काठमाडौँ – नेपाली काँग्रेसका सभापति एवम् शेरबहादुर देउवाले राजनीतिक सहमतिमा संविधान संशोधन गरिने बताउनु भएको छ ।
सिङ्गापुरमा पेटको पाचनप्रणाली सम्बन्धी उपचार गराई आज स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति देउवाले संविधानप्रति सबैको अपनत्व होस् र कार्यान्वयन गर्न थप सहजता होस् भन्नाका लागि नै संशोधन हुन लागेको प्रस्ट पार्नुभयो । पूर्वप्रधानमन्त्री समेत रहनुभएका देउवाले भन्नुभयो, ‘संविधान संशोधन जस्तो महत्त्वपूर्ण विषय राजनीतिक सहमतिमा खोजिनुपर्छ, यसतर्फ वर्तमान सरकारले ध्यान दिएको हुनुपर्छ ।’
पार्टी सभापतिमा निर्वाचित भएपछि पहिलोपटक विदेश जानुभएका देउवाले आफू नितान्त स्वास्थ्य उपचारमा गएकाले कसैसँग राजनीतिक भेटघाट नगरेको पनि बताउनुभयो । तपाईहरु प्रतिपक्षमा रहँदा भूकम्पपीडितलाई एकमुस्ट रु दुई लाख दिन तत्कालीन सरकारसँग भएको सहमतिलाई किन वर्तमान सरकारले कार्यान्वयन नगरेको ? भन्ने सञ्चारकर्मीको अर्काे जिज्ञासामा उहाँले भन्नुभयो ‘अब यो निर्णय तत्काल कार्यान्वयन हुन्छ, यस विषयमा सरकारले के गरिरहेको छ , म प्रधानमन्त्रीसँग कुराकानी गर्छु ।’
पार्टीका नेता तथा कार्यकर्ताबीच सरसल्लाह गरी पार्टीलाई अगाडि बढाउने जानकारी दिँदै सभापति देउवाले पार्टी पदाधिकारी छिट्टै मनोनयन गर्ने जानकारी दिनुभयो । सभापति देउवा उपचारका लागि यही भदौ १० गते धर्मपत्नी आरजु देउवाका साथ त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।