आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

बागलुङ – आसन्न प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि जनमत बढाउन दलहरुले घरदैलो अभियान शुरु गरेका छन् । वाम गठबन्धन र काँग्रेसका उम्मेदवारहरु मतदाता फकाउन व्यस्त छन् ।
प्रचारमा अघि देखिएको वाम गठबन्धनलाई पछ्याउँदै नेपाली काँग्रेसले हाजदेखि घरदैलो अभियान शुरु गरेको छ । वाम गठबन्धले भने बुधबार बागलुङ नगरपालिका–१ बाट जन भेटघाट शुरु गरेको थियो । सबै दलले उम्मेदवारसहित जिल्लास्तरीय नेता, कार्यकर्तालाई अभियानमा परिचालन गरेका छन् । वाम गठबन्धनले बागलुङ नगरपालिका–१ र ३ को कार्यक्रमपछि शुक्रबार वडा नं ४ मा घरदैलो अभियान चलाएको छ । गठबन्धनले शुक्रबार नै वडा नं २ जिपपार्कमा निर्वाचन सम्पर्क कार्यालय स्थापना गरेको नेकपा ९एमाले०का जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले बताउनुभयो । उहाँका अनुसार चुनाव प्रचारप्रसारलाई व्यवस्थित बनाउन विभिन्न कमिटीहरु परिचालन गरिएको छ ।
अहिले किसान काममा व्यस्त हुने याम भएकाले भेला, सभाभन्दा घरदैलो अभियान बढी प्रभावकारी देखिएको अध्यक्ष सापकोटाको भनाइ छ । गठबन्धनले शुरुमा केही ठाउँमा कोण सभा आयोजना गरे पनि उपस्थिति न्यून भएपछि अभियानको स्वरुप बदल्ने निर्णय गरेको छ । “सबै काममा व्यस्त भएकाले सभा, भेला प्रभावकारी देखिएन”, अध्यक्ष सापकोटाले भन्नुभयो, “घरदैलो अभियानमा जोड दिएका छौँ ।” यता, काँग्रेसले पनि चुनावी अभियानलाई चुस्त र प्रभावकारी बनाउन एक हजार एक सदस्यीय चुनाव परिचालन कमिटी बनाएको छ । काँग्रेसले आज बिहानदेखि बागलुङ नगरपालिका–१ रामरेखाबाट प्रचार शुरु गरेको छ । काँग्रेसले पनि मतदातासम्मै पुग्न घरदैलो अभियानलाई प्राथमिकता दिएको नेपाली काँग्रेस बागलुङका सचिव नवराज पौडेलले जानकारी दिनुभयो । “प्रतिनिधि सभाका २ र प्रदेश सभाका ४ निर्वाचन क्षेत्रमा ठूला चुनावी सभाको समेत आयोजना गरिने उहाँको भनाइ छ । केन्द्रीय नेताको उपस्थितिमा मुख्य ठाउँमा आमसभा राख्छौँ”, सचिव पौडेलले भन्नुभयो । वामहरु अलग–अलगरुपमा चुनाव लड्दा अघिल्ला चुनावमा फाइदा लिएको काँग्रेसलाई यसपालि गठबन्धन बनेपछि चुनौती थपिएको छ ।
जिल्लामा वाम गठबन्धन र काँग्रेसबीच नै मुख्य प्रतिस्पर्धा हुने भएको छ । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चा मिलेर बनेको वाम गठबन्धनसँग काँग्रेस एक्लैले चुनाव लड्दैछ । प्रतिनिधि सभाका २ र प्रदेश सभाका ४ निर्वाचन क्षेत्रमा काँग्रेसले एकल उम्मेदवारी दिँदै चुनावी मैदानमा छ । वाम गठबन्धका तीन दलले भने निर्वाचन क्षेत्र बाँडेर चुनावी प्रतिस्पर्धामा छन् । काँग्रेसले क्षेत्र नं १ बाट प्रतिनिधि सभाका लागि सहकारी तथा गरिबी निवारण राज्य मन्त्री चम्पादेवी खड्का चुनाव लड्दै हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया