शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिका लागि नौवटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीले रुचि देखाएका छन् ।

स्पेनिस कम्पनी साञ्जोसेसँगको निर्माण सम्झौता रद्द भएको करिब तीन महिनापछि नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई वर्षभित्र काम सम्पन्न गर्नुपर्ने गरी बोलपत्र आह्वान गरेको थियो ।

फागुन २३ गते विमानस्थलको स्तरोन्नतिका लागि गरिएको बोलपत्र आह्वानमा राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी नौवटा कम्पनीले प्रस्ताव पेस गरेको प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

प्राधिकरणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीले प्रस्ताव पेस गर्न सक्ने गरी तीन तहका कामका लागि वैशाख ७ गतेको अन्तिम मिति राखेर बोलपत्र आह्वान गरेको थियो । प्राधिकरणले गरेको आह्वानमा १ नम्बर अन्तर्गतको रन वे विस्तारका लागि १९ वटा कम्पनीले आवेदन फारम लगेता पनि पाँचवटा कम्पनीले मात्रै प्रस्ताव पेस गरेको उहाँले जानकारी दिनुभयो ।

रन वे विस्तारका लागि चाइना रेल वे, सांघाइ कस्ट्रक्सन, कालिक टुन्डी जेभी, सांघी कस्ट्रक्सन र स्टारपाग इन्टरनेसनले मात्रै टेन्डर दाखिला गरेका हुन् । १ नम्बर समूह अन्तर्गतको कामका लागि प्राधिकरणले ५.८ मिलियन डलर भित्र काम गर्ने गरी बोलपत्र आह्वान गरेको थियो ।

यसैगरी दुई नम्बर अन्तर्गतको इन्टरनेसनल टर्मिनल भवन विस्तारका लागि पनि १९ वटै कम्पनीले फारम लगे पनि टेन्डर दाखिलको अन्तिम दिनसम्म चारवटाले मात्र प्रस्ताव पेस गरेको श्रेष्ठले जानकारी दिनुभयो ।

यसमा कन्टिच लुम्बिनी जेभी, सांघाइ कस्ट्रक्सन, टुन्डी रसुवा जेभी र शर्मा प्रेरा आशिषले मात्रै टेन्डर दाखिल गरेका छन् । २ नम्बर अन्तर्गतको कामका लागि प्राधिकरणले ७ मिललियन अमेरिकी डलरको भित्र काम गर्नेगरी बोलपत्र आह्वान गरेको थियो ।

यसैगरी ३ नम्बर अन्तर्गतको वाटर स्पपा फोहोर व्यवस्थापन, जेनेरेटर हाउस, पावर हाउस लगायत कामका लागि भने कुनै पनि कम्पनीले टेन्डर दाखिल नगरेको उहाँले जानकारी दिनुभयो । टेन्डर आह्वान भएपछि फारम लैजाने आठवटा कम्पनी थिए । ३ नम्बर अन्तर्गगतको कामका लागि भने १।८ मिलियन अमेरिकी डलरको सिमा तोकेको थियो ।

अब पुनः प्राधिकरणले यसका लागि टेन्डर आह्वान गर्नेछ । १ नम्बर र २ नम्बर अन्तर्गतको काम गर्न टेन्डर दाखिल गर्ने कम्पनीका विषयमा अहिले प्राधिकरणले टेन्डर मूल्यांकन गरिरहेको छ । अबको १५ दिन भित्रै नै फाइनल हुने श्रेष्ठले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया