काठमाडौँ – युरोपेली महासंघ (ईयू) ले नेपालको कूटनीतिक व्यवहार र शैलीप्रति गुनासो गरेको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका परराष्ट्रमन्त्री प्रकाशशरण महत पूर्वनिर्धारित कार्यक्रमअनुसार बेल्जियमको ब्रसेल्स नगई अमेरिकामै बसेपछि ईयू र बेल्जियम असन्तुष्ट बनेका हुन् ।
महत नेतृत्वको टोली ब्रसेल्स हुँदै नेपाल फर्किने कार्यक्रम तय गरिएको थियो । त्यसैअनुसार ब्रसेल्सस्थित नेपाली दूतावासले महतको ईयू अध्यक्ष जो क्लाउड योङर र बेल्जियमका परराष्ट्रमन्त्री डिडिआर रेग्डरसँग भेटघाटको समय मिलाएको थियो । चिनियाँ राष्ट्रपति सी जिनपिङको प्रस्तावित नेपाल भ्रमण र आफ्नो अपर्झट गोवा भ्रमण तयारीका लागि भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले छिटो स्वदेश फर्किन परराष्ट्र सचिव शंकरदास बैरागीलाई निर्देशन दिएपछि महत टोलीको ब्रसेल्स भ्रमण स्थगित गरिएको आजको कान्तिपुर दैनिकमा खबर छ ।
न्युयोर्कमा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर अमेरिकाको राजधानी वासिङटन डिसी पुगेका महत र बैरागी शनिवार मात्रै काठमाडौँ फर्किंदै छन् । परराष्ट्रमन्त्री महत बिहीबार फर्कने तयारी गरिएको भए पनि अमेरिकास्थित नेपाली दूतावासले गर्ने राष्ट्रिय दिवसमा उपस्थिति जनाउन उहाँले बसाइ लम्ब्याएको उनका प्रेस संयोजक एकराज पाठकले बताउनुभयो । न्युयोर्कबाट सिधै काठमाडौँ जानुपर्ने भएकाले भेटघाट रद्द गरिएको जानकारी ईयूलाई गराइएको भए पनि टोली अमेरिकामै रहेको थाहा पाउँदा अझै नराम्रो हुन सक्ने एक कूटनीतिज्ञले बताए ।
अन्तिम समयमा जोडबल गरेर तय गरिएको भेटघाट आफैँ रद्द गर्नुपर्दा दूतावास र परराष्ट्र मन्त्रालयका अधिकारीहरू पनि असन्तुष्ट छन् । ‘यस्ता कामले हामीलाई काम गर्ने उत्साह मिल्दैन,’ ती अधिकारीले भने, ‘यसमा राजनीतिक नेतृत्वभन्दा पनि मन्त्रालय नेतृत्वको कमजोरी देखिन्छ ।
सही समयमा सल्लाह र सुझाव दिन नसक्दा यस्तो भएको हो ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।