आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौँ – देशकै ठुलो पार्टी नेपाली काँग्रेसको सशक्त भातृ संगठनका रूपमा रहेको नेपाल विद्यार्थी संघ (नेविसंघ) को ११ औँ महाधिवेशन करिब ९ वर्षपछि सम्पन्न भयो । यसअघि संघमा प्रचलित रहेको टिके प्रथालाई बहिष्कार गर्दै ढिलै भए पनि काँग्रेसले लोकतान्त्रिक पद्धति तथा निर्वाचन प्रणालीबाट नै नेविसंघको महाधिवेशन सम्पन्न गराएको हो ।kunda

आन्तरिक गुटबन्दी र शैक्षिक एजेण्डा भन्दा पनि खाली राजनीति मात्र गरिने आरोप लाईरहेका अब नेविसंघको नयाँ कार्यसमिती कसरी अगाडी बढ्ला त सबैको चासोको विषय बनेको छ । यी र यस्तै विषयमा केन्द्रित रहेर नवनिर्वाचित कार्यसमितिका महामन्त्री कुन्दनराज काफ्लेसँग समुद्रपारि डटकमका लागि सहकर्मी गोविन्द मरासिनीले गर्नुभएको कुराकानीको सम्पादित अंश :

महामन्त्रीमा निर्वाचित भइसकेपछि के–कस्तो अनुभव भइरहेको छ ?
महामन्त्रीमा निर्वाचित भएपछि मैले नेपाल विद्यार्थी संघको समस्या, नेपालको शैक्षिक बिसंगती र नेपालको सामाजिक विकृति सम्झदै गर्दा मलाई नेबिसंघको महामन्त्री हुँदा ठुलो जिम्मेवारीले थिचेको अनुभूति भएको छ । र आन्तरिक लोकतन्त्र मजबुत बनाउनु पनि प्रमुख दायित्व भएको हुँदा मलाई चुनौती र ऊर्जा दुवै मिलेको छ । यी सबै नेपालका समस्यासँग जुध्न पाउँदा खुसी पनि लागेको छ ।

अब आम विद्यार्थी र सम्रग देशका लागि तपाईका एजेण्डा के ?
हाम्रो प्रमुख एजेण्डा भनेको राजनीतिक रूपमा आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउने प्रमुख एजेण्डा हो र द्रोस्रो कुरा भनेको नेपालमा शैक्षिक बिसंगती, बिसंगती र शैक्षिक माफियातन्त्र विशेष गरी युर्निभसिटीमा जुन झण्डा राखेर भिसि बाड्ने परम्परा छ, त्यो परम्पराको अन्त्य गर्न र शैक्षिक क्षेत्रलाई प्राज्ञिक थलोका रूपमा रूपान्तरण गर्नु नै प्रमुख एजेण्डा हो ।

यसको अन्त्य चाहिँ कसरी गर्न सकिन्छ त ?
जब विधि, विधान, पद्धति र विषयवस्तु परक नभई भइरहेको छ । यसको अन्त्य गर्न एउटा पद्धतिको विकास गर्नु नै प्रधान कुरा हो ।

एक प्रमुख विद्यार्थी संगठनको महामन्त्रीको हैसियतले नेपालको शैक्षिक क्षेत्रलाई सुधार गर्न के गर्नुपर्ला ?
शैक्षिक सहित नेपालको हरेक कुराको विकृति, बिंसगती, शैक्षिक बेरोजगार छ, जुन किसिमको शिक्षामा माफियातन्त्र छ त्यो कुराको अन्त्य गर्दै नेपालको पाठ्यक्रम नेपालको माटो सुहाँउदो अर्थात् नेपालमै लागु हुने किसिमको र पढेका विद्यार्थीको पढाई व्यवहारमा लागु हुने र आत्मनिर्भर बन्न सक्ने खालको शिक्षा अहिले देखिन्न । यो कुराको अन्त्य गर्नुपर्ने प्रधान कुरा हो । हामीले शिक्षामा धेरै गर्नुपर्ने छ तर पहिला यस्ता आधारभूत कुराहरू निर्माण गरेर नेपालको शिक्षालाई योग्य र दक्ष बनाउने किसिममा अगाडी बढ्छौ ।

विद्यार्थी संघको चुनावमा पनि करोडौं रकम खर्च गरियो हैन त ? यो त संविधान सभाको चुनाव भन्दा पनि भड्किलो भएन र ?
यो अत्यन्त गलत कुरा हो । नेपाल विद्यार्थी संघका साथीहरूले हामीलाई ४ दिनका लागि मात्र खर्चको व्यवस्थापन गर्नुभएको थियो । त्यसपछि हामी आफैले गरेका हुन् । हामी नेपालकै ठुलो पार्टी काँग्रेसको भातृ संगठन नेबिसंघलाई बस्न, खान र सुत्नु ठुलो कुरा होइन हाम्रो अधिवेशन हो । महाधिवेशनलाई करोडौंको रूपमा यसरी व्याख्या गर्नु गलत कुरा हो । सामान्य रूपमा कार्यकर्तालाई दाल, भात तरकारी खुवाएर महाधिवेशन सम्पन्न गर्‍यो । जसका लागि पार्टीले १३ औँ महाधिवेशनमा सदस्यता शुल्कबाट जम्मा भएको रकमबाट नै यसको व्यवस्थापन गरिएको हो । यो त्यस्तो धेरै करोडौं होइन र हामी केही दिनमा पत्रकार सम्मेलनमार्फत जानकारी गराउँछौ ।

तपाईँले चाहिँ कति खर्च गर्नुपरो चुनाव जित्नका लागि ?
विद्यार्थीको मन जित्नका लागि काम गर्नुपर्छ । आन्तरिक चुनावमा खर्च गर्नुपर्दैन । मैले चुनाव जितेको एजेण्डाले हो । मैले विद्यार्थीको माया, ममता र आफ्नो क्षमताले हो । खर्चले चुनाव जित्ने भए विभिन्न ठाउँमा चौधरी गुप्रका छोराले चुनाव जित्थे, गोल्छाका छोराका जितिहाल्थ्यो नि त ? यो त बिचार, दर्शन, आदर्श र सिद्धान्तले जित्ने कुरा हो । यसमा पैसाको लेखाजोखा हुँदैन ।

kundan-kafleनेविसंघमा पहिलेदेखिनै नेताको छायाँ र आशीर्वादले चुनाव जित्ने परम्परा थियो ? अहिले पनि त्यै भयो हैन, यहाँले चाहिँ कसले आर्शिवाद दियो त ?
मैले विद्यार्थीको माझबाट नै चुनाव जितेको हुँ । एजेण्डामा को आयो को आएन हुँदैन हाम्रो एजेण्डापछि आएर विद्यार्थी साथीहरूले सहयोग गर्नुभो । होला म पनि कुनै नेता निकट हुँला र नेताहरूले पनि सहयोग गर्नु भो होला तर यो व्यक्तिमा केन्द्रित छैन संगठनमा केन्द्रित छ ।

तर, तपाईँलाई त काँग्रेस नेता सिटौला पक्ष भनेर चिनिन्छन् नि त ?
मैले अघि नै भने नेताहरूको पनि साथ, सहयोग छ । अरूले के भनेर चिन्छन् भन्दा पनि मेरो एजेण्डा के हो ? मैले के गरिरहेको छु भन्ने कुरा प्रमुख हो ।

अध्ययनकै लागि बिदेशिने विद्यार्थी बढे नि ? यसलाई रोक्न के गर्नुपर्ला विद्यार्थी संगठनले ?
पहिला नेपालको भूगोलमा आवश्यक पर्ने खालको व्यवहारिक शिक्षा जरुरत देखिन्छ । नेपालको क्षमता बढाउने शिक्षाको विकास गर्ने नेपालका विज्ञहरु ल्याएर पाठ्यक्रम मै परिवर्तन गरेर नेपालमा सम्भावना देखिने विषयहरू शिक्षा, स्वास्थ्य, रोजगार उन्मुख, नैतिक शिक्षा लगायतका सवालका विषयहरू उठान गर्नुपर्छ । विदेशी युनिभर्सिटीको कपि पेष्टबाट उत्पादन भएको शिक्षा नभई, नेपालको आवश्यकता, नेपालमै आत्मनिर्भर र रोजगार पाउने खालको शिक्षा भएमा पढ्नका लागि मात्र नभई रोजगारका लागि बिदेशिने समस्या पनि अन्त्य हुन सक्छ । यसमा नेपाल विद्यार्थी संघ गम्भीर रूपले लाग्छ ।

सरकारी र निजी क्याम्पसमा पढ्ने विद्यार्थीको पढाइमा एक रुपता ल्याउन के गर्न सकिन्छ ?
पढाइको कुरामा जात, वर्ग, धर्म, धनी र गरिबका आधारले नभई दक्षता र क्षमताका किसिमबाट हुनुपर्छ । पछिल्लो समय धनी र गरिबबीच पनि शिक्षामा केही भिन्नता देखिएको यसको लागि हामी सदैव लाग्नेछौ ।

सरकारी कलेजमा राजनीति हाबी भयो पढाई भएन भनिन्छ नि हो ? यसको अन्त्य कहिले ?
मैले अघि पनि भने, युनिभर्सिटीमा जुन झण्डा राखेर भिसि बाँड्ने, डिन परम्परा छ त्यसको अन्त्य हुनुपर्छ र शैक्षिक संस्थामा विद्यार्थी संगठनबीच छलफल गरेर खुला प्रतिस्पर्धाबाट गर्नुपर्छ र त्यसका लागि म सहित नेपाल विद्यार्थी संघ सशक्त रूपमा लाग्नेछ ।

कलेजमा विद्यार्थी संगठनहरूले समय–समयमा गर्ने आन्दोलनले पनि पढाइमा असर परेको हो ?
आन्दोलनलाई नचाहिँदो र कामै नलाग्ने भन्न त मिल्दैन । कतिपय एजेण्डाहरु विद्यार्थीका आन्दोलनबाटै स्थापित छन् । नेबिसंघ सहित सम्पूर्ण विद्यार्थी संगठनले विद्यार्थीका हर समस्या र एजेणप्रति लड्नुपर्ने जरुरी छ ।

अहिले पनि नेविसंघको महाधिवेशन करिब ९ वर्षमा भयो, अब आगामी दिनमा पनि यही हो कि पारा समयमै नेतृत्व चयन हुन्छ ?
मैले पहिला पनि भने, आन्तरिक लोकतन्त्र संस्थागत नगरी केही हुन्न ? अब नेबिसंघमा विधि विधान अनुसार समयकै नयाँ नेतृत्व चयन हुन्छ । जसका लागि ११ औँ महाधिवेशनबाट पार्टीले नयाँ निर्देशिका पनि बनाइसकेको छ ।

अन्त्यमा देश विदेशमा रहने आम नेपालीलाई भन्नैपर्ने केही ?
अब नेपालको विद्यार्थी आन्दोलनको एक योद्धा नेबिसंघले शैक्षिक क्रान्ति गर्छ । त्यसमा हातेमालो गर्न अन्य विद्यार्थी संगठन र आम युवा साथीहरूलाई हार्दिक अनुरोध गर्दछु ।

तपाईको प्रतिक्रिया