काठमाडौँ – एमाले नेता शंकर पोखरेलले मंगलबार बिहान मधेसी जनता अधिकांश काला हुन्छन्, त्यसैले मधेसी मोर्चाले कालो दिवस मनाउँदै छ भनेर ट्विट गर्नुभएको थियो ।
आमसर्वसाधारणले मात्र होइन एमालेकै कार्यकर्ताले समेत चर्को आलोचना गरेपछि उहाँले आफ्नो ट्विट डिलिट त गर्नुभयो, तर माफी माग्नुभएन् । उहाँले माफी माग्नुपर्छ भन्दै उहाँकै फेसबुक र ट्विटर एकाउन्टमा धेरैले माग गरेका छन् । आफूले गरेको ट्विटको गलत अर्थ लगाइएको भन्दै पोखरेलले दोस्रो ट्विट गर्नुभएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
तर, मधेसीलाई कालो भनेर अपहेलना गरेकोमा धेरैले उहाँलाई सामाजिक सञ्जालमा सोधेका छन्, ‘नेताज्यू, अझै पनि गल्ती स्वीकार्नुहुन्न ?’ मंगलबार बिहान ९ः४१ बजे मधेसीलाई ‘कालो वर्ण’को भनेर ट्विट गरेका नेता पोखरेलले सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि ट्विट डिलिट गर्नुभयो । उहाँले साँझ ७ः५४ बजे आफ्नो बचाउ गर्दै अर्को ट्विट गर्नुभयो । उहाँले लेख्नुभएको छ,‘कालोलाई विरोधको प्रतीक बनाउने कुरा रंगभेदवादी युरोपियन चिन्तन परम्परासँग जोडिएको अर्थमा त्यसको विरोध गरेको हुँ ।
गलत अर्थ लगाएपछि हटाएको (अघिल्लो ट्विट) हुँ ।’ पोखरेलले यस्तो जवाफ लेखे पनि उनको सामाजिक सञ्जालमा आलोचनाको क्रम रोकिएको छैन ।