काठमाडौं – लामो रस्साकस्सी पछि एमाललेसंगको सत्तागठबन्धन तोडेर आफ्नै नेतृत्वमा सरकारमा उक्लेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सल्लाहकार टिमको खाकालाई पूर्णता दिएका छन् ।
मन्त्रिपरिषदले निर्णय गर्न बाँकी नै भए पनि बालुवाटार स्रोतका अनुसार प्रचण्डले प्रमुख राजनीतिक सल्लाहकारमा पार्टी नेता तथा पूर्व लडाकु कमाण्डर चन्द्र खनाललाई अघि सारेका छन् । यसैगर प्रेस सल्लाहकारमा प्रेस सेन्टर नेपालका संयोजक एवं पत्रकार महासंघका पूर्व उपाध्यक्ष गोविन्द आचार्यको नाम टुंगो लागेको छ । विदेश मामिला सल्लाहकारमा एमाओवादी विदेश विभाग सचिव समेत रहेका युवानेता युवराज चौलागाईं वा मलेसियाका लागि पूर्व राजदूत डा. ऋषि अधिकारी रहने भएका छन् ।
आर्थिक सल्लाहकारमा प्रा. डा. श्रीराम पौडेल र दीपेन्द्रबहादुर क्षेत्रीमध्ये एकलाई नियुक्त गर्ने तयारी भईरहेको छ । पौडेल बाबुराम भट्टराई अर्थमन्त्री हुँदा आर्थिक सल्लाहकार थिए । श्रेत्रीसँग राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष र नेपाल राष्ट्रबैंकको गभर्नरका रुपमा काम गरेको अनुभव छ ।
प्रचण्डले आफ्नो जनसम्पर्क सल्लाहकारमा युवा नेता रामशीप आचार्यलाई नियुक्त गर्ने भएका छन् । पूर्व मुख्यसचिव लीलामणि पौडेललाई पनि प्रचण्डले आफ्नो सल्लाहकारको कोर ग्रुपमा राख्ने भएका छन् ।
प्रभावकारी राज्य सञ्चालनका लागि देशकै कार्यकारी प्रमुखको दैनिक कार्यसम्पादनमा सल्लाहकारहरुको भूमिका निकै महत्वपूर्ण हुने गर्दछ । प्रधानमन्त्रीका सल्लाहकारहरुकै सुझाव र परामर्शमा बिगतमा ऐतिहासिक उपलब्धि र त्रुटीहरु हुने गरेको अनुभव नेपालसंग छ । ***