काठमाडौँ – पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे र उनका दुई भाइ आइतबारदेखि त्रिशूली नदीमा बेपत्ता हुनुभएको छ । ७२ घण्टा पुग्दासम्म उनीहरूको केही पत्ता लागेको छैन । दुर्घटनामा परेर त्रिशूलीमा यात्रुहरू बेपत्ता हुने घटना यो नै पहिलो होइन ।
यस्तै दुर्घटना त्रिशूलीमा पटक–पटक हुने गरेका छन् । प्रहरीको तथ्याङ्कअनुसार पछिल्लो तीन वर्षमा त्रिशूली नदीमा गाडी दुर्घटना हुँदा १७ जना बेपत्ता भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार ०७३ मा मात्र नौवटा गाडी त्रिशूलीमा खसेका छन् । गत २४ भदौमा ना. ३ ख ६०१७ नम्बरको ट्रक पूर्वमन्त्री घिमिरे सवार जिप दुर्घटनास्थलबाटै खसेको थियो । चालक तथा सहचालकसहित ट्रकको हालसम्म अत्तोपत्तो छैन । तीन वर्षको तथ्याङ्कअनुसार त्रिशूलीमा खसेर ४८ जनाको मृत्यु भएको छ । ७२ जना घाइते भएका छन् । त्रिशूलीमा खसेका १७ जना अहिलेसम्म बेपत्ता छन् ।
०७१ मा आठवटा र ०७२ मा पाँचवटा गाडी त्रिशूलीमा खसेका थिए । गत ३१ साउनमा काभ्रेमा भएको सवारी दुर्घटनापछि देशभरि ट्राफिक नियम पालनामा कडाइ गरिएपछि पनि दुर्घटनामा कमी आएको छैन । प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार भदौमा देशभर एक हजार तीन सय ९६ दुर्घटना भएका छन् । जसमा एक सय ६० जनाको मृत्यु भएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ । साउनमा एक हजार चार सय ३६ वटा दुर्घटना भएकोमा एक सय ८० जनाको मृत्यु भएको थियो । साउनको तुलनामा भदौमा दुर्घटनामा कमी आएको छ ।
साउनमा चार सय २० जना गम्भीर घाइते भएका थिए भने आठ सय ७८ जना सामान्य घाइते भएका थिए । भदौमा दुई सय ५३ गम्भीर घाइते तथा आठ सय ४० सामान्य घाइते भएका थिए ।