आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं –  चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले दुई साताअघि लिएको एमबीबीएस प्रवेश परीक्षाको प्रश्नपत्र बाहिरिएको घटना छानबिनमा ढिलाइ हुँदा नतिजा पर्खाइमा रहेका साढे आठ हजार विद्यार्थी अन्योलमा छन् ।

त्रिभुवन विश्वविद्यालय र प्रहरीले छुट्टाछुट्टै छानबिन समिति बनाए पनि प्रतिवेदन नआउँदा नयाँ परीक्षा लिने या पुरानैबाट नतिजा सार्वजनिक गर्ने भन्नेमा चिकित्साशास्त्र अध्ययन संस्थान ( आईओएम) नै अनिर्णीत छ ।

आईओएमले असोज २८ मा लिएको प्रवेश परीक्षामा डिभाइस प्रयोग गरी चिट चोरी गरेको पाइएपछि प्रहरी र त्रिविले बेग्लाबेग्लै अनुसन्धान गरिरहेकामा बेलैमा प्रतिवेदन नदिँदा विद्यार्थी मारमा परेका हुन् । ६ सय ४० कोटाका लागि आईओएमले लिएको प्रवेश परीक्षामा ८ हजार ६ सय ६६ सहभागी थिए ।

प्रश्नपत्र बाहिरिएको सूचना आएलगत्तै प्रहरीले अनुसन्धान अघि बढाएको थियो । त्रिविले पनि लगत्तै छानबिन समिति गठन गरेको थियो । नतिजा सार्वजनिक नहुँदा त्यसको असर अन्यत्र पनि परेको छ । काठमाडौं विश्वविद्यालयमा पास भएका विद्यार्थी पनि आईओएमको नतिजा सार्वजनिक भएपछि मात्रै भर्ना हुने योजनामा छन् ।

प्रतिष्ठानहरूमा समेत आईओएमको नतिजाले असर पारेको छ । स्वदेशमा एमबीबीएस अध्ययन महँगो भएकाले सस्तोमा अध्ययन गर्न विदेश जान चाहने विद्यार्थी पनि अन्योलमा छन् । विदेशमा एमबीबीएस पढ्न पनि स्वदेशको प्रवेश परीक्षा अनिवार्य पास हुनुपर्ने प्रावधान छ । बेलैमा नतिजा सार्वजनिक नहुँदा शैक्षिक सत्रको समयसमेत धकेलिने अवस्था छ ।

उक्त प्रकरण छानबिन गर्न त्रिविले पूर्वडिनको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । प्रहरी र छानबिन समितिको सुझाव कुरेर बस्दा आईओएमले निर्णय लिन नसकेको हो । ‘छानबिन प्रतिवेदन नआएसम्म केही निर्णय गर्नै सक्दैनौं,’ आईओएमका डिन डा. जगदीश अग्रवालले भने ।

चोरी प्रकरणमा संलग्न भन्दै प्रहरीले १५ जनालाई नियन्त्रणमा लिएको छ । तीमध्ये दुई जना अर्काको परीक्षा दिनेछन् । १३ जनालाई ठगी र साइबर क्राइममा मुद्दा चलाइएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख दिवेश लोहनीले बताए ।

तपाईको प्रतिक्रिया