शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

टोकियो–बिदेशी बिद्यार्थीहरुलाई पढाई सकेपछि काम खोज्न सहयोग गर्ने उदेश्यले स्थापना गरिएको कम्पनीले काम लगाउने ग्यारेण्टी सहित पैसा लिएको तर तोकिएको समयमा काम नलगाएको र पैसा फिर्ता पनि नदिएको भन्दै एक नेपाली बिद्यार्थीले सो कम्पनी बिरुद्ध टोकियो जिल्ला अदालतमा मुद्धा दर्ता गराएका छन् । जापानी वकिलहरुको अनलाइनमा प्रकाशित समाचार अनुसार ३० बर्षिय ति नेपाली पुरुषले यहि अक्टोबर ३१ तारिखका दिन ४८ मान येन फिर्ता पाउनु पर्ने माग सहित मुद्धा दायर गरेका हुन् ।

ति पुरुष सन् २०१४ जुलाई महिनामा बिद्यार्थी भिसामा जापान आएका थिए । पढाई सकेपछि काम खोज्नको लागि सहयोग गर्ने कम्पनी भन्दै उनकै साथीले उनलाई टोकियोको खान्दा अवस्थित सो कम्पनी परिचय गराएको थियो । आफ़्नो पढाई सकिएपछि उनले सन् २०१६ अप्रिलमा सोहि कम्पनी मार्फ़त कामको खोजी गर्न अनुरोध गर्दै ५५ मान अर्थात ५ लाख ५० हजार येन कम्पनीलाई तिरेको बताईएको छ । तर तोकिएको समयमा काममा लगाउन नसकेपछि उनले कम्पनीसंग आफुले तिरेको पैसा फिर्ता मागेकोमा कम्पनीले भने पैसा फिर्ता दिन अस्विकार गरेको थियो ।

सो कम्पनी बिरुद्ध मुद्धा दायर गरेपछि उनले एक पत्रकार सम्मेलन गरी सो कम्पनीले अन्य कैयौं ब्यक्तिहरुलाई पनि ठगी गरेको र कसैले नरोक्ने हो भने सो कम्पनीले अझै धेरैलाई ठगी गर्ने भएकोले आफुले यो कदम चालेको बताएका थिए । कम्पनी बिरुद्ध उनले बिना अनुमति शुल्क लिएर काम लागाउने अर्थात हाकेनको काम गरेको, काम खोज्ने मान्छेबाट अबैधानिक रुपमा पैसा लिने गरेको, साधारण शुल्क नभएर अत्याधिक रकम असुली गरेको लगायतका आरोप लगाउंदै मुद्धा दायर गरेका हुन । मुद्धा दायर गर्ने नेपालीको पक्षमा वकालत गर्ने कानुन ब्यवसायीहरुले सो कम्पनीले बिदेशी बिद्यार्थीहरुलाई आहाराको रुपमा प्रयोग गरिरहेकोले यो गम्भीर अपराध भएको बताएका छन् ।

केहि बर्ष यता यसरी बिद्यार्थीहरुसंग पैसा असुली गर्ने तर काम नलगाइदिने गरेका गुनासाहरु बृद्धि भईरहेको पाइन्छ ।

तपाईको प्रतिक्रिया