काठमाडौँ – प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान तथा सत्कार गरी मनाइँदैछ । दिवङ्गत पितालाई तर्पण, सिदादान र श्राद्ध गरेर एवम् पिताप्रति आदर सम्मान साथ मीठो खान तथा राम्रो लगाउन दिई बाबुको मुख हेर्ने पर्व मनाउने चलन छ ।
दिवङ्गत पिताका नाममा उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरमा गई तर्पण, सिदादान र श्राद्ध गरेमा पितृ ऋणबाट मुक्त भइने शास्त्रीय मान्यता रहेको छ । गोकर्णेश्वर उत्तरगया, बेत्रावती उत्तरगया लगायत पवित्र स्थलमा गई पितृप्रति सम्मानका साथ श्राद्ध गर्दा घर, मामाघर र ससुराली तर्फका तीन/तीन पुस्ताका पितृले मोक्ष पाउने धार्मिक विश्वास छ । आज गोकर्णेश्वर र बेत्रावती लगायत स्थानमा भव्य मेला लाग्ने गर्दछ ।
गोकर्णमा विशेष मेला लाग्ने भएकाले आजको औँसीलाई ‘गोकर्णे औँसी’ पनि भनिन्छ । ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् । आज औंसीकै दिन वर्षभर देवकार्य, पितृकार्य लगायत धार्मिक कर्म गर्न आवश्यक पर्ने कुश उखेलिन्छ ।
आजका दिन वैदिक मन्त्रोच्चारणपूर्वक उखेलिएको कुश वर्ष दिनसम्मका कर्ममा प्रयोग गर्न सकिने र अन्य दिन उखेलिएको कुश त्यसदिन मात्र प्रयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ । आजका दिनमा घरघरमा नयाँ कुश राखेमा रक्षा हुन्छ र छोएमा पाप मुक्त भइन्छ भन्ने मान्यता छ ।