आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौँ – दुई महिनामा बाढी पहिरोमा परी ४७ जनाको मृत्यु भएको सरकारले बताएको छ ।

व्यवस्थापिका संसदको शुक्रवारको बैठकमा विशेष समय लिएर बोल्दै गृहमन्त्री शक्ति बस्नेतले जेठ १ देखि असार २३ गतेसम्म देशका विभिन्न भागमा पहिरोका १ सय १२ घटना भएको जानकारी दिनुभएको हो । गृहमन्त्रीका अनुसार अहिलेसम्म मृतकको संख्या ४७ पुगेको छ भने १६ जना अझै हराइरहेका छन् । यस्तै ५७ जना घाइते भएका छन् । १ सय ३८ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने १ सय ६० मा आंशिक क्षति भएका छन् ।

shakti basnet

हालै ललितपुरको टौखेलमा पुष्पाञ्जली स्कुल सँगैको कम्पाण्ड पर्खाल भत्किएर कक्षाकोठामा अध्ययनरत दुई विद्यार्थीको पुरिएर निधन भएको र २१ जनाको सकुशल उद्धार गरिएको पनि मन्त्री बस्नेतले बताउनुभयो । बस्नेतले बाढी र पहिरोका कारण सिन्धुपाल्चोकमा भएका क्षतिबारे पनि जानकारी गराउनुभयो । भोटेकोशीमा आएको बाढीले ठुलो क्षति भए पनि सुरक्षाकर्मीले समयमै सचेतता अपनाएका कारण मानवीय क्षति नभएको जानकारी गराउनुभयो ।

उँहाका अनुसार अरनिको राजमार्गको ४ किलोमिटर सडक अवरुद्ध भएको छ । साथै सिन्धुपाल्चोकका प्रभावितहरुलाई अन्यत्र वा नजिकैको सुरक्षित स्थानमा सार्ने बताउनुभयो । पश्चिम तराईका बाढी पीडितको हकमा पनि सहरी विकास मन्त्रालयमार्फत पीडितलाई राहत उपलब्ध गराउने काम भइरहेको उँहाको भनाइ थियो ।

तपाईको प्रतिक्रिया