शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

टोकियो-टोकियोमा अमेरिकी डलर १०० को नक्कली नोट भेटिएको छ । यसका बारेमा सरकारी अधिकारीहरुले छानबिन सुरु गरेका छन् । स्रोतका अनुसार अक्टोबर महिनाको सुरुवातमा नै यी नक्कली नोट मुद्रा सटही गर्ने चार स्थानमा भेटिएका थिए ।
ती मुद्रा सटही गर्ने संस्थाका कर्मचारीहरुले अमेरिकी मुद्राको बनावटमा थोरै अन्तर रहेको महसुश गरेपछि एक नीजि संस्थाले जाली नोट पत्ता लगाउनका लागि विशेषज्ञ राखेको थियो । सो संस्थाका अनुसार हालसम्म ठूलो मात्रामा नक्कली नोट फेला पारेको बताएको छ । फेला परेका नक्कली नोटहरुको बनावट लगभग वास्तविक जस्तो नै देखिएको बताइएको छ ।
विशेषज्ञका अनुसार नक्कली नोटको बिचमा निलो धर्का थोरै फरक देखिने र परावैजनी रंगको तल दायाँ पट्टीको पहेलोपन नदेखिने पारिएको छ । विदेशी मुद्रा सटही गर्ने ठाउँका नोटहरुको प्रमाणिकरण जाँच्नका लागि उपलब्ध गराइएका चुम्बिकीय मेशिनहरुले पनि जाली नोट पत्ता लगाउन सकेका थिएनन् ।
१०० डलरको जाली नोट पत्ता लगाउनका लागि पछिल्लो चार वर्षमा नयाँ प्रविधि र तरिका अपनाइएको थियो । अनुसन्धानका प्रमुख तोमोहिको एन्दोका अनुसार यी जाली नोट यस्तो राम्रो बनाएइका छन् कि मुद्रा सटही गर्ने ठाँउमा समेत पत्ता लगाउन नसकेर चलनचल्तीमा आएका छन् । कारोवार गर्दा समेत जाली भएको जानकारी पाउन सकिएको छैन ।
एन्दोले यस मामिलामा सचेत रहन आग्रह गर्दै विदेशी नागरिकहरुको जापान आउने क्रम बढेकोले मुद्रा विनिमयको कारेबार बढी हुदै गएको छ , यसलाई विशेष ख्याल गर्न जरुरी छ ।

तपाईको प्रतिक्रिया