आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – नेपाली सेनाले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दर्ता भएको महाभियोग प्रस्तावपछि उत्पन्न राजनीतिक परिस्थितिले निम्त्याउन सक्ने सम्भावित सुरक्षा चुनौती (थ्रेट) प्रति उच्च सतर्कता अपनाएको छ ।

प्रधानन्यायाधीश कार्कीविरुद्ध संसदमा दर्ता भएको महाभियोगप्रति असहमति जनाउँदै गृहमन्त्री विमलेन्द्र निधिले समेत राजीनामा दिएपछि आइतबार साँझ जंगी अड्डामा बसेको आकस्मिक पीएसओज बैठकले पछिल्ला राजनीतिक घटनाक्रमले उत्पन्न गर्नसक्ने सुरक्षा चुनौतीलाई लिएर सक्रियता बढाउने निर्णय गरेको हो ।

बैठकले संविधान संशोधन, प्रधानन्यायाधीशविरुद्धको महाभियोग र स्थानीय निर्वाचनको विषयलाई लिएर सत्तारूढ दलहरूबीच नै ध्रुवीकरण बढेको र त्यसले राजनीतिक गतिरोधलाई थप लम्ब्याएको विषयमा छलफल भएको थियो ।

बैठकले राजनीतिक अस्थिरताले उब्जाउने सुरक्षा चुनौतीबारे विश्लेषण गरेको थियो । राजनीतिक संक्रमण बढिरहेका बेला नेपाली सेनाको भूमिका के हुन सक्छ भन्ने विषयमा पीएसओज बैठकमा छलफल भएको थियो ।

प्रधानन्यायाधीश कार्कीविरुद्ध दर्ता भएको महाभियोगको विषयले सत्तारूढ दलबीच नै मनमुटाव बढ्नसक्ने र त्यसले सत्ता समीकरणमा समेत फेरबदल आउनसक्ने विषयमा समेत पीएसओज बैठकमा छलफल भएको स्रोतले बताएको छ ।

पीएसओज बैठकले अर्थपूर्ण केही निर्णय नगरेपछि पछिल्लो राजनीतिक गतिरोधले निम्त्याउनसक्ने सुरक्षा चुनौतीप्रति सजग रहने र त्यस्ता चुनौतीको डटेर सामना गर्ने निष्कर्षमा नेपाली सेना पुगेको छ ।

बैठकमा उपस्थित जर्नेलहरूले प्रधानन्यायाधीशविरुद्धको महाभियोग पारित हुने÷नहुनेबारे समेत चासो राखेको स्रोतले बताएको छ । सेनाले सम्भावित सुरक्षा चुनौती केके हुन् भन्नेबारे केही खुलाएको छैन ।

सैनिक प्रवक्ता सहायकरथी झंकरबहादुर कडायतले पछिल्लो राजनीतिक घटनाक्रमले निम्त्याउन सक्ने सम्भावित सुरक्षा चुनौतीप्रति नेपाली सेना सजग रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया