आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं –संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले व्यवस्थापिका– संसद्को आजको बैठक पनि बहिस्कार गरेको छ ।

सभामुख ओनसरी घर्तीले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ मोर्चासँग आवद्ध राजनीतिक दलका सांसदले आ–आफ्नो ठाउँबाट उठेर विरोध जनाउनुभयो । त्यसको लगत्तै सभामुख घर्तीले मोर्चाको तर्फबाट सांसद अकवाल अहमद साहलाई बोल्नको लागि समय प्रदान गर्नुभयो ।

सांसद साहले संविधानका अन्तरवस्तुका विषयलाई लिएर मोर्चाले नौ महिनादेखि सडक आन्दोलन र अनसनमा रहँदा पनि प्रमुख राजनीतिक दल र सरकारले बेवास्ता गरेको आरोप लगाउँदै संविधानको मूलमर्मले पछि पारिएका समुदायको भावना आत्मसात गर्न नसकेको धारणा राख्नुभयो ।

आन्दोलनकारीका मागलाई सम्बोधन नगर्ने हो भने देश दुर्घटनामा जानसक्ने चेतावनी दिँदै उहाँले संविधानले अल्पसङ्ख्यक जनतालाई होइन, विगतदेखि राजगर्दै आएको निश्चित् वर्ग र समुदायलाई मात्र हित गर्ने धारणा राख्नुभयो ।

वर्तमान संविधान नेपाली जनताको हकअधिकारको विरुद्धमा रहेकाले परिमार्जन नभएसम्म स्वीकार गर्न नसक्ने बताउँदै सांसद साहले जहिलेसम्म मोर्चाले उठाएको माग पूरा हुँदैन त्यो समयसम्म सदनको बैठक बहिस्कार गर्ने जानकारी गराउनुभयो । त्यसलगतै मोर्चासँग आवद्ध राजनीतिक दलका सांसद बैठकबाट बाहिरिनुभयो ।

तपाईको प्रतिक्रिया