टोकियो – नेपाल सम्बत ११३७ नयाँ वर्षको अवसर पारि वर्ल्ड नेवाः अर्गनाईजेशनको एसिया प्यासिफिक पहिलो क्षेत्रीय सम्मेलनमा एक लाख रुपियाँको WNO मचा सिरपा (बाल बालिका पुरस्कार) घोषणा हुने भएको छ । यही नोवेम्बर ५ र ६ तारिख जापानको नागानोकेनको तातेसिना रिसोर्ट होटलमा हुने कार्यक्रममा उक्त घोषणा गर्न लागिएको हो ।
बच्चाहरुलाई मातृभाषामा पढाउनु पर्छ भन्ने उद्देश्य लिई गत ८ वर्ष देखि अगाडी बढी रहेको ‘नेवाः बस्ती नेवाः स्कुल अभियान’ को अवधारणालाई समर्थन र सहयोग गर्ने उद्देश्यले सुनिल कुमार शाक्यको संयोजकत्वमा ‘WNO मचा सिरपा’ को घोषणा हुने भएको हो । नेपालभाषा पढ्ने बच्चाहरुको लागि विभिन्न विधामा दिइने यस पुरस्कारमा रु. एक लाख बराबरको रकम प्रत्येक वर्ष विशेष कार्यक्रम गरी प्रदान गरिनेछ । उक्त मचा सिरपालाई नेपाल, जापान, नेदरल्याण्ड र अमेरिकाबाट विभिन्न व्यक्तिहरूले आर्थिक रकम सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
सहयोग गर्न अन्य इच्छुक साथीहरूले वर्ल्ड नेवाः अर्गनाईजेशन जापानमा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ । अभियानका संयोजक दीपक तुलाधरका अनुसार नेपाल भाषामा बयस्कको लागि थुप्रै पुरस्कारहरु भए पनि बच्चाहरुको लागि खासै पुरस्कार नभएको भन्दै बच्चालाई पनि आफ्नो मातृभाषा र संस्कृति प्रति आकर्षित गर्नको लागि यस्तो पुरस्कारको आवश्यकता भएको कुरा बताउनुभयो ।