आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – नेपालमा नक्कली नोटको कारोबार त्यति नहुने भए पनि पछिल्लो समय भने बजारमा नक्कली नोटको बिगबिगी बढ्न थालेको छ । केही समयअघि मात्र पोखरामा नक्कली नोट भेटिएको थियो । त्यसैगरी, झापामा पनि हालै नक्कली नोट देखा परेको छ । नेपालमा नक्कली नोटको समस्या त्यति नआउने भए पनि पछिल्लो समय भने नक्कली नोटको कारोबार बढेको देखिएको हो । तर, यस्तो समस्या आउँदैन भनेर ढुक्क भएर बस्ने अवस्था भने नभएको राष्ट्र बैंकको ठहर छ ।

नक्कली नोटको आशंका हुनेबित्तिकै राष्ट्र बैंकले त्यसलाई तुरुन्तै जफत गर्छ । जस कारण नक्कली नोटको प्रभाव कम हुन्छ । राष्ट्र बैंकले नक्कली नोटको पहिचान गर्न विभिन्न प्रचार–प्रसार कार्यक्रम तथा तालिमहरू दिँदै आएको छ । बजारमा नक्कली नोट देखा पर्न थालेपछि राष्ट्र बैंक प्रचार–प्रसारमा सक्रिय भएको छ ।

राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले भन्नुभयो, ‘नक्कली नोट पहिचानका लागि राष्ट्र बैंकले विभिन्न तालिम तथा प्रचार–प्रसार गर्दै आएको छ ।’ ‘एक दुई सातामा नक्कली नोट पहिचानका लागि तालिम दिँदै छौं,’ उहाँले भन्नुभयो । केही स्थानमा फाटफुट मात्रामा देखिएका नक्कली नोटले त्यति ठूलो असर नगर्ने सहायक प्रवक्ता पण्डितले बताउनुभयो   ।

यसरी चिन्न सकिन्छ नक्कली नोट

नेपाली नोटको दायाँ भागको खाली ठाउँलाई प्रकाशतिर फर्काएर हेर्दा लालीगुराँस फूलको पानी छाप स्पष्टसँग दखिन्छ । नक्कली नोटमा पानी छाप स्पष्टसँग देखिँदैन ।

– नेपाली नोटको बुट्टालाई हातले छोएर हेर्दा यस्ता बुट्टा कागजमाथि हातले महसुस गर्न सकिन्छ । नोट पुरानो हुँदै गएपछि नोटको यस्तो विशेषता कम हुँदै जान्छ ।

– १ सय, ५ सय र १ हजार दरको नोटलाई प्रकाशतिर फर्काएर हेर्दा पानी छाप भएको कोठाको बाहिरपट्टि(बायाँतिर) भएको बुट्टा र त्यसको पछाडिपट्टि भएको बुट्टा मिलेर लचद भन्ने शब्द बन्छ । तर, नक्कली नोटमा त्यसको लाइन फरक देखिन्छ ।

– नेपाली नोटमा प्रयोग गरिएको सुरक्षा धागो फोटोकपी गर्न सम्भव छैन । नक्कली नोटमा फोटोकपी गरिएको सुरक्षा धागो कालो र त्यसमा छापिएको अक्षर छोएकोजस्तो देखिन्छ ।

– नेपाली नोट शतप्रतिश कपासबाट र कागजबाट बनाइएको हुँदा नोटलाई काननिर लगेर हल्लाउँदा आउने आवाज र साधारण कागज हल्लाउँदा आउने आवाज फरक हुन्छ ।

तपाईको प्रतिक्रिया