काठमाडौं – सरकार अल्पमतमा परेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिएको भन्दै कांग्रेस र माओवादीले बुधबार संसद बैठकमा अविश्वासको प्रस्ताव दर्ता गरेका छन् प्रस्ताव दर्ता भएपछि अब प्रधानमन्त्रीले यसको सामना गरेर अघि बढ्नुपर्छ ।
प्रधानमन्त्रीमा रहिरहन उहाँले विश्वासको मत अर्थात बहुमत जुटाउनुपर्छ । आफ्नो पक्षमा बहुमत पुगेन भने उहाँ स्वतः पदमुक्त हुनुहुनेछ । तर यी सबै प्रक्रिया सुरु हुन कम्तीमा एक हप्ता लाग्छ । संविधान र संसदको नियमावली अनुसार प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न चाहनेले कम्तिमा सात दिन अगाडि यसबारेको लिखित सूचना संसदमा महासचिव वा सचिवलाई दिनुपर्छ ।
यस हिसाबले बुधबार बल्ल लिखित सूचना संसद सचिवालयमा दर्ता भएको छ । अब एक हप्तापछि मात्रै सभामुखले अविश्वासको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने प्रक्रिया सुरु गर्नुपर्छ । प्रस्ताव प्रस्तुत भएपछि सभामुखले छलफल हुने दिन र समय तोक्नुहुनेछ ।
सभामुखले छलफलको दिन तोकेपछि प्रधानमन्त्रीले प्रस्तावमा उठेका विषयबारे जवाफ दिनुहुनेछ । त्यसपछि अविश्वासको प्रस्ताव फिर्ता लिन समय दिइनेछ । र प्रस्ताव फिर्ता नभएमा संसदमा मतदान हुन्छ । र मतदानमा बहुमत नपुग्ने बित्तिकै प्रधानमन्त्री स्वतः पदमुक्त हुने नियमावलीमा उल्लेख छ ।