काठमाडौँ – सामान्य प्रशासन मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्तसम्वन्धी फाइल आफूसँग नभई लोकसेवा आयोगमा रहेको जवाफ दिएको छ ।
अदालतको आदेश अनुसार मन्त्रालयले सोमबार दोस्रोपटक जवाफ पठाउँदै सम्पूर्ण फाइलको प्रति आफूसँग नहरेको र राय माग्न लोकसेवा आयोगमा पठाएको जानकारी गराएको आजको नागरिक दैनिकमा खबर छ । यसअघि तथ्यांक विवरण राख्ने कार्य व्यवस्थित नभएकाले फेला पार्न नसकेको र फेला पर्नासाथ बुझाउने जवाफ दिएको थियो । सामान्यको जवाफ आएको र केही फाइल लोकसेवासँग रहेको पत्रमा उल्लेख भएको सर्वोच्चका प्रवक्ता नकुल सुवेदीले बताउनुभयो ।
भूकम्पमा हराएको भनिएको विवादस्पद फाइल दोस्रो आदेशपछि प्रधानमन्त्री कार्यालयले शिलवन्दी रूपमा अदालतमा पेस गरेको दुईदिन पछि सामान्यको दोस्रो जवाफ अदालत पुगेको हो । कार्कीलाई कारबाही गर्ने वा नगर्ने विषयमा २०६२/०६३को जनआन्दोलन पछि सामान्यले लोकसेवाको राय माग गर्दै पत्र लेखेको भए पनि सम्पूर्ण फाइल पठाएको थिएन ।