आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

झापा – झापाको बिर्तामोडमा प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएको छ भने अरु डेढ दर्जनभन्दा बढी घाइते भएका छन् ।
मृत्यु हुनेमा अर्जुनधारा नगरपालिकाका नरेश थापा रहेका छन् । अरु तीनजना घाइतेको अवस्था गम्भीर रहेको जनाइएको छ । अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको शंकास्पद मृत्युलाई लिएर शुक्रबार बिहानैदेखि बिर्तामोड क्षेत्र तनावग्रस्त बन्दै आएकोमा अपराह्न स्थानीय प्रशासनले कर्फ्यु लगाएपछि स्थानीय आक्रोशित बनेका हुन् । स्थानीयले कर्फ्यु उल्लंघन गर्न खोजेपछि स्थिति थप तनावपूर्ण बनेको हो ।
बालकको मृत्युको अनुसन्धानलाई प्रहरीले गम्भीररुपमा नलिएको भन्दै स्थानीय वासिन्दाले प्रदर्शन गर्दै आएका थिए भने दिउँसोदेखि प्रशासनले बिर्तामोड क्षेत्रमा कर्फ्यु लगाएको छ । आन्दोलनकारी र प्रहरीबीचको झडप हिंसात्मक हुँदै गएपछि स्थितिलाई सामान्यकीकरण गर्न स्थानीय प्रशासनले बिर्तामोड, मुक्तिचोकको दुई किलोमिटर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो ।
शुक्रबार दिउँसो साढे १ बजेपछि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लगाइएको झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिनुभयो ।
शुक्रबारै बालक लक्ष्मण ‘हत्या’को विरोधमा निकालिएको र्‍यालीमा झडप हुँदा प्रहरीले तीन राउन्ड हवाई फायर गरेको थियो । भीड नियन्त्रण गर्न प्रहरीले दुई दर्जनभन्दा बढी सेल अश्रुग्यास पनि प्रहार गरेको थियो । प्रहरीले आन्दोलनमा उत्रिएकामध्ये केहीलाई नियन्त्रणमा लिएको जनाएको छ ।
बडादसैंको टीकाका दिन हराएका बालक लक्ष्मणको शव भोलिपल्ट बिर्तामोड–१ वैैसावाडीस्थित पोखरीमा डुबेको अवस्थामा फेलापरेको थियो ।

तपाईको प्रतिक्रिया