भक्तपुर –भक्तपुरको प्रसिद्ध दत्तात्रय मन्दिरमा आजदेखि मेला सुरु भएको छ । साउनको प्रत्येक सोमबार लाग्ने दत्तात्रय मेला यसवर्ष साउन ३१ गते सोमबार सम्पन्न हुनेछ । यसवर्ष साउन महिनामा पाँच वटा सोमबार परेकाले पनि मेलाको महत्व बढेको छ ।
ब्रह्मा, विष्णु, महेश्वर त्रिशक्तिको स्वरूपको रुपमा पुजिने दत्तात्रय मन्दिरमा साउन महिनामा महादेव प्रकट हुने जनविश्वासका आधारमा मेला लाग्ने गर्दछ । विवाहित महिलाले श्रीमान् र परिवारका लागि तथा अविवाहित महिलाले राम्रो तथा असल जीवन साथी प्राप्तिका लागि व्रत बसेर दत्तात्रयको पूजा गर्ने गर्छन् ।
सोमबारे मेला भर्न काठमाडौँ, भक्तपुर, ललितपुरलगायत आसपासका जिल्लाबाट हजारौँ भक्तजन आउने गर्दछन् । मेला व्यवस्थापनका लागि स्वयम्सेवक परिचालन गरिनुका साथै मेलामा लाइन नमिचुन् भनेर लाइन बसेलगत्तै स्वयम्सेवकले नम्बर लेखिएको चिट दिने व्यवस्था गरिएको छ ।