चितवन – चितवनको नारायणगढ–मुग्लिन सडकका विभिन्न स्थानमा खसेको पहिरोका कारण आज बिहान ३ बजेदेखि सडक बन्द भएको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार उक्त सडकअन्तर्गत पाँचकिलो, सेती दोभान, गौंडेलगायत स्थानमा पहिरो खसेको छ । अहिले डोजरको सहायतामा पहिरो पन्छाउने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । विभिन्न ठाउँमा पहिरो खसेका कारण अवरुद्ध सडक खुलाउन समय लागेको प्रहरीले जनाएको छ । रातीदेखि बाटो बन्द हुँदा सवारी साधनको ठुलो लाइन लागेको छ ।
चितवनबाट काठमाडौँ र पोखरा लगायत विभिन्न स्थानमा जाने आउने सयौँ सवारी बिच बाटोमै रोकिएका छन् । प्रहरीले आउने सवारीलाई मुग्लिन र जाने सवारीलाई भरतपुर आँपटारी र जुगेडी क्षेत्रमा रोकेको छ ।