आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – तीन प्रदेशका २ सय ८३ स्थानीय तह निर्वाचनका लागि मंगलबार भएको उम्मेदवारी दर्तामा चुनावी उत्साह देखिएको छ । विभिन्न संशय चिर्दै झन्डै १४ वर्षपछि हुन लागेको स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । प्रदेश नं. ३, ४ र ६ का ३४ जिल्लामा वैशाख ३१ गते हुने निर्वाचनबाट १३ हजार ५ सय ५६ जना निर्वाचित हुँदैछन् । ४ वटा प्रदेशमा भने जेठ ३१ गते दोस्रो चरणको निर्वाचन हुँदैछ ।

स्थानीय निकाय २०५९ सालबाट कर्मचारीको हातमा गएको थियो । नयाँ संविधानले स्थानीय तहलाई संवैधानिक मान्यता दिई अधिकार सम्पन्न बनाएपछि पहिलोपटक हुन लागेको निर्वाचन आमचासोको विषय बनेको छ ।

राजनीतिक अन्योलका कारण चुनाव हुने कि नहुने भन्ने संशयबीच उत्साहजनक उम्मेदवारी दर्ता भएको भन्दै निर्वाचन आयोगले मतदान गराउन आतुर रहेको प्रतिक्रिया दिएको छ । विभिन्न स्थानमा बाजागाजा, झाँकी र जुलुससहित दलहरूले उम्मेदवारी दर्ता गराएका थिए ।

सत्ता गठबन्धनका कांग्रेस र माओवादी केन्द्रले विभिन्न जिल्लामा तालमेल गरी उम्मेदवारी दिएका छन् भने काठमाडौं महानगरपालिकामा एमाले र राप्रपाले चुनावी तालमेल गरेका छन् ।संविधान संशोधन विधेयक पारित नभई निर्वाचनमा भाग नलिने अडान लिएको संघीय समाजवादी फोरमले काठमाडौं महानगरपालिकाको प्रमुखलगायत अन्य स्थानमा पनि उम्मेदवारी दिएको छ । मधेसकेन्द्रित ६ दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपालले भने पहिलो चरणका कुनै पनि स्थानमा उम्मेदवारी दिएको छैन ।

बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिए पनि केही स्थानमा राति अबेरसम्म मनोनयन दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । ठूला दलले ४ बजेपछि मात्र उम्मेदवारको टुंगो लगाएर एकैपटक उम्मेदवारी दर्ताका लागि पुगेकाले समय लागेको आयोगको भनाइ छ ।

निर्वाचन आयोगका अनुसार तीनवटा प्रदेशका ४ वटा महानगरपालिका, १ उपमहानगर र ९२ वटा नगरपालिकाका मेयर, उपमेयर तथा १ सय ८६ गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष पदका लागि मनोनयन दर्ता भएको छ ।

महानगरका १ सय २३, उपमहानगरका १९, नगरपालिकाका १ हजार ९१ र गाउँपालिकाका १ हजार ३ सय ६५ गरी २ हजार ५ सय ९८ वडाध्यक्ष र १० हजार ३ सय ९२ वडा सदस्य पदका लागि मनोनयन भएको छ । तीमध्ये २ हजार ५ सय ९८ वडा सदस्यमा महिला मात्र निर्वाचित हुँदैछन् । २ हजार ५ सय ९८ दलित महिलाका लागि मात्र उम्मेदवारी दिने व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया