उद्देश्य क्लियर छैन । समस्या पर्दा हरेक पटक चन्दा उठाउने संस्कार गलत छ, कहिले सम्म उठाईरहने ? नेपालीहरुले अन्य मुलुकका नागरिकहरुबाट पनि सिक्न जरुरी छ उनीहरु यस्तो कहिलै गर्दैनन् । यसको स्थायी समाधान खोजिनुपर्दछ, त्यसका लागि न संघसंस्था चाहिने हो । जापानमा बिभिन्न खालका स्वास्थ्य बिमाहरु छन्, जापानीहरुको सहयोग लिएर यहाँको उपलब्ध सुविधाहरु उपभोग गर्न सक्नुपर्दछ त्यसो हुन सकिरहेको छैन । नेपालीहरु आफुभित्र मात्रै साँगुरो घेरामा खुम्चिएर बसेर हुँदैन, अन्य कम्युनिटीसंग पनि सहकार्यको हात अगाडि बढाउनुपर्दछ ।
नेपालमा परिवारको प्रत्यक्ष निगरानीमा बसेका किशोर किशोरीहरु जापान आएपछि आवश्यकता भन्दा बढी स्वतन्त्र हुन खोजेको देखिन्छ । कुनै सोचविचार नै नगरी अपरिपक्व निर्णय गर्दै लिभिङ टुगेदरको प्रचलन बढेको छ । असुरक्षित यौन सम्पर्कका कारण असुरक्षित गर्भतनका घटनाहरु बढिरहेका छन् । यसप्रकारका बढ्दो संबेदनशील समस्याप्रति नेपाली कम्युनिटीले खासै चासो राखेको पाईदैन ।
अर्कोतिर नेपालमा युनिभर्सिटी पढ्दै गरेकाहरु बिचमा छोडेर आउँदा उनीहरुको लगानी र समयको सत्यानाश हुने गरेको छ भने माष्टर डिग्री सकेकाहरु पनि २ वर्षको जापानी भाषा कोर्स र अर्को २ वर्ष भोकेशनल कोर्स पढ्न आउने ट्रेण्ड देखिएको छ । यो भनेको डाउन ग्रेडिङ हो । हाम्रो लक्ष अप ग्रेडिङ हुनुपर्छ । यस बिषयमा जानेमानेका सचेत नेपालीहरुले सही परामर्श दिन कञ्जुस्यांई गरेको देखिन्छ ।
सन् २०१६ मा जापानमा घटेका यौनहिंसाजन्य घटना मध्य २० वटा आपराधिक घटनामा चिनियाहरुको संलग्नता रहेको पाईएको थियो भने ९ वटा घटनामा नेपालीहरुको संलग्नता रहेको पाईयो । बिशाल जनसंख्या भएको चिनको तुलनामा नेपालको यो निकै उच्चदर हो ।
रिर्सचकै क्रममा जानकारीमा आएको एक प्रतिनिधि घटना यहाँ उल्लेख गर्न मनासिव होला, गएको दसैंको बेलाको एक साँझ रोप्पोङ्गीबाट एक हुल नेपाली युवाहरु हिबिया लाईनको ट्रेनभित्रै हातमा क्यान बियर लिएर पिउँदै हल्ला गर्दै यात्रा गरिरहेका थिए । यसो गर्दा अरु यात्रुहरुलाई के असर पर्ला भनेर उनीहरुले किन सोच्न सकेनन् होला ? बिषय सामान्य भए पनि यस्ता घटनाले मुलुककै प्रतिनिधित्व गर्ने भएकोले सजग हुन सिकाउने कसले ? भविष्यको जिम्मेवार वर्ग यसरी बरालिंदा देशलाई घाटा हुन्छ ।

तपाईको विचारमा समाधान के त ?
मलेसिया, खाडी राष्ट्रमा गएर वर्षौ दुख गरेर कमाएको पैसा परिवारका सदस्यलाई जापान पठाउनका लागि लगानी गर्ने चलन नेपाली समाजमा देखिन्छ । जापान आउनु अघि जापानको बारेमा राम्रोसंग बुझ्न जरुरी छ । जापान आईसकेकाहरुले पनि जापान आफुले सोचेजस्तो लागेन भने बेलैमा विकल्पमा अन्य मुलुक रोज्न सकिन्छ । आफ्नो खुट्टामा आफुलाई सहज लाग्ने जुत्ता लगाउने न हो । भाषा, सँस्कृति, खानपान, यहाँको जीवनशैली, हावापानी, कमाई आफुअनुकुल लागेन भने जबरजस्ती जापानमै बसिरहन जरुरी छैन । यस्ता कारणबाट पनि धेरै नेपालीहरु चिन्ताग्रस्त भएको अध्ययनले देखाउँछ । यिनै कारणहरुले गर्दा हुन सक्छ अध्ययनकै क्रममा करिव २०० जना नेपालीहरुमा गरिएको सर्बेक्षणमा आधा भन्दा बढिले नेपाल फर्केपछि फेरि जापान नआउने बताएका थिए ।
जापानमा रहँदा जतिसक्दो धेरै जापानी साथी बनाउने, जापानी समुदायमा घुलमिल हुने, उनीहरुको कुरा सुन्ने, जापानको नियम, कानुन, सेवा, सुबिधाका बारेमा जानकार हुने गर्नुपर्दछ । भरखर नेपालबाट आएका नवागन्तुक किशोर किशोरीहरुलाई के सही के गलत थाहा हुँदैन, उनीहरुलाई सही सल्लाह दिने र अनुगमन गर्ने कोही नहुँदा सुरुका केही महिना उनीहरुका लागि अत्यन्त असहज बन्न सक्छन् भने उपयुक्त सल्लाहको अभावमा जीवनमा दीर्घकालिन असर पर्ने खालको गलत निर्णय गर्न पुग्छन् । त्यसो हुँदा यस्ता समस्या आउन नदिन नियमित परामर्श सेवाको ब्यवस्था हुन सके राम्रो हो ।

शरणार्थी समस्या के हो ?
नेपालमा जिउधनको खतरा नै हुने खालको अहिले न कुनै गृहयुद्ध छ न अरु कुनै समस्या । यद्यपी शरणार्थीको मान्यता दिलाई पाउँ भनि निबेदन गर्ने नेपालीहरुको संख्या हजारौ पुग्नुले निकै गहिरो अर्थ राख्दछ । नेपालीहरुलाई जापानीले हेर्ने दृष्टिकोणमा मात्र नभएर अन्य मुलुकका नागरिकहरुसंगको सम्बन्धमा पनि यसले असर पार्न सक्छ । संयुक्त राष्ट्रसंघको शरणार्थी उच्च आयोगसंग भएको सम्झौता अनुसार शरणार्थी बन्न पाउँ भन्ने निवेदन लिनैपर्ने भएकोले यो संख्या यसरी बढेको हो । निबेदन लिईसकेपछि टुंगो लाग्ने बेलासम्मको वर्षौ वर्ष लामो प्रक्रियाले गर्दा उनीहरु काम गर्न पाउने भएकोले यो संख्या बढेको जगजाहेर छ । तर अब प्रक्रिया फाष्ट ट्रयाकबाट चाँडै सल्टाईने भएपछि धेरै हदसम्म यो समस्या नियन्त्रण हुने देखिन्छ । छोटकरीमा भन्नुपर्दा पाएको सुबिधाको यो दुरुपयोग हो । जापान त्यतिधेरै ओपन हुन नचाहने मुलुक भए पनि अन्तर्राष्ट्रिय सन्धी सम्झौताका कारण जापानलाई शरणार्थी निवेदन लिनैपर्ने बाध्यकारी अवस्था छ ।

नेपालीहरुका लागि जापान आउन भिसामा कडाई गरिएको हो र ?
नेपालमा भएको जापानी दूतावासका अनुसार जापानमा नेपालीहरु शरणार्थीमा जाने, आत्महत्या गर्ने, तोकिएको क्षेत्र भन्दा अन्यत्र काम गर्ने, मादक पदार्थ सेवन गरी होहल्ला एवं झगडा गर्ने लगायतका विविध खाले समस्याका कारण भिसामा थप कडाई गरिएको बुझिएको छ । जसअनुसार पहिलेको तुलनामा विद्यार्थीहरुमा करिव आधाजति र कुकका हकमा धेरै कमलाई मात्र भिसा जारी गरिएको अवस्था छ । जापानमा भएका नेपालीहरुका बदमाशीका कारण नेपालमा भएका नेपालीहरु जापान आउनबाट वञ्चित हुनुपर्ने अवस्था आउनुहुँदैन । नेपालमा भएका भावी पुस्ताका लागि पनि अहिले जापानमा भएका नेपालीले राम्रो पर्फमेन्स देखाउन जरुरी छ ।

यहाँको विचारमा जापानमा नेपाली समुदाय कसरी अगाडि बढ्दा ठिक होला ?
जापानमा १५० भन्दा बढि राष्ट्रका बिदेशीहरु रहेका छन् । नेपालीहरुले नेपाललाई चिनाउने र आफुले गर्व गर्ने खालका कामहरु गर्न सके जापानी समुदाय नेपालप्रति थप आकर्षित हुन सक्छन् र नेपाल जानेहरुको संख्या बढ्न सक्छ । नेपालीहरुले जापानी सोसाइटी र अन्य सोसाइटीसंगको घुलमिल बढाउन आवश्यक छ । आयोजित कार्यक्रमहरु आफ्नो रमाईलोका लागि अर्थात नेपालीका लागि मात्र लक्षित देखिन्छ, त्यसो नभएर जापानीहरु लक्षित बनाउन सक्नुपर्दछ । उदाहरणको लागि नेपाल फेस्टिबललाई लिन सकिन्छ, मैले धेरै पटक फेस्टिवलको अवलोकन गर्ने अवसर पाएको छु, त्यो पुरै नेपालीको रमाईलोका लागि गरेकोजस्तो देखियो, जापानीहरुलाई आकर्षित गर्न सकिएन । तर थाई, इण्डियन, फिलिपिन्स लगायतका फेस्टिवलमा भने उत्साहजनक जापानीहरुको उपस्थिति रहने गरेको पाईन्छ । त्यसैले नेपालीहरुले अरु कम्युनिटीबाट पनि सिक्न जरुरी छ । यसैगरी नेपालीहरुले बेला बेलामा क्लिनिङ क्याम्पेन गरेको निकै देखिन्छ । तर यस्ता कार्यलाई जापानी सोसाइटीले कसरी हेरेको छ भनेर बुझ्ने चेष्टा गरेको पाईदैन । अरु क्षेत्रमा कन्ट्रीब्युशन गर्न नसकेर हो या स्टाटस एवं पिआरका लागि हो, नेपालीहरुले क्लिनिङ क्याम्पेन गर्ने गर्दछन् भन्ने बुझाई आम जापानीमा पाईन्छ । त्यसैले आफ्नो विचारमा ठिकै लागे पनि जापानीहरुले कसरी लिन्छन् भन्ने बिषयमा बढि ध्यान दिनुपर्ने देखिन्छ ।

अबको जापान नेपालीका लागि कस्तो देख्नुहुन्छ ?
जाइकाले हरेक वर्ष नेपाललाई गरेको सहयोग राशी भन्दा जापान पढ्न आउने नेपाली विद्यार्थीहरुले शुल्क बापत जापानका स्कुल कलेजलाई बुझाउने रकमको हिस्सा ठूलो रहने गरेको छ । नेपालीहरुले राम्रो अध्ययन गरेर यतै लामो समयसम्म काम गरे भने अन्ततोगत्वा त्यो पनि जापानलाई फाईदा हो । राम्रो अवसरहरुको देश हो जापान । नेपालीका लागि जापानले कियर गिभरको ढोका पनि खुल्ला गरेको छ । यो अवसरलाई नेपालले बुद्धिमत्तापूर्ण ढंगले उपयोग गर्न सक्यो भने भविष्यमा अरु धेरै नेपालीहरुले जापानमा रोजगारी पाउने छन् । इमान्दारिता पूर्वक मिहिनेत गर्नेहरुका लागि जापानमा अवसरहरु प्रशस्त छन् । ***

तपाईको प्रतिक्रिया