काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की र आयुक्त राजनारायण पाठकलाई महाअधियोग लगाउनु पर्ने लगायतको सार्वजनिक महत्वको प्रस्तावमाथि संसदमा छलफल हुने भएको छ ।
कार्कीमाथि महाअभियोग लगाउनु पर्ने लगायत प्राध्यापक डा. गोविन्द केसीले उठाएका मागबारे छलफल अघि बढाउन माग राख्दै दुई साताअघि सांसदहरु गगन थापा, धनराज गुरुङ र श्याम श्रेष्ठले संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्नुभएको थियो ।
सभामुख ओनसरी घर्तीले संसदमा प्रतिनिधित्व गर्ने प्रमुख तीन दलका प्रमुख सचेतकहरु र प्रस्ताव पेस गर्ने सांसदहरुसँग आइतबार परामर्श गरेपछि उक्त प्रस्ताव संसदको कार्यसूचीमा राखेर छलफल अघि बढाउने निर्णय गर्नुभएको हो ।
प्रमुख दलका मुख्य नेताहरुले नै प्रस्तावमाथि छलफल अघि नबढाउन दबाब दिइरहेको भन्ने सार्वजनिक भइरहेका बेला सभामुख घर्ती छलफलको कार्यसूचीमा राख्ने निष्कर्षमा पुग्नुभएको हो ।
सभामुखको निर्णयलगत्तै सोमबार नै सांसदत्रयको जरुरी सावैजनिक महत्वको प्रस्ताव सांसदहरुको जानकारीका लागि पिजन होलमा राखिएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।