शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

काठमाडौं – देशको आर्थिक विकासको मेरुदण्ड मानिएका नौ क्षेत्रमा केन्द्रित रहेर वैदेशिक लगानी भित्र्याउन काठमाडौंमा आजदेखि ‘नेपाल लगानी सम्मेलन’ हुँदैछ ।

सम्मेलनमा ऊर्जा, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, वित्तीय क्षेत्र, खानी तथा खनिज, कृषि तथा वनजन्य उत्पादनलगायतका क्षेत्रसँगसम्बन्धित विभिन्न विषयगत सत्रमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरिने आयोजक उद्योग मन्त्रालयले जनाएको छ ।

नेपाललाई लगानीको आकर्षक गन्तव्यका रुपमा स्थापित गर्ने उद्देश्यका साथ सम्मेलन सुरु हुन लागेको हो ।    उद्योग मन्त्रालय र लगानी बोर्डको संयुक्त आयोजना तथा राष्ट्रिय योजना आयोग र निजी क्षेत्रको सहयोगमा भोलिसम्म सम्मेलनमा वैदेशिक लगानी आकर्षित गर्न सरकारले अघि बढाएका नीतिगत, प्रशासनिक एवम् कानुनी सुधारका प्रयासका बारेमा समेत छलफल हुनेछ ।

सम्मेलनमा लगानीकर्ताका लागि विशेष सूचना कक्ष, लगानीकर्ताबीच आपसी बैठक, सरकार र लगानीकर्ताबीच बैठकको समेत व्यवस्था गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुहुने सम्मेलनमा प्रमुख वक्ताका रुपमा भारतका अर्थमन्त्री अरुण जेट्ली तथा एसियाली पूर्वाधार लगानी बैंकका अध्यक्ष जिन लिक्विनको सहभागिता रहने मन्त्रालयले जनाएको छ ।

सम्मेलनमा विदेशी लगानीकर्ता, विज्ञ तथा स्वदेशी राजनीतिक दलका प्रमुख तथा नेता, मन्त्री, विभिन्न अन्तर्राष्ट्रिय सङ्घसंस्थाका वरिष्ठ अधिकारी, सरकारी उच्च अधिकारी, व्यावसायिक नेतृत्व, विज्ञ वक्ता तथा समूह छलफलमा सहभागी हुनेछन् ।

 

तपाईको प्रतिक्रिया