आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024


काठमाडौं – प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले तोकिएको समयमै निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोग प्रतिबद्ध रहेको प्रस्ट पार्नु भएको छ ।
सुरक्षा निकायका लागि आयोगले आयोजना गरेको दुईदिने अभिमुखीकरण कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख आयुक्त यादवले निर्वाचन गराउन प्रधानमन्त्री पनि प्रतिबद्ध रहेको बताउनु भयो । निर्वाचनको वातावरण अस्थिर बनाउन केही तत्व लागेको भन्दै उहाँले यसतर्फ सचेत रहन सबैलाई आह्वान समेत गर्नुभयो ।
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने दायित्व राज्यका सुरक्षा निकायको भएकाले सबै सुरक्षा निकायलाई इमान्दार भएर जिम्मेवारी पूरा गर्न उहाँले आग्रह गर्नुभयो । उहाँले निर्वाचन सम्पन्न गर्न कुनै अन्योल नरहेको र आयोग आत्मविश्वासका साथ लागिपरेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा गृहसचिव मोहनकृष्ण सापकोटाले निर्वाचन भयरहितरुपले सम्पन्न गर्न गृह मन्त्रालयले सबै संयन्त्र परिचालन गरेको बताउनु भयो । मंसिर १० र २१ गतेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि म्यादी प्रहरीसहित २ लाख ७२ हजार सुरक्षाकर्मी परिचालित हुने जानकारी उहाँले दिनुभयो ।
निर्वाचनको नतिजा घोषणा नहुँदासम्म गृह मन्त्रालयले सुरक्षाको उच्च व्यवस्था गर्ने गृहसचिव सापकोटाले बचनसमेत दिनुभयो ।

तपाईको प्रतिक्रिया