आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

बाजुरा – स्थानीय तहको निर्वाचनमा जिल्लाका चार गाउँपालिका सञ्चारको पहुँचबाट टाढा रहेका छन् । हिमाली गाउँपालिका, पाण्डवगुफा गाउँपालिका, स्वामीकार्तिक गाउँपालिका र गौमुल गाउँपालिका सञ्चारको पहुँचबाट टाढा रहेका छन् ।

सदरमुकाम मार्तडीबाट सबैभन्दा नजिक रहेको गौमुल गाउँपालिकामा समेत सम्पर्क हुन नसकेको मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले बताउनुभयो । चारवटै गाउँपालिकामा टेलिफोन र इन्टरनेट सेवा नभएका कारण निर्वाचनको गतिविधिबारे जानकारी पाउन नसकेको उहाँले बताउनुभयो । “फोन सम्पर्क हुन सकिरहेको छैन, निर्वाचन गतिविधिबारे बेखबर छौँ,” सेनले भन्नुभयो । गौमुल गाउँपालिका चार घन्टाको पैदल दूरीमा रहेको छ ।

तर मनोनयन दर्ता भएको चार दिन बित्दासमेत कुनै जानकारी पाउन नसकेको उहाँले बताउनुभयो । स्वामीकार्तिक, हिमाली र पाण्डवगुफा गाउँपालिका मार्तडीबाट दुई दिनको पैदल दूरीमा रहेका छन् । त्यहाँ नेपाल प्रहरीको मोबाइल सेटले समेत काम गरेको छैन । संवेदनशील ठाउँ भएकाले सुरक्षा व्यवस्था कडा पारिएको छ ।

स्थानीय तहको निर्वाचनका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र म्यादी प्रहरी उल्लेख्य सङ्ख्यामा खटाइएको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया