शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

काठमाडौं – म्यानपावर व्यवसायीलाई राजदूत बनाउने असफल प्रयास गरेकी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी श्रीमती आरजु देउवा अर्को वितन्डा मच्चाउने रणनीतिक योजनामा छिन् । सहरी विकास मन्त्रालयको सचिव अध्यक्ष रहने व्यवस्था रहेको नगर विकास कोषको सञ्चालक समितिको अध्यक्षमा निर्माण व्यवसायीलाई नियुक्त गर्न लगाएर उनले फेरि अर्को वितन्डा मच्चाउने भएकी छिन् ।

नगर विकास कोष स्थापनाको २९ औं वर्षसम्म सधैं मन्त्रालयको सचिवले अध्यक्षता गर्दै आएको कोषको अध्यक्षमा आरजु देउवाकै दबाबमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले निर्माण व्यवसायी धु्रब रिजाललाई नियुक्त गर्न प्रकृया अघि बढाएको छ । रिजाललाई कोषको अध्यक्ष बनाउन मन्त्री परिषद्ले निर्णय समेत गरिसकेको छ । तर, रिजालले नियुक्ति पत्र भने पाइसकेका छैनन् ।

नगर विकास कोषको हीत विपरित यस्तो निर्णय हुँदैछ भन्ने जानकारी पाएका कोषका कर्मचारीहरुले भने अब आन्दोलनका कार्यक्रम गर्ने भित्री योजना बनाउँदै छन् । नगर विकास कोष ऐन, २०५३ ले कोष सञ्चालक समितिको अध्यक्ष सहरी विकास मन्त्रालयको सचिव वा सहरी क्षेत्रसँग विशेष ज्ञान भएका व्यक्ति रहने व्यवस्था गरेको भएता पनि दातृ संस्था जर्मन सरकार र नेपाल सरकारबीच सन् २००० मा भएको सम्झौतामा तत्कालिन आवास तथा भौतिक योजना र हालको सहरी विकास मन्त्रालयको सचिव मात्र राख्ने गरि सम्झौता भएको थियो । तर, सो सम्झौता उल्लंघन गरि सरकारले निर्माण व्यवसायीलाई नियुक्त गर्न लागेको भन्दै कर्मचारीहरुले आन्दोलनको तयारी गरेको हो ।

यस्तो छ आरजु कनेक्शनः
नगर विकास कोषको अध्यक्षमा नियुक्त हुन लागेका धु्रब रिजालकी श्रीमती प्रमिला आचार्य रिजाल र आरजु देउवाबीचको सम्बन्ध निकट छ । धापाखेलमा रहेको काठमाडौंकै चर्चित युलेन्स बोर्डिङ स्कुलमा आरजु र प्रमिला दुबैको शेयर लगानी छ । उनीहरुको दैनिक जसो त्यही भेट हुन्छ र हरेक सुखदुःखका सारथी हुन् यिनीहरु । आरजु समक्ष प्रमिलाले श्रीमान्लाई नगर विकास कोषको अध्यक्ष बनाइ पाम भनेर विन्ति चढाएपछि आरजुले श्रीमान् शेरबहादुर देउवा समक्ष अर्को विन्ति विसाइन् । त्यसपछि शेरबहादुरले वर्तमान सरकारका प्रधानमन्त्री दाहाललाई कोषको ऐनको गलत व्याख्या गर्दै धु्रव रिजाललाई अध्यक्षमा नियुक्ति गर्न दबाब दिए । आरजुले दबाब दिनुको भित्री रहस्य पैसाको समेत चलखेल रहेको आरजु र प्रमिला निकट व्यक्तिहरुको भनाइ छ ।

कहाँ पुग्यो नियुक्ति प्रकृयाः
नगर विकास कोषको नयाँ अध्यक्ष नियुक्तिको प्रकृया अन्तिम चरणमा पुगेको छ । गत फागुन ९ गते मन्त्री परिषद्को बैठकले कोषको अध्यक्षमा नियुक्ति पाएका ध्रुव रिजालको नियुक्ति पत्र अहिले अर्थ मन्त्रालयमा पुगेको छ । मन्त्री परिषद्बाट सोझै मुख्य सचिव डा. सोमलाल सुवेदी समक्ष पुगेको सो फाइल लामो समय मुख्य सचिवकै कार्यकक्षमा रोकियो । कुनै वेला नगर विकास कोषको सञ्चालक समितिको सदस्य रहेर काम गरिसकेका सुवेदीले यो नियुक्ति कोष हीत विपरित हुने भन्दै लामो समय रोकिदिए । यो बीचमा नगर विकास कोषका कर्मचारीसहित कोषसँग सरोकार राख्ने विभिन्न निकायले आन्तरिक रुपमा नियुक्ति रोक्न दबाब पनि दिए । तर, प्रधानमन्त्री दाहाल र सत्तासाझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निरन्तरको दबाब पछि थाकेका मुख्य सचिवले समेत गत चैत ४ गते नियुक्ति पत्रमा हस्ताक्षेर गरि फाइल अर्थ मन्त्रालय पठाइएका छन् । सम्भवतः कुनै अकल्पनीय घटना वा दबाब नपुगेमा आइतबार चैत ६ गते सो नियुक्ति पत्र अर्थ मन्त्रालयका सचिव मार्फत निज धु्रव रिजाल समक्ष पुग्ने पक्का छ ।

को हुन् अध्यक्ष बन्न लागेका ध्रुव रिजालः
धु्रव रिजाल प्रतिष्ठा कन्सट्रक्शन प्रालिका सञ्चालक हुन् । उनी नेपाली कांग्रेसलाई हरपल आर्थिक सहयोग गर्ने विशुद्ध निर्माण व्यवसायी हुन् । उनले यस अघि नगर विकास कोष मार्फत धादिङस्थित गजुरी स्वास्थ्य केन्द्र र सदरमुकाम धादिङवेशीमा रहेको जिल्ला स्वास्थ्य कार्यालयको भवन निर्माण गरेका थिए । त्यसवेला दुई वर्षमा सक्नु पर्ने यी काम ६ वर्षसम्म नसकेपछि कोषले नसियतवाला पत्रसमेत पठाएको थियो । उनी कोषको कार्य मापदण्डमा असफल निर्माण व्यवसायीको रुपमा दर्ज रहेको कोषका कर्मचारीको भनाइ छ । हाल, स्थानीय निर्वाचन नजिकिदै जाँदा रिजालले आफू कोषको अध्यक्ष बनेमा नेपाली कांग्रेसलाई ठूलो आर्थिक सहयोग उपलब्ध गराउने आश्वासन समेत दिइएको बुझिएको छ ।

कोषको अध्यक्ष बन्ने रिजालको यो दोस्रो प्रयासः
धु्रव रिजालले यस अघि पनि यस्तै रणनीतिक दबाबका साथ कोषको अध्यक्ष बन्ने प्रयास गरेका थिए । सोही पात्रहरुलाई प्रयोग गर्दै तत्कालिन मन्त्री परिषद्का अध्यक्ष खिलराज रेग्मी मार्फत उनी कोषको अध्यक्ष बन्ने दाउमा थिए । सो समयमा नेपाली कांग्रेस कोटाबाट सहरी विकास मन्त्री बनेका छविराज पन्तको ठूलो भूमिका थियो । तर, त्यसवेला पनि मुख्य सचिव लिलामणी पौडेल र तत्कालिन गृहमन्त्री माधवप्रसाद घिमिरेको ठूलो अवरोधका कारण उनको योजना विफल भएको थियो । यो योजना असफल पार्न तत्कालिन अवस्थामा नगर विकास कोषका कर्मचारीहरुको पनि ठूलो भूमिका रह्यो ।

रिजालको नियुक्ति गैर कानूनीः कर्मचारी
नगर विकास कोष स्वतन्त्र कर्मचारी यूनियनले धु्रव रिजालको नियुक्तिलाई गैर कानूनी भनेको छ । कर्मचारीहरुले पत्रकार सम्मेलन गर्दै गैर कानूनी रुपमा नियुक्त भएका व्यक्तिलाई कार्यकक्षमा आउन निषेध गर्ने बताएका छन् । निज धु्रव रिजाल कोषका लागि अयोग्य रहेको र कोषको नजिरमासमेत राम्रा व्यक्ति नरहेको भन्दै उनलाई निषेध गर्न लागिएको युनियनका सदस्य तथा पत्रकार सम्मेलनका संयोजक सुभाष पन्तले बताए । उनले कोषमा आबद्ध ४० जना (सबै) कर्मचारीहरुको हस्ताक्षेर तयार पारि कोषमा कुनै पनि हालतमा नयाँ अध्यक्षलाई छिर्न नदिने आफूहरुको योजना रहेको बताए । व्यक्ति विशेषको समर्थन र विरोध भन्दा पनि ऐनलाई मिचेर गर्न लागिएको निर्णयको विरुद्धमा आफूहरु रहेको उनको भनाइ थियो । पत्रकार सम्मेलनमा यूनियनका अध्यक्ष जगत घिमिरेले नियुक्ति प्रकृया तत्काल नरोके कोष भित्रका सबै काम ठप्प पार्ने र कानूनी उपचारका लागि अदालतसम्म धाउने चेतावनी दिए ।

नियुक्ति प्रकृयामा क–कस्को विमतिः
सहरी विकास मन्त्रालयका सचिव अध्यक्ष रहने व्यवस्थालाई खारेज गर्दै निर्माण व्यवसायीलाई सहरी क्षेत्रको विशेष ज्ञान भएको व्यक्ति भन्दै नियुक्त गर्न लागेपछि कोषसँग सरोकार राख्ने विभिन्न निकायले विरोध जनाएका छन् । कोषको मुख्य दातृ संस्था जर्मन विकास बैंकले कोषलाई पत्र लेखि कोषमा राजनीतिक हस्तक्षेप भए सम्पूर्ण सहयोग रकम रोक्नेसम्मको चेतावनी दिएको छ । बैंकले राजनीतिक नियुक्तिपछि कोषको आर्थिक पारदर्शीतामा प्रश्न उठाउँदै यस्तो चेतावनी दिएको हो । त्यस्तै, राजनीतिक नियुक्तिको विरोधमा देशभरका नगरपालिकाहरुको छाता संगठन नेपाल नगरपालिका संघले पनि आपत्ति जनाएको छ । त्यसैगरि, राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघले पनि राजनीतिक नियुक्तिको घोर भत्र्सना गर्दै कोषलाई पत्र पठाएको छ । यी निकायहरुले कोषसहित प्रधानमन्त्री, अर्थ मन्त्री, अर्थ सचिव, मुख्य सचिवलगायतकोमा राजनीतिक नियुक्ति रोक्न दबाब स्वरुप पत्र पठाएको छ ।

तपाईको प्रतिक्रिया