बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

काठमाडौं – स्थानीय तह चुनावको समीक्षा गर्दै आगामी रणनीति तयार पार्न नेकपा माओवादी केन्द्रको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु बैठकमा जिल्ला इञ्चार्जहरुको समेत उपस्थिति रहेको छ ।

बैठकमा निर्वाचनको समीक्षा, आगामी निर्वाचनको तयारी र संगठनात्मक विषयमा छलफल हुने माओवादी अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । बैठकले प्रदेश र केन्द्रको निर्वाचन तथा संगठनको रणनीति तय गर्ने छ । बैठकको सुरुमा जिल्ला इञ्चार्जहरुले रिपोर्टिङ गर्नेछन् । रिपोर्टिङ सकिएपछि अध्यक्ष प्रचण्डले निर्देशनात्मक मन्तव्य राख्ने माओवादी केन्द्रले जनाएको छ ।

बैठकमा पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पार्टीले सोचे अनुसारको नतिजा प्राप्त गर्न नसक्नुका कारणलगायतका विषयमा छलफल हुने जनाइएको छ । बैठकमा ७५ वटै जिल्ला समितिका इन्चार्ज वा अध्यक्षले आफ्नो जिल्लाको समग्र अवस्थाका बारेका पार्टी नेतृत्वलाई जानकारी गराउने र आगामी दिनमा कस्तो रणनीतिका साथ अगाडि बढ्ने भन्ने विषयमा समेत छलफल हुने पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले समसामयिक राजनीतिक प्रतिवेदन पेश गर्ने र जिल्ला इन्चार्जले जिल्लागत प्रतिवेदन पेश गर्ने कार्यसूची छ । माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा योजना र कार्यक्रमका हिसाबले गाउँगाउँमा सिंहदरबार भन्ने नारा अगाडि सारेपनि परिणाम सोअनुसार नआएको भन्दै त्यसको वस्तुनिष्ठ समीक्षा गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया