काठमाडौं – वीर गणेशमान प्रथम स्मृति कप खुल्ला फुटसल प्रतियोगिता आयोजना गरिने भएको छ ।
युवालाई खेलप्रति आकर्षण गर्ने उद्देश्यले २०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमान सिंंहको स्मृतिमा नेपाल तरुण दल काठमाडौँ महानगरपालिका-२६ ले पहिलोपटक सो प्रतियोगिता आयोजना गर्न लागेको हो । भोलिदेखि ३१ गतेसम्म सामाखुशीमा प्रतियोगिता आयोजना हुने तरुण दल २६ वडाका अध्यक्ष कृष्णबहादुर तामाङले जानकारी दिनुभयो ।
यस्तै तरुण दल २६ वडाका सचिव मनिष डंगोलले युवापुस्ता फुटसल खेलप्रति आकर्षित हुँदै गएकाले आफूहरुले पनि उक्त प्रतियोगिता गर्न लागेको जानकारी दिनुभयो । उहाँले उक्त खेललाई रनिङ सिल्डका रूपमा विकास गर्दै लैजाने उद्देश्य रहेको बताउनुभयो ।
खेलको प्रथम विजेतालाई रु एक लाख, द्धितीयलाई रु ५० हजार, राम्रो खेलाडीलाई जुत्ता र राम्रो गोलकिपरलाई पञ्जा पुरस्कार दिइने सचिव डंगोलले जानकारी दिनुभयो । उक्त प्रतियोगितामा काठमाडौँ उपत्यकाका २५ भन्दा बढी क्लबको सहभागिता रहने जनाइएको छ ।